१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेलम्ची नगरपालिकामा कांग्रेसले भत्कायो एमालेको गढ

एमालेको परम्परागत गढ मानिने पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा कांग्रेसले भत्काइ दिएको छ। मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्।

स्थानीत तह निर्वाचनमा जिल्लामै सबैभन्दा बढी मत खसेको यो नगरमा ११ हजार २ सय ५८ मत ल्याएर तामाङ विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार बालकृष्ण देउजालाई ९३ मतले पछाडि पार्दै कांग्रेस क्षेत्रीय सभापति रहेका तामाङले बाजी मारे। देउजाले ११ हजार १ सय ६५ मत पाए।

उपप्रमुखमा भने एमाले उम्मेदवार उमा प्रधान निर्वाचित भइन्। उनले १० हजार १ सय ६४ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी राप्रपा उम्मेदवार कुमारी तामाङले ८ हजार ३ सय ५६ मत पाइन्। १ हजार ८ सय ८ मतान्तरले प्रधान निर्वाचित भएकी हुन्। प्रमुख र उपप्रमुखमा यहाँ कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो।

प्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित हुँदा राप्रपाकी तामाङ भने पराजित भइन्। उपप्रमुखको उम्मेदवारै नभएकौ कांग्रेसको रुख चिह्नमा २ हजार ३ सयभन्दा धेरै मत खसेको थियो। यही कारण गठबन्धनकी उपप्रमुख तामाङ पराजित हुन पुगिन्। यहाँ एकीकृत समाजवादी–माओवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका थिए।

समाजवादीका प्रमुख उम्मेदवार नानीराम चौलागाईंले ३ हजार ३ सय २ र माओवादीका उपप्रमुख उम्मेदवार देवेन्द्र घोरासैनीले ४ हजार ७ सय ७६ मत ल्याए। एमालेको पराजयमा यहाँ पार्टी फुट नै प्रमुख कारण देखियो। २०४८ को परिवर्तनपछि मेलम्ची एमालेको किल्ला बनेको थियो। अघिल्लो स्थानीय तहमा नगर प्रमुखमा एमालेका डम्बर अर्याल निर्वाचित भएका थिए।

उक्त चुनावमा अर्यालसँग १ हजार ६ सयको मतान्तरले नवनिर्वाचित प्रमुख तामाङ पराजित भएका थिए। मेलम्ची एमाले स्थायी कमिटि सदस्य, सांसद एवम् पूर्वमन्त्री शेरबहादुर तामाङको गृहनगर हो। साविक भोटेचौर, थकनी, सिन्धुकोट, हैवुङ, बाँसवारी, मेलम्ची, दुवाचौर, ज्यामिरे र शिखरपुर गाविस मिलेर बनेको मेलम्ची एमाले पकड नगर हो।

अधिकांश गाविसमा २०४९ देखि भएका हरेक चुनाव एमालेले जित्दै आएको थियो। हैवुङ, शिखरपुर, ज्यामिरे मिश्रित क्षेत्र हुन्। यो चुनावमा नगरका १३ मध्ये बहुमत ७ वडा कांग्रेसले जितेको छ। एमालेले ६ वटा वडा जित्यो। अघिल्लो चुनावमा एउटा वडा जितेको माओवादी यसपटक ‘क्लिन स्विप’ भयो।

प्रकाशित: ४ जेष्ठ २०७९ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App