१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पदभार ग्रहण गर्दै हर्कराज राईले गरे वैज्ञानिक करको लागि सुझाव दिन कार्यदल गठन गर्ने निर्णय

धरानका मेयर हर्कराज राई (साम्पाङ) पदभार ग्रहण गरेपछि। तस्बिरः रोहित राई

धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले उपमहानगरपालिकामा पदभार ग्रहण गरेका छन्।

आज (मंगलबार) बिहान करिब १० बजे उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पुगेर राईले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेसँगै मेयर राईले वैज्ञानिक कर लागु गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्। मेयर राईले उक्त कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई संयोजक तोकेका छन्। यस्तै, सदस्य सचिवमा राजश्व महाशाखाका प्रमुख छन्। सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा रहने मेयरको पहिलो निर्णयमा उल्लेख छ।

कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको अध्ययन गर्ने पनि मेयर राईले जानकारी दिए। साथै, अन्य पालिकाहरुको पनि कर प्रणालीको अध्ययन गर्ने, नगरको आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि कार्यदलले पेश गर्ने पनि मेयर राईले जानकारी दिए। उनले भने,‘धरानमा राजश्व संकलन (कर) कतिको वैज्ञानिक छ? अन्य ठाउँ तिरको कर र यहाँको करको भिन्नता के छ ? आयस्रोतहरु के के हुन्? त्यसलाई पनि पहिचान गर्ने र दररेट निर्धारण गर्न अध्ययन गरी सुझाव दिने कार्यदल गठन गर्ने निर्णय गरेका छौ।’ उपमेयर अइन्द्रबिक्रम बेघाले सोमबार नै पदभार ग्रहण गरिसकेका छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका (साम्पाङ) ले बहुमतका साथ मेयरमा निवार्चित भएका हुन्। उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार किशोर राई र एमालेकी उम्मेद्वार मञ्जु भण्डारी सुवेदीलाई भारी मतान्तरले पराजित गरेका थिए। धरानका जनताको प्रमुख सरोकार एवं समस्याहरु खानेपानी, वीपी प्रतिष्ठानको उपचार सेवा, सडकको खाल्डाखुल्डी, लोडसेडिङलगायत मुद्दामा निरन्तर आवज उठाउदै आइरहेका उनलाई यसपाली धरानका जनताले मेयरमा निवार्चित गरेका छन्।

‘स्थानीय सरकारको प्रत्याभूति दिलाउँछौ’

मेयर राईले जनतालाई स्थानीय सरकार भएको प्रत्याभूति दिलाउने पनि बताएका छन्। पदभार ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले धरानमा स्थानीय सरकार छ है भन्ने अनुभूति जनतालाई गराउने बताएका हुन्। उनले भने, ‘सरकार छ भन्ने कुरा थाह हुनुपर्यो जनतालाई। सरकार त छ, कर मात्र उठाउछ भन्ने महशुस हुनुभएन। सरकार छ, त्यसले सामाजिकरुपमा सुरक्षित छौं, शान्ति सुरक्षाको प्रत्याभूति भएकोछ, सुशासनको प्रत्याभूति भएको छ भन्ने खालको जनतालाई महसुस हुनुपर्छ।’

जनताको आशा धेरै भएकोले आफु मेयर भएपछि जिम्मेवारी बढेको प्रतिक्रिया दिँदै राईले चुनौतीहरु धेरै भएकोले सबै राजनीतिक दल, संघसंसस्था, नागरिक समाजले मिलेर नै धरानलाई सुशासित र विकसित बनाउनुपर्ने पनि बताए। ‘सबैको सहकार्य र सहभागिता विना हामीले मात्र नगरपालिका अघि बढाउन सक्दैनौ,’ उनले भने,‘म पनि सबैलाई मिलाएर लैजान्छु, किनभने म अभिभावकको रुपमा छु। समन्वयकारी भूमिका खेलेर अभिावकत्व ग्रहण गरेको छुँ, अभिभावकत्व पूरा गर्छु।’

नगरपालिकालाई पारदर्शी र जनमुखी बनाउने पनि उनले प्रतिवद्धता व्यक्त गरे। खानेपानी व्यवस्थापन गर्न चुहावट रोक्ने, चाडै मर्मतसम्भार गर्ने काम अघि बढाउने र उत्पादन बढाउन स्रोत थप्न पनि प्राथमिकता दिने उनले बताए।

प्रकाशित: १० जेष्ठ २०७९ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App