२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकतामा भौतिक पूर्वाधार विकास

सिन्धुलीका नवनिर्वाचित जनप्रतिनिधिहरुले भौतिक पूर्वधार विकासमा जोड दिने भएका छन्। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगरपालिका तथा गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि भौतिक पूर्वधार र कृषि क्षेत्र जनप्रतिनिधिका मुख्य प्राथमिकतामा परेका छन्। सिन्धुलीको कमलामाई नगरपालिकामा काँग्रेसको तर्फबाट पहिलोपटक नगरप्रमुखमा निर्वाचित भएका उपेन्द्रकुमार पोखरेलले कमलामाई नगरपालिकालाई समृद्ध बनाउन सिन्धुलीगढी लगायतका पर्यटन प्रवद्र्धनमा जोड दिने र धार्मिक स्थल पर्यटकीय स्थलसहित भौतिक पूर्वधारको विकासमा जोड दिएर नगरपालिकाको विकासमा लाग्ने बताउँछन्। उनले विपन्नलाई निशुल्क स्वास्थ्य विमा गराउनेदेखि बैज्ञानिक कर व्यवस्थापनतिर लाग्ने योजना अगाडि सारेका छन्।  

दोस्रो कार्यकालको रुपमा सिन्धुलीको सुनकोसी गाँउपालिका अध्यक्षमा दिपा बोहोरा दाहाल माओवादी केन्द्रबाट निर्वाचित भइन्। पहिलो कार्यकालमा भौतिक पुर्वधारका कामहरु धेरै भएको र अब आयआर्जनका योजनालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ। 

२०७४ सालकै स्थानीय तहको निर्वाचनमा सुनकोसी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएकी दाहालले शिक्षामा समेत पहिलो कार्यकालमा धेरै लगानी भएकाले अब आफ्नो योजना कृषि र आयआर्जनमा भएकाले शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिँदै रोजगार मुलक काम गर्ने बताइन्। यस्तै सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमा दोस्रो पटक कर्णबहादुर थापामगर निर्वाचित भएका छन्।  

नेपाली काँग्रेसको तर्फबाट निर्वाचित थापामगर पहिलो कार्यकालमा आफ्नो बहुमत नुहँदा सोचेजति काम गर्न नसकेको बताउँछन्। मेरो पहिलो कार्यकालमा भनेजस्तो काम गर्न सकिएन मेरो बहुमत थिएन तर केही कामहरु सुरुवात भएका छन् तर ती कामहरु अधुरा रहेकाले पूरा गर्न लागि परेका छौं  उनले भने। दोस्रो कार्यकालमा अधुरा काम पूरा गर्दै भौतिक पूर्वधारको काममा जोड दिने र तीनपाटन गाँउपालिकालाई समृद्ध बनाउने योजना रहेको उनको भनाई छ। वडा अध्यक्षबाट स्थानीय सरकारको अनुभव बटुल्दै गाँउपालिका अध्यक्षमा निर्वाचित भएका मरिण गाँउपालिकाका अध्यक्ष विमर्श मोक्तान शिक्षा स्वास्थ्य सडक पूर्वधारमै काम गर्ने पहिलो योजना रहेको बताउँछन्। 

यस्तै, हरिहरपुरगढी गाँउपालिकाका अध्यक्ष बज्रध्वज वाइवा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीको योजना पनि भौतिक पूर्वधार शिक्षा स्वास्थ्यनै पहिलो प्राथमिकतामा छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिन्धुलीको फिक्कल गाँउपालिकाको उपाध्यक्ष भई पाँच वर्ष काम गरेकी नेकपा एमालेकी पार्वती सुनुवार यसपटक गाँउपालिका अध्यक्षमा निर्वाचित भएकी छिन्। उनका योजना पनि शिक्षा स्वास्थ्य र भौतिक पूर्वधारनै पहिलो प्राथमिकता भएको बताउँछिन्। 

नेकपा एमालेबाट गोलञ्जोर गाँउपालिकाका अध्यक्षमा निर्वाचित शंकर बराल गाँउपालिकामा दिगो विकास गर्ने बताउँछन्। गाँउपालिकाको विकास गर्न धेरै पूर्वधारका काम गर्न बाँकी रहेको र ति काम आफ्नो प्राथमिकतामा रहेको  बताउँछन्। यस्तै घ्यालेख गाँउपालिका अध्यक्ष जगत भोलन जनप्रतिनिधिले सेवाको भावले काम गर्नुपर्ने भएकाले आफू सेवाको भावलेनै काम गर्ने बताउँछन्। मेवाको आश नराखि सेवाको भावले काम गर्छु उनले भने।

प्रकाशित: ११ जेष्ठ २०७९ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App