सूर्याेदय नगरपालिकाले अब सबै कार्यपालिका बैठक र नगरसभा नागरिकले प्रत्यक्ष–सुन्न हेर्न पाउनेगरी सञ्चालन गर्ने भएको छ। मेयर रणबहादुर राईले कार्यपालिका र नगरसभा बैठक प्रत्यक्ष प्रसारण गरी नागरिकसमक्ष पुर्याउने बताएका छन्।
मेयरमा दोस्रो पटक निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ लिनेक्रममा मेयर राईले नागरिकले प्रत्यक्ष रूपमा थाहा पाउनेगरी बैठक सञ्चालन गर्ने बताए। ‘कार्यपालिका र नगरसभा बैठकमा नागरिकबाट लुकाउनुपर्ने सूचना केही पनि हुँदैनन्,’ उनले भने, ‘त्यसले अबका सबै कार्यपालिका र नगरसभा बैठक प्रत्यक्ष प्रसारण हुनेछन्, सबैका लागि खुला हुनेछन्।’
नागरिकको सेवकका रूपमा स्थानीय तहमा आएका जनप्रतिनिधिले नागरिकलाई थाहै नदिई कुनै पनि काम गर्नु आवश्यक नभएको उनले बताए। ‘तिनै नागरिकको मतले निर्वाचित भएर उनीहरूकै सेवा गर्ने जनप्रतिनिधिले व्यक्तिगत स्वार्थहीन काम गर्नुपर्छ,’ उनले भने, ‘बैठकमा मतदाता वा नागरिकसँग लुकाउनुपर्ने कुनै विषय छैनन्, सबै सार्वजनिक विषय नै भएकाले बैठकहरू सबैका लागि खुला हुने छन्।’
मेयर राई सूर्याेदय नगरमा दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन्। अघिल्लो कार्यकालमा विभिन्न नवीन योजना र कामले चर्चामा आएका मेयर राईले दोस्रो पटक पनि मेयरको जिम्मेवारी पाएका हुन्। ‘नागरिकले मलाई पहिलो कार्यकालको पुरस्कार दिनुभएको छ,’ उनले भने, ‘नागरिकको विश्वासमा धोका दिने छैन, आफूले गरेको प्रतिबद्धता पूरा गर्छु।’
प्रकाशित: ९ जेष्ठ २०७९ १४:५७ सोमबार