१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महरा र पोख्रेलको अग्नि परिक्षा

घोराही उपमहानगरको मत गणनाको सुरुवाती चरणदेखि अग्रता लिएको गठबन्धनलाई सोमबार बेलुकासम्म आईपुग्दा उछिन्यो। सोमबार बेलुकासम्म झण्डै ५० प्रतिसत (३६ हजार बढि ) मत गणना हुँदा यो उपमहानगरको मेयरमा एमालेका नरुलाल चौधरीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हेमराज शर्मालाई उछिन्दा बाँकी रहेको झण्डै ४० हजार मतमा कसको पल्लाभारी हुने भन्ने एकिन छैन।  

गणना हुन बाँकी मतले शर्मा र चौधरीको हारजीतलाई मात्रै निक्र्यौल गर्ने छैन, यहाँका दुई हेभिवेट नेताहरु मध्य एकलाई स्थापित गर्ने छ भने अर्का एक नेताको प्रभाव कमजोर पार्ने छ। यो उपमहानगरको प्रतिष्पर्धासंग माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोख्रेलबिच ‘बिरासत’ को लडाईँ जोडिएको छ।  

उनीहरु यो उपमहानगरमा आफ्नो दलका उम्मेदवारलाई नेतृत्वमा पुर्याएर दाङ क्षेत्र नम्बर २ को एकल स्थापित नेता बन्ने प्रतिष्पर्धामा छन्। फलतः उनीहरुको चुनावी क्षेत्रमा रहेको यो उपमहानगरको निर्वाचन उनीहरुका लागि आफ्नो बिरासत कायम गर्ने लडाईँ बनेको छ।  

यो उपमहानगरका यसअघिकै मेयर नरुलाल चौधरीको जीतमा एमाले महासचिव पोख्रेलले आफ्नो बर्चश्व देखेका छन्। फलतः उनका सामु चौधरीको जीत अपरिहार्य जस्तै बनेको छ। अन्यथा आफ्नै चुनावी क्षेत्रको स्थानीय तहमा जीत दिलाउन नसकेको खण्डमा आफ्नो प्रभाव कमजोर बन्ने परिस्थतीबाट पोख्रेल अनभिज्ञ छैनन्।  

यो उपमहानगरको नेतृत्वमा आफ्नो पार्टीको जीत कायम भए त्यसपछिको उपल्लो तहको निर्वाचनमा पोख्रेलले यो चुनावी क्षेत्रबाट एकलौटी फाईदा उठाउन सक्ने सहजता देखिरहेका छन्। ‘पक्कै पनि आफ्नो चुनावी क्षेत्रको यो उपमहानगरमा आफ्नो पार्टीको जीत कायम गर्न सके पछि आउने उपल्लो तहको निर्वाचनमा पोख्रेलका लागि जीत सहज हुन्छ नै,’ एमालेका एक नेताले भने ‘यसर्थ पनि पोख्रेलका लागि यो उपमहानगरको जीत अपरिहार्य नै छ।’ यो उपमहानगरमा माओवादी केन्द्रको जीत भए आगामी निर्वाचनमा महराको प्रभाव बढेर जाने र आफूलाई त्यसको असर पर्ने देखेका छन् पोख्रेलले।  

उता आफ्नै जोडबलमा गठबन्धनका तर्फबाट यो उपमहानगरको मेयर पदको उम्मेदवार माओवादीको भागमा पारेका माओवादी प्रवक्ता कृष्णबहादुर महराका लागि यहाँको जीत निर्विकल्प जस्तै बनेको छ। यसअघिको प्रतिनिधिसभामा निर्वाचनमा आफ्नै गृह जिल्ला रोल्पाबाट चुनाव लड्न चाहेका थिए महराले। तर रोल्पामा आफ्नो एकल दाबी गरेका अर्का नेता बर्षमान पुनसंगको टिकट प्रतिष्पर्धामा महरा चुके। अनि उनी चुनाव लड्नका लागि दाङ क्षेत्र नम्बर २ मा झरे। त्यो बेला माओवादी र एमालेबिचको चुनावी तालमेलका क्रममा महरा यो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बने भने यो क्षेत्रको प्रदेशसभामा शंकर पोख्रेल उम्मेदवार चुनिए। त्यो बेला चुनावी सहकार्य गरेर प्रदेशसभा र प्रतिनिधिसभामा बाजी मारेका महरा र पोख्रेल अहिले एक अर्काका कट्टर प्रतिष्पर्धीका रुपमा उभिएका छन्। 

यो प्रतिष्पर्धा माओवादी प्रवक्ता महराका लागि बिरासत कायम गर्ने अवसरका रुपमा आईदिएको छ। महराका लागि आफ्नो चुनावी क्षेत्रमा बिरासत कायम गर्ने एकमात्रै बिकल्प हो। अन्यथा आफ्नो चुनावी क्षेत्रमा आफ्नो बर्चश्व गुम्ने र एमालेका पोख्रेल हाबी हुने सम्भावना महराले देखिसकेका छन्। यहाँ पराजय भए महराले आफ्नो शक्ति कमजोर हुने यसर्थ पनि आँकलन गरेका छन् यो उपमहानगरमा गठबन्धनका तर्फबाट आफ्नो दलको उम्मेदवार भिडेका छन् भने एमाले एकल रुपमा भिडेको छ। गठबन्धन बनाएर जाँदा समेत एक्लो एमालेले जीत निकालेको खण्डमा महराको शक्तिमाथि प्रश्न उठाउने ठाउँ सहजै मिल्ने छ।  

जिल्लाको कम्युनिष्ट राजनीतिमा यी दुई मात्रै हेभिवेट नेता हुन्। फलतः यो उपमहानगरमा आफ्नो बर्चश्व काउयम गरेर एकल शक्तिशाली हेभिवेट नेता बन्ने मार्ग कोर्ने दाउमा यी दुबै नेता छन्। फलतः घोराही उपमहानगरको जारी मतगणना यी दुबै नेताका लागि अग्नि परिक्षाका रुपमा रहेको छ। ‘स्थानीय तहमा आफ्नो प्रभाव राख्न सके,त्यसको सकारात्मक प्रभाव उपल्ला निर्वाचनमा पर्छ,’ महेन्द्र बहुमुखी क्याम्पस घोराहीका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतमले भने ‘यसर्थ पनि यो उपमहानगरको जीत दुई हेभिवेट नेताहरुका लागि प्रतिष्ठाको लडाईँ बन्नु स्वाभाविकै हो।’

प्रकाशित: २ जेष्ठ २०७९ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App