coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरा महानगरपालिकाः चुनौतीका चाङले घेरिएका छन् मेयर धनराज

पोखरामा विजयी ¥यालिमा नवनिर्वाचित मेयर धनराज आचार्य लगायत। तस्बिरः उमेश पुन÷नागरिक

स्थानीय तहको निर्वाचनमार्फत पोखराले धनराज आचार्यको नेतृत्वमा नयाँ टिम पाएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा विजयी भएका मानबहादुर जिसीको कार्यकाल सकिएपछि महानगर सम्हाल्ने जिम्मा आचार्यको काँधमा आइपरेको हो। क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगर पोखराले नयाँ नेतृत्व त पाएको छ, तर, पोखराभित्रका थुप्रै चुनौतीका चाङ आचार्य सामु ठडिएका छन्।  

नवनिर्वाचित मेयर आचार्यले पोखरा महानगरभित्रका चुनौतीलाई सहजै चिर्ने बताईरहँदा पोखरासँग थुप्रै समस्याको सूँची तयार छ, जुन वर्षाैदेखि अपुरा छन्। पोखरेलीका अनुसार मेयर आचार्यले सबैभन्दा बढी महानगर कार्यालयभित्रै व्यापक सुधार गर्नुपर्ने हुन्छ। किनकी महानगरभित्र नागरिकको काम सहज नहुने गुनासो सर्वत्र छ। कर्मचारीबीच बेमेल छ, त्यस्तै दक्ष जनशक्ति पनि महानगरसँग छैन।  

त्यस्तै पोखराको विकासका थाति योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन, बढ्दो सवारी चाँप व्यवस्थापन लगायतका थुप्रै चुनौती छन्। ती चुनौती चिर्न आचार्यलाई पनि उत्ति सहज नभएको पोखरेलीको भनाई छ। नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन, ‘काम गर्ने शैलीमा सबैकुरा भर पर्छ, तर, नगरभित्रका आन्तरिक क्रियाकलाप सुधार नभएसम्म मुखले सेवा दिन्छु भन्नु मिथ्या हुनेछ। तत्काल महानगरको आन्तरिक क्रियाकलामा सुधार गर्न जरुरी छ।’  

उनका अनुसार महानगरमा संघीय, महानगरकै आफ्नै र राजनीतिक नियुक्त पाएका कर्मचारी छन। तिनथरी कर्मचारी एकठाउँमा हुँदा त्यहाँ एकअर्काबीच बेमेल छ। ‘महानगरमा पयापर््त धेरै कर्मचारी भएपनि उनीहरु सबै दक्ष छैनन। महानगरपालिकाको लागि चाहिने कर्मचारीको स्तर यहाँ छैन,’ उनले भने, ‘कर्मचारी संवेदनशील बन्ने र ज्ञान भएको व्यक्ति हुने हो भने सहज हुन्छ नत्र, कर्मचारी चलाएर मात्र हुँदैन। नवनिर्वाचित मेयरले यिनै मान्छेलाई काम लगाउँछु भन्ने हो भने उनलाई सकस हुनेछ।’

त्यसबाहेक धनराजले पाँचदलीय गठबन्धबाट जित हात पारेपनि उनी एक्लो छन्। अरुको तुलनामा पोखरामा चुनौती छ, किनकी एकीकृत समाजवादीको ढाँचा कमजोर हुँदा आफ्नैबाट साथ पाउन उनलाई सकस छ। अरुसँगको साथ नपाएसम्म आचार्य अघि बढ्न सक्दैनन्। अरु दलले कसरी साथ दिन्छन भन्ने उनका लागि महत्वपूर्ण हुनेछ।  

‘आचार्यले अरुको साथ नलिई सुखै छैन, सबैभन्दा बढी कांग्रेसलाई रिझाउन सक्नुपर्छ। एमालेको नीति धनराजप्रति अनुदार हुँदा कार्यपालिकाभित्रै विरोध सिर्जना हुनसक्छ। किनकी एमालेले धनराजलाई फेल बनाउने रणनीति बनाउनेछ। त्यसका लागि कांग्रेससँग समझदारी वृद्धि गर्न जरुरी हुन्छ,’ उनले भने।  

