१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनबाट पार्टीलाई राम्रो उपलब्धीः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनबाट आफ्नो पार्टीलाई राम्रो उपलब्धी भएको दावी गरेका छन्।

नेकपा एसबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित जिल्ला उपाध्यक्ष मीनाकुमारी लामासहितलाई बधाई र मतदातालाई धन्यवाद दिन मंगलबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी बनेको ८ महिनाको अवधिमा गठबन्धन गर्दै विभिन्न स्थानमा जित्नु राम्रो उपलब्धी भएको बताएका हुन्। नेकपा एसले हेटौंडासहित १९ वडा स्थानीय तहको निर्वाचन जितेको छ।

आगामी मंसिरभित्रै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुने भएकोले त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए। ‘हाम्रो पार्टीले ८ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनबाट राम्रै उपलब्धी हाँसिल गरेको छ,’ अध्यक्ष नेपालले भने, ‘शक्ति र संगठनलाई निर्माण गर्नुपर्दछ। असल गुण भएकाहरुलाई सम्मान गर्नुपर्दछ। हामीले असल मानिसहरुको खोजी गरिरहेका छौं, युवा पिढी खोजीरहेका छौं।’ उनले आफ्ना कार्यकताहरुलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र निर्वाचित भएका हर्कराज राई साम्पाङ जस्तै बन्न आग्रह समेत गरे।

असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि जनताको भावना अनुसार काम गर्न अनुरोध गरे। ‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग बिना नै हाम्रो सिंगो प्यानल विजयी भएको छ,’ उनले थपे, ‘गठबन्धनको प्रत्येक घटकहरुले चुनावमा भाग लिएका थिए तर सबैले आ–आफ्नो हैसियत मत परिणाममा देखेका छन्।’ फरक प्रसंगमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै देशमा गफाडीहरुको मनलाग्दी अन्त्य हुने क्रममा रहेको बताए।

‘रेल ल्याउँछु, घरघरमा ग्याँसका पाइप पुर्‍याउँछु, केके ल्याउँछु भन्दै गफ दिनेहरुलाई अब जनताले विश्वास गर्न छोडेका छन्,’ नेपालले भने, ‘जनताले केके न आउला भनेर आस गरे तर केही पनि आएन। जनताले अब गफाडीहरुलाई चिनिसकेका छन्।’

उनले हेटौंडाको मेयरमा निर्वाचित मीनाकुमारी लामालाई बधाई दिँदै विगतमा हेटौंडाका मेयरहरुले गरेका राम्रा कामहरुलाई आत्मसाथ गर्दै जनताको चाहना अनुरुप काम गर्न आग्रह गरे।

प्रकाशित: १० जेष्ठ २०७९ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App