१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गौरका नगर प्रमुखले गरे कार्यालयहरुको छड्के अनुगमन

रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साहले सोमबार बिहान विभिन्न कार्यालयहरुको छड्के अनुगमन निरीक्षण गरेका छन्।

नगर प्रमुख साहले आफ्नो कार्यकालको पहिलो छड्के अनुगमन सदरमुकाम गौर ५ मा रहेको श्री माध्यमिक विद्यालयबाट गरेका छन्। विद्यालयमा भवन र शिक्षक दुवैको अभावमा पठनपाठन भइरहेको अवस्थामा पुगेर नगर प्रमुख साहले विद्यार्थी र शिक्षक दुवैका समस्या सुनेका छन्। स्थानीयतहको गठन भएदेखि पहिलोपटक विद्यालयमा नगर प्रमुख आएको देखेर शिक्षक तथा विद्यार्थीहरु खुसी भएका छन्। विद्यालयमा शैक्षिक, प्रशासनिक र पठनपाठन सम्बन्धी सुधार गर्ने प्रतिबद्धता एकापसमा गरिएको छ।  

नगर प्रमुख साहले गौर नगरपालिका १, २ र ८ मा रहेका स्वास्थ्य चौकीहरुको पनि छड्के अनुगमन गरेका छन्। वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीको अवस्था ठिक रहेको, वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीमा कर्मचारीको केही लापरबाही देखिएको र वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकीको अवस्था अत्यन्तै नाजुक रहेको देखिएको छ।  

स्वास्थ्य चौकीका प्रमुख र अन्य एक कर्मचारी वैसाख महिनादेखि नै कार्यालयमा नआएको स्थानीयले गुनासो गरेका छन्। कार्यालयको कर्मचारी रजिस्टरमा पनि वैसाख महिनादेखि कर्मचारीले हाजिरी नगरेको पाइएको छ। स्वास्थ्य चौकी नै कार्यालय सहयोगीको भरमा संचालन भइरहेको अनुगमनमा देखिएको छ। स्वास्थ्य चौकीका कार्यालय सहयोगीले बिरामीलाई हेर्ने र औषधि पनि दिने गरेको अवस्था रहेको छ।

नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख सुबास ठाकुर, स्वास्थ्य शाखा प्रमुख र अन्य कर्मचारी तथा वडाध्यक्ष र केही संचारकर्मीका साथमा केही वडा कार्यालयहरुको पनि नगर प्रमुख साहले अनुगमन गरेका छन्।

नगर प्रमुख साहले सबै कर्मचारीलाई सरकारले तोकेको कार्यालय समयमा अनिवार्य उपस्थित रही तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन पनि दिए। अबदेखि कुनै किसिमको लापरबाही नगर्न चेतावनी पनि दिएका नगर प्रमुख साहले उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन र कामै नगर्ने कर्मचारीलाई नियमानुसार कारबाही पनि गरिने चेतावनी पनि दिएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७९ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App