१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सय वर्ष नाघेका मतदाताको उत्साह

बिहान ७ बजे मतदान सुरु हुँदा कतिपय मतदाता घरभित्रै थिए। काठमाडौं महानगरपालिका–५ कालोपुलकी १०५ वर्षीया भौमकुमारी दाहाल भने त्यति बेला लौरो टेक्दै सानोगौचरनस्थित मतदान केन्द्रमा भेटिइन्।

पहेँलो धोती, चोलो र पहेँलै टीकामा सजिएर बुहारीसँग आएकी भौमकुमारीले भोट खसालेलगत्तै खुसी लागेको प्रतिक्रिया दिइन्। ‘आमा बिहान उठ्नेबित्तिकै भोट खसाल्न जाऔं भनेर हतारिनुभएको थियो,’ बुहारी बेन्जु दाहालले भनिन्, ‘भोट हालेपछि रमाउनुभएको छ।’ ओखलढुंगा कोलचौरमा जन्मिएकी दाहालले हरेक चुनावमा उत्साहित हुँदै मत खसाल्ने गरेको सुनाइन्।

नागरिकतामा भौमकुमारीको जन्म १९७४ फागुन १ गते उल्लेख छ। सात छोरा पाँच छोरीकी आमा भौमकुमारीको जनाति (पनातिको छोरा) पनि २४ वर्षका भइसकेको बेन्जुले सुनाइन्। ‘सम्भवतः आमाकी जेठानी बेदमायाले कपनबाट मत खसाल्नुभयो होला,’ उनले थपिन्, ‘बुढाबुढीको मतदानप्रतिको रहर देखेर हामीलाई पनि खुसी लागेको छ, मत खसाल्ने अधिकार उपयोग गर्नैपर्छ भन्ने प्रेरणा मिलेको छ।’ सोही मतदान केन्द्रमा १०१ वर्षकी गंगालक्ष्मी भेटवालले पनि मत खसालिन्। छोराको पिठ्युँमा बसेर मत खसाल्न आएकी भेटवाल आफूभन्दा पनि जेठी मतदाता भौमकुमारीलाई भेटेपछि खुसी भएकी थिइन्। खुसीको क्षणमा दुवै जनाले एकै ठाउँमा बसेर तस्बिर समेत खिचाए।

यो मतदान केन्द्रमा मात्र होइन, मुलुकका विभिन्न मतदान केन्द्रमा सय वर्ष नाघेका थुप्रै ज्येष्ठ नागरिकले मत खसालेका छन्। मध्यपुर थिमीस्थित मतदान केन्द्रमा १०३ वर्षकी गणेशमाया प्रजापतीले भोट हालिन्। उनले चपाचोस्थित घरनजिकैको मतदान केन्द्रमा पुगेर भोट हालेकी हुन्। ‘भोट खसाल्न जाँदा मात्र होइन फर्केर आउँदा पनि उहाँ निकै खुसी देखिनुभयो,’ स्थानीय राम प्रजापतीले भने, ‘बुढाबुढीले मत खसाल्न थालेपछि अन्यमा पनि थप उत्साह छायो।’

 त्यसैगरी इलाममा ११० वर्षीया ज्येष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेकी छिन्। सूर्याेदय नगरपालिका–१४ बतासेस्थित सरस्वती मावि केन्द्रबाट उनले मतदान गरेकी हुन्।

फाकफोकथुम गाउँपालिकामा पनि १०२ वर्षीया महिलाले मतदान गरेकी छिन्। फाकफोकथुम गाउँपालिका–१ को जनज्योति आधारभूत विद्यालय केन्द्रबाट जसरानी लिम्बुनीले मतदान गरेकी हुन्।

टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर मतदान केन्द्रबाट १०६ वर्षीया बिन्द्रा कार्कीले मतदान गरेकी छिन्। उनलाई छोराले स्कुटीमा राखेर मतदानस्थलसम्म पुर्‍याएका थिए। सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट १०६ वर्षकी कुमारी सुनुवार्नीले मतदान गरेकी छिन्। उनको जन्म १९७२ कात्तिक १७ गते भएको थियो। उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजीकरण गरेका थिए। उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्र आएकी थिइन्।

यी शुक्रबार दिउँसोसम्म देखिएका केही उदाहरण मात्र हुन्। मुलुकका अन्य ठाउँबाट पनि सय वर्ष नाघेका र त्यसैको हाराहारीमा रहेका दर्जनौं ज्येष्ठ नागरिकले मत खसालेका छन्। चुनावप्रति देखाएको उनीहरूको उत्साहको जनप्रतिनिधिलगायत सर्वसाधरणले तारिफ गरेका छन्।

‘सय वर्ष नाघेका बाआमा आएर भोट हाल्नु लोकतन्त्रका लागि निकै ठूलो उपलब्धि हो,’ सानो गौचरनस्थित मतदान केन्द्रमा भेटिएका रामकुमार सुनुवारले भने, ‘चुनाव जित्नेले यी अमूल्य मतको दुरूपयोग नगरून्।’

प्रकाशित: ३१ वैशाख २०७९ ००:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App