८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णालीमा भाषाको थप अध्ययन आवश्यकः मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा भाषाको विशेष अध्ययन आवश्यक रहेको बताएका छन्। मुख्यमन्त्री शाहीले भाषा आयोगले गरेको सिफारिसमा थप अध्ययन गर्न सुझाव दिए। ‘भाषा आयोगले कर्णालीमा दोस्रो भाषाका रुपमा गरिएको सिफारिस सच्याउन आवश्यक छ,’ बिहीबार वीरेन्द्रनगरमा आयोगले गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीमा भाषाका सन्दर्भमा थप अध्ययन गरौं।’

भाषा आयोगले कर्णालीमा सरकारी कामकाजका लागि दोस्रो भाषाका रुपमा मगर भाषालाई सिफारिस गरेको छ। मुख्यमन्त्री शाहीले कर्णाली नेपाली भाषाको जन्मभूमि भएकाले कर्णालीमा दोस्रो भाषा सिफारिस गर्दा थप अध्ययन हुनु आवश्यक रहेको बताए।

‘जहाँ भाषाका सन्दर्भमा धेरै अध्ययन हुनुपर्दथ्यो, त्यहीँ अध्ययन नपुगेको जस्तो देखियो,’ मुख्यमन्त्री शाहीले भने, ‘फेरि गहन अध्ययन गरेर सरकारी कामकाजको भाषा सिफारिस गर्दा उपर्युक्त हुन्छ।’ उनले भाषाको अध्ययन गर्दा विश्वविद्यालय र सरोकारवालाहरुलाई समेट्नुपर्ने बताए। ‘कर्णाली भौगोलिक रुपमा विकट छ, तर अध्ययन पनि आवश्यक छ,’ उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालय र सरोकारवालाहरुसँग समन्वय गरेर भाषाका सन्दर्भमा पुनःअध्ययन गर्नुहोला।’

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले भाषा आयोगले गरेको सिफारिसप्रति प्रदेश सरकार गम्भीर रहेको बताए। मन्त्री बुढाक्षेत्रीले कर्णालीमा बोलिने भाषाको संरक्षणका लागि मातृ भाषाका पुस्तकहरु प्रकाशन गरिएको बताए। ‘यसका साथै कर्णालीमा बोलिने भाषाको अध्ययन, अनुसन्धान र अभिलेखीकरणमा प्रदेश सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘लोपोन्मुख भाषाको संरक्षण र संवद्र्धनमा सरकार गम्भीर छ।’

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भाषा आयोगको तथ्याङ्क कर्णालीका सन्दर्भमा नमिलेको बताए। भाषा आयोगको तथ्याङ्क अनुसार कर्णालीमा तामाङ भाषा बोल्नेहरुको संख्या ११ हजार ३२३ छ। प्रा.डा.सिंहले भने कर्णालीमा तामाङ भाषीहरु न्यून संख्यामा रहेको बताए। ‘भाषा आयोगको तथ्याङ्क पूर्ण गलत छ,’ प्रा.डा.सिंहले भने, ‘कर्णालीमा जुन समुदाय र भाषानै छैन्, त्यसैलाई धेरै देखाइएको छ।’ उनले प्रदेश सरकार र प्रदेशमा रहेका विश्वविद्यालयहरुसँग सहकार्य गरेर भाषाको अध्ययन र सिफारिस गरिनुपर्ने बताए।

कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले नेपाली भाषाको जन्मस्थल सिंजालाई आधार मानेर थप अध्ययन गर्न आवश्यक रहेको बताए। ‘कर्णाली प्रदेश नेपाली भाषाको जन्मस्थल हो,’ उनले भने, ‘त्यसैलाई आधार मानेर कर्णालीमा भाषाको थप अध्ययन गरिनु आवश्यक छ।’

भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले कर्णालीमा भाषाका सन्दर्भमा थप अनुसन्धान गरिने बताए। ‘तथ्याङ्क संकलनका क्रममा कर्णालीमा मगर भाषाका वक्ताको संख्या २.२६ प्रतिशत देखायो,’ उनले भने, ‘सोही आधारमा कर्णाली प्रदेशमा मगर भाषालाई दोस्रो सरकारी कामकाजका रुपमा प्रयोग गर्न सिफारिस गरिएपनि यस सम्वन्धी थप अध्ययन र अनुसन्धान गछौं।’ उनले नेपालमा भाषिक सर्वेक्षण नभएकाले कति भाषा छन् भन्ने कुराको यकिन तथ्याङ्क नभएको बताए।  

पाँच वटा भाषा लोप हुने अवस्थामा

भाषा आयोगका अनुसार कर्णालीमा राउटे खाम्चीसहित पाँच वटा भाषा लोप हुने अवस्थामा छन्। कर्णालीमा कुसुण्डा भाषा लोप भइसकेको छ। जंगलमा फिरन्ते जीवन विताउने एक मात्रै राउटे समुदायले बोल्ने राउटे खाम्ची भाषा, राजी, बाटे, काइके र छन्त्याल भाषा लोप हुने अवस्थामा रहेको आयोगको ठहर छ। ‘कर्णालीमा कुसुन्ण भाषा लोप भइसकेको छ भने राउटे खाम्ची भाषा लोपोन्मुख अवस्थामा छ,’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ समूहका संयोजक प्रा.डा. जीवेन्द्रदेव गिरीले भने, ‘राजी, बोटे, काइके र छन्त्याल पनि लोपोन्मुख अवस्थातिर उन्मुख छन्।’

प्रकाशित: १२ जेष्ठ २०७९ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App