४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्देशिका नसच्चिए तोकिएको मितिमा मतगणना सम्पन्न गर्न असम्भव

पोखरा उपत्यका नगर विकास समितिको कार्यालय हाताभित्र निर्माण गरिदै गरेको मतगणना स्थल । तस्बिरः उमेश पुन/नागरिक

निर्वाचन आयोगले जेठ ५ गतेभित्र मतगणना सक्न निर्देशन जारी गरेको छ। आयोगले मतगणनाको अन्तिम परिणाम ढिलोमा जेठ ५ गते भित्रमा सक्न निर्देशन जारी गरेको हो।

तर पोखरा महानगरपालिकाको निर्वाचनको अन्तिम मत परिणाम तोकिएको मितिमा सार्वजनिक गर्न असम्भवजस्तै देखिएको छ। त्यसमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका कारण असम्भव देखिएको भने होईन। बरु आयोगकै मतगणना निर्देशिकाका कारण असम्भव देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराको भनाई छ।

निर्देशिकामा एक सिफ्टमा २ हजार मतगणना संख्या राखिएको छ। यसअघि संघीय निर्वाचनमा ५ सय मात्रै मतगणना संख्या राखिएको थियो। तर यसपटक निर्देशिकामा १ हजार ५ सय थपेर २ हजार पुर्‍याइएको छ। जुन एक सिफ्टमा काउण्ट गर्न असम्भव देखिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईको भनाई छ। यसअघि संसदीय चुनावमा सानो मतपत्र हुँदापनि एक सिफ्टमा मतगणना संख्या ५ सय थियो,उनले भने, 'सिफ्ट संख्याले असजिलो बनाएको छ। यो अव्यवहारिक छ। कर्मचारीले त्यतिधेरै संख्