गोरखा र पालुङटार नगरपालिका बाहेकमा मत गणना सुरु हुन सकेको छैन। गोरखा नगरपालिकामा शुक्रवार राती १२ बजेदेखि र पालुङटार नगरपालिकामा २ बजेदेखि मतगणना सुरु भएको हो।
अन्य नौ वटा गाउँपालिकामा मत गणना सुरु भएको छैन। सर्वदलिय बैठक बसेर मत गणना सुरु गर्ने तयारी ८ वटा गाउँपालिकामा छ। चुमनुब्री गाउँपालिकामा भने मत पेटिका संकलन समेत हुन सकेको छैन। दुर्गमका वडाबाट मतपेटिका गाउँपालिकाको केन्द्र सिर्दिबास सम्म ल्याउन तीन दिन लाग्ने भएकाले सबै मतपेटिका ल्याएपछि मात्रै गणना सुरु हुने गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए।
गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको छ। वडा अध्यक्ष हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ४९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवारले ३७१ मत ल्याएका छन्।
यस्तै मेयर उप मेयरमा नेपाली कांग्रेसको अग्रता छ । मेयरमा कांग्रेसको ४८३, उप मेयरमा ४९५ मत रहेको छ । मेयरमा माओवादी केन्द्रको ३८६, उप मेयरमा जसपाको २७३, एमालेको मेयरमा २५४ र उप मेयरमा २२७ मत रहेको छ।
पालुङटार नगरपालिका वडा नम्बर १ को मतगणना चलिरहेको छ। वडा अध्यक्ष र मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ।
प्रकाशित: ३१ वैशाख २०७९ ०३:४८ शनिबार