‘अघिल्ला मेयरका पालामा सजिलो थियो, अहिले झनै अप्ठेरा छन्। राम्रा कुरा पनि असफल हुनेछन,’ उनले भने। त्यसबाहेक धनराजलाई अर्काे चुनौती बजेट र कार्यक्रमको हो। कार्यक्रम र बजेट पास र फेल गराउनमा विपक्षी हावि हुन सक्छन। ‘अनुकुलको बजेट र कार्यक्रम ल्याउन नसकेमा उनी असफल हुनेछन। जनताले औंला ठड्याउनेछन्,’ उनले भने, ‘आफूले चाहेका कार्यक्रम पुरा नगर्न सक्छन्।’  

कांग्रेसँसग गठबन्धन आगामि संघीय निर्वाचनसम्म रहिरहन सकेमा त्यो बेलासम्म धनराजलाई काममा खासै समस्या नहोला। त्यसैले तत्कालै पोखरेली जनताले महसुस गर्नेगरि काम थाल्नुपर्ने मुल्मीको सुझाव छ। ‘भोलिका दिन पर्खिनुभन्दा तत्कालै पोखरालाई व्यवस्थित गर्ने काम गर्नुपर्छ। आगामि बजेटमा त्यसका लागि काम थालिहाल्नुपर्छ । सुरुका २० दिनजति निकै नै चूनौतीपूर्ण अवस्था धनराजका लागि छ,’ उनले भने।  

आचार्यले निर्वाचन जित्दै गर्दा पोखराको सबैभन्दा समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि तत्कालै काम गर्ने बताएका थिए। तर, ल्याण्डफिल साइटका लागि मात्र भनेर आचार्य उम्किन पाउने छैनन। किनकी ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनको लागि विकल्प मात्र हो। त्यो संघीय सरकारको कार्यक्रम पनि हो।  

मुल्मीका बिचारमा अघिल्ला मेयरले राम्रो काम गर्न नसक्दा पोखरामा निकै नै आलोचना भएको थियो। गत पाँचवर्षमा क्षमता नभएका व्यक्तिले नेतृत्व पाउँदा काम हुन नसकेको मुल्मीको भनाई छ। ‘अघिल्ला मेयरले व्यक्तिगत रुपमा काम गर्न सकेनन, पार्टीले पनि उनलाई सहयोग गरेन,’ उनले भने, ‘अघिल्लो पटकका प्रतिनिधिले पोखरालाई १० वर्ष पछाडि पारे। पोखरा पाँचवर्ष अघि बढ्नुपर्ने हो, तर, दशवर्ष पछि धकेलियो। पोखरालाई लयमा फर्काउन ठुलो मेहनत आचार्यले गर्नुपर्छ।’

पछिल्लो समय पोखरा निकै नै प्रदूषित सहर बनेको छ। काठमाडौपछिको प्रदूषित सहर पोखरा बनेको छ। त्यो प्रदूषणको चुनौती टार्न पनि उत्तिकै मेहनत महानगरले गर्नुपर्नेछ। ‘पोखरा बस्न लायक सहरबाट धुमिल बन्दैछ। धुँवा, गाडी, मान्छे हिड्न नसक्ने अवस्थामा छन,’ उनले भने, ‘पोखरालाई राम्रो र प्रदुुषणमुक्त बनाउनका लागि थोरै मेहनतले पुग्दैन।’ 

त्यसबाहेक मेयर आर्चायले संघीय सरकारबाट पर्याप्त बजेट पाउनका लागि तत्कालै कदम थाल्नुपर्छ, त्यसका लागि उनले थोरै मात्र समय पाएका छन्। केहीगरी मेयर आचार्यले संघीय सरकारलाई दवाव दिन सकेनन भने उनलाई श्रोतको अभाव हुनसक्ने मुल्मीको भनाई छ।  

