२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

५०१ पालिकामा गणना कांग्रेस अग्रस्थानमा

सत्ता गठबन्धनका तर्फबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा माओवादीका विसन राई निर्वाचित भएपछि निकालिएको र्‍याली। तस्विर: रासस

स्थानीय तह निर्वाचनअन्तर्गत बुधबार साँझसम्म ५ सय १ पालिकाको मतगणना सकिएको छ। साँझसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २ सय २६ स्थानीय तहमा प्रमुख जितेको छ भने ९१ पालिकाको प्रमुखमा अग्रता लिएको छ। कांग्रेसले २ सय १० उपप्रमुखमा जित हात पार्दा ८४ उपप्रमुखमा अग्रता लिएको छ।

कांग्रेसलाई पछ्याएको एमालेले १ सय ४५ स्थानीय तहको प्रमुख जितेको छ भने ५४ स्थानीय तहको प्रमुखमा अग्रता लिएको छ। उपप्रमुखमा १ सय ५० पालिकामा जित हात पारेको एमालेले ९० स्थानमा अग्रता लिएको छ। माओवादी केन्द्रले ९६ प्रमुख जितेको छ भने २३ स्थानमा अग्रता लिएको छ। माओवादी केन्द्रले १ सय २ पालिकाको उपप्रमुख जितेको छ। उसले २० पालिकाको उपप्रमुखमा अग्रता लिएको छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले नौवटा स्थानीय तहको प्रमुख जितेको छ भने ११ स्थानमा अग्रता लिएको छ। उसले १६ उपप्रमुख जितेको छ भने तीनमा अग्रता लिएको छ। जनता समाजवादी पार्टी (जसपा) ले पनि नौ प्रमुखमा जित हात पारेको छ। उसले २५ स्थानीय तहमा अग्रता कायम गरेको छ। जसपाले १० उपप्रमुखमा जितेको छ भने १७ उपप्रमुखमा अग्रता लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित स्वतन्त्र उम्मेदवारले १६ स्थानीय तहको प्रमुख जितेका छन्। अझै १४ पालिकाको प्रमुखमा उनीहरूले अग्रता लिएका छन्।

सात उपप्रमुख स्वतन्त्र सहितका विभिन्न दल र स्वतन्त्रले जितेका छन् भने नौ स्थानमा अग्रता लिएका छन्। १० प्रमुख र ११ उपप्रमुखमा अग्रता लिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यो समाचार तयार पार्दासम्म कुनै पनि पालिकाको प्रमुख र उपप्रमुखको परिणाम आफ्नो पक्षमा पार्न सकेको छैन।

त्यस्तै निर्वाचन आयोगका अनुसार बुधबार साँझसम्म कांग्रेसले २ हजार ९५ वडामा जित हासिल गरेको र बाँकी ५९ ठाउँमा अग्रता लिएको छ। त्यस्तै एमालेले १ हजार ६ सय १९ वडामा जित हासिल गरेको छ भने ७९ ठाउँमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले ८ सय ८२ वडामा जित हासिल गरेको छ भने १७ वडामा अग्रता कायम गरेको छ। जसपाले १ सय ७२ वडामा जित हात पार्दै ९ वडामा अग्रता लिएको छ। अन्य दलले ४ सय ४० वडा जितेका छन् भने अन्य १६ वडामा अग्रता कायम गरिरहेका छन्।

आयोगको तथ्यांकअनुसार कांग्रेसबाट २ हजार ६० महिला सदस्य निर्वाचित भएका छन् भने ५६ जनाले अग्रता लिइरहेका छन्। त्यस्तै एमालेबाट १ हजार ७ सय ५५ महिला सदस्यले जित हालिस गरेका छन् भने ८४ जनाले अग्रता लिइरहेका छन्। माओवादी केन्द्रबाट ८ सय २२ महिला सदस्य निर्वाचित भएका छन् भने १६ जनाले अग्रता लिइरहेका छन्। जसपाबाट १ सय ७२ महिला सदस्य निर्वाचित भएका छन् भने १० जना अग्रस्थानमा छन्। त्यस्तै, अन्यबाट ३ सय ९४ महिला सदस्य निर्वाचित भएका छन् भने १२ जनाले अग्रता लिइरहेका छन्।

स्थानीय निर्वाचनमा निर्वाचित हुने दलित महिला सदस्यमा कांग्रेसबाट १ हजार ९ सय ९७ जना छन् भने ६३ जनाले अग्रता लिइरहेका छन्। एमालेबाट १ हजार ७ सय ३७ जना निर्वाचित भएका छन् भने ७९ जनाले अग्रता लिइरहेका छन्। माओवादी केन्द्रबाट ८ सय २८ जना निर्वाचित भएका छन् भने १४ जनाले अग्रता लिइरहेका छन्। जसपाबाट १ सय ७१ जना निर्वाचित भएका छन् भने १२ जनाले अग्रता लिइरहेका छन्। अन्यबाट ३ सय ८२ जना दलित महिला सदस्य निर्वाचित भएका छन् भने १० जनाले अग्रता लिइरहेका छन्।

त्यस्तै निर्वाचित हुने सदस्यमा कांग्रेसबाट ४ हजार १ सय ३८ जना छन् भने ६६ जनाले अग्रता लिइरहेका छन्। त्यस्तै एमालेबाट ३ हजार ५ सय ६३ जना निर्वाचित भएका छन् भने ८७ जनाले अग्रता लिइरहेका छन्। माओवादी केन्द्रबाट १ हजार ५ सय २६ जना सदस्यमा निर्वाचित भएका छन् भने १५ जनाले अग्रता लिइरहेका छन्। जसपाबाट ३ सय ४३ जना निर्वाचित भएका छन् भने ११ जनाले अग्रता लिइरहेका छन्। अन्यबाट ८ सय ९ जना निर्वाचित भएका छन् भने ९ जनाले अग्रता लिइरहेका छन्।

निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न सत्तारूढ पाँच राजनीतिक दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले ६ महानागरपालिका, ११ उपमहानगरपालिकाका साथै केही स्थानीय तहमा चुनावी तालमेल गरेका थिए।

एमालेले पनि स्थान र आवश्यकता अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपालसहितका दलहरूसँग तालमेल गरेका थिए। तर निर्वाचनको परिणामले कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा परिणाम देखिएको छ। गण्डकी प्रदेशमा एमालेको उपस्थिति बलियो देखिएको छ भने अन्य प्रदेशमा कांग्रेसको अवस्था मजबुत देखिएको छ।  

प्रकाशित: ५ जेष्ठ २०७९ ००:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App