३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

टीकापुरमा फाटेका मन जोड्छुः मेयर थारु

टीकापुर नगरपालिकाका नवनिर्वाचित मेयर रामलाल डगौरा थारुले टीकापुरमा एकापसमा फाटेका मन जोड्ने बताएका छन्। नगरपालिकाको कार्यभार सम्हाल्दै उनले सबै जातजातिका बीच सौहार्दपूर्ण वातावरण बनाउन पहल गर्ने बताए।  

उनले स्थानीय तहको निर्वाचनपछिको चुनावी परिणामले सबैको ध्यान टीकापुरतर्फ केन्द्रित भएको बताउँदै टीकापुरको नाममा लागेको धब्बा हटाएर सुन्दर टीकापुर बनाउन कुनै कसुर बाँकी नराख्ने बताए।  

उनले आफू कुनै एक पार्टी, वर्ग र जातिको मात्रै नभई सबैको साझा अभिभावक बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले टीकापुरलाई सबैको साझा फूलबारी बनाउने आफ्नो अभियानमा साथ दिन सबैलाई आग्रह गरे।  

२०७२ भदौ ७ गते टीकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी घटना भएको थियो। सो घटनापछि टीकापुरमा थारु र पहाडी समुदायबीच बेमेल भएको मानिन्छ।  

सो घटनाका मुख्य योजनाकार भनिएका निलम्बित सांसद रेशमलाल चौधरी हाल जेलमा छन्। उनी भूमिगत रहेकै अवस्थामा कैलाली क्षेत्र नं. १ बाट सांसद निर्वाचित भएका थिए। उनले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।  

उनकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीका चार पालिकामा जितेको छ। टीकापुर नगरपालिकाका मेयर थारु समेत सोही पार्टीबाट विजयी भएका हुन्।  

पार्टीले टीकापुर नगरपालिकाका साथै भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा जितेको छ। यी सबै पालिकाहरुमा थारु समुदायको बाहुल्यता छ। पार्टीले थारु समुदायको अधिकार र सांसद चौधरीको रिहाईको मागलाई प्रमुख चुनावी मुद्दा बनाएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७९ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App