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहालका विचारमा मेयर धनराजलाई सबैभन्दा बढी चुनौती महानगरभित्रै छ। महानगरभित्रको आर्थिक सुशासन कायम गर्ने चुनौती उनमा छ। समग्र सुशासन दिन सक्ने कि नसक्ने भन्ने कुरा पनि उनका लागि टड्कारो रहेको उनले बताए। ‘सुरुदेखिै उत्कृष्ट बनाउन चाहेमा केही सहज होला, नत्र सुरुदेखि नै दलप्रति झुकाव देखाउन थाले भन मेयर आचार्यलाई गाह्रो हुनेछ,’ उनले भने, ‘कर्मचारीबाट असहयोग हुने र घेरिन सक्ने सम्भावना पनि आउन सक्छ। उनले सुशासन देखाउन आँट गर्नुपर्छ।’  

महानगरभित्र राजनीति बढि हुने भएकोले कर्मचारीलाई परिचालन गरेर मेयरलाई असफल बनाउन सक्ने सम्भावना रहेकोले आचार्य बढी सजग हुनुपर्ने दाहालको सुझाव छ। महानगरभित्रका अनियमितता चिर्न पनि निकै नै कठिन रहेको पनि दाहालले बताए। अघिल्ला मेयरले बाँडेका सपना अझै पुरा नभएको र अहिले पनि तिनै मुद्धा दोहोरिएकोले आचार्यलाई सहज नभएको उनले बताए।

‘अघिल्ला मेयरले बाँडेको सपना कार्यान्वयन नभएकोले अहिले सहज छैन। अहिले पनि पुरानै कुरा दोहोरिएका छन्। भौतिक पूर्वाधारका सपना दोहोरिएका छन्। ती कार्यन्वयन गर्ने चुनौती छ,’ उनले भने, ‘घोषणापत्रमा ल्याएको कुरा कार्यन्वयन गर्न सहज छैन।’ संख्यात्मक रुपमा वडाअध्यक्ष जितेपनि अरु सदस्य अन्य दलका हुँदा पनि त्यसको समस्या आउन सक्ने उनले बताए। नगरसभामा पनि विपक्षी बलियो हुने हुँदा बहुमतमा रहँदा जति काम गर्न सहज हुन्थ्यो, वडादेखि नै सहमति लिएर काम गर्नुपर्ने हुँदा अप्ठेरो हुनसक्ने उनले बताए।

स्वयं नवनिर्वाचित मेयर आचार्य भने हरेक ठाउँमा समस्या हुने र ती समस्या समाधान गर्दै अघि बढ्ने बताउँछन्। उनका विचारमा महानगरभित्र समस्याका ठूला पहाड छैनन्, साना समस्या पनि व्यक्तिका व्यवहारले पुरा हुन नसकेका हुन्। ‘महानगभित्र खासै ठूला समस्या छैनन्। अघिल्ला जनप्रतिनिधिले व्यक्तिगत व्यवहारले काम पुरा नगरेका पनि हुन सक्छन,’ उनले भने, ‘मैले ती समस्यालाई ठूला ठान्दिनँ।’

महानगरभित्र सुशासन कायम गर्न तत्काल कदम थाल्ने उनी बताउँछन्। महानगरमै जनताले सहजै सेवा पाउन नसकेको गुनासो आइरहँदा आचार्यले भने एकमहिनाभित्र सर्वसुलभ तरिकाले सेवा दिने बताउँछन्। ‘एकमहिनाभित्र सर्वसुलभ रुपमा सेवा दिने हामीले प्रतिवद्धता जनाएका छौं,’ उनले भने। उनले अघिल्ला जनप्रतिनिधिले आवश्यकता नदेख्दा कतिपय काम हुन नसकेको बताए। हिजोका दिनमा दलीय हिसाबले काम गर्दा सकस भएकोमा अब सर्वसम्मत रुपमा साथ लिएरअघि बढ्ने उनले सुनाए। 

प्रकाशित: ११ जेष्ठ २०७९ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App