१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णालीका तीन मतदान केन्द्रमा मतदान हुँदै

विवादका कारण बैशाख ३० गते निर्वाचन सम्पन्न हुन नसकेका कर्णालीका तीन वटा केन्द्रमा मतदान भइरहेको छ। कालिकोटको रास्कोट नगरपालिका र पचालझरना तथा जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाका अनुसार तीन वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ। ‘३० गते निर्वाचन हुन नसकेका तीन वटै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएर मतदानको व्यवस्था मिलाइएको छ,’ बास्तोलाले भने, ‘अहिलेसम्म्म शान्तिपूर्ण मतदान भइरहेको छ।’

रास्कोट–४ मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विवाद हुँदा मतदान रोकिएको थियो । जिल्ला निर्वाचन अधिकृत लालकाजी श्रेष्ठका अनुसार मतदान केन्द्रमा ढुंगामुढा भएपछि निर्वाचन स्थगित गर्नुपरेको थियो।

यस्तै पचालझरना–३ जनता मावि खार्पुमा पनि माओवादी र कांग्रेसबीच विवाद भएको थियो । यहाँ पनि अहिले शान्तिपूर्ण मतदान भइरहेको छ। जुम्लाको गुठीचौर–३ मा पनि मतदान शान्तिपूर्ण भइरहेको छ । गुठीचौर–३ को शंकर मावि गज्याङकोटमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच विवाद उत्पन्न हुँदा बैशाख ३० गते मतदान हुन सकेको थिएन्।

सुर्खेतमा भोलि

सुर्खेतको सिम्ता गाउँपालिका–१ खनेटा मतदान केन्द्रमा सोमबार मतदान हुने भएको छ। निर्वाचन अधिकृतले हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि विवाद हुँदा मतदान प्रक्रिया रोकिएको थियो। प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले हस्ताक्षर नगरिएका मतपत्र पाइएपछि स्थगित गरिएको निर्वाचन प्रक्रिया सोमबारबाट सुरु गरिने बताए । ‘सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन अधिकृतका रुपमा खटाएका छौं,’ प्रजिअ रिजालले भने, ‘सबै प्रक्रिया पूरा भएको छ, सोमबार मतदान सुरु हुन्छ।’ 

प्रकाशित: १ जेष्ठ २०७९ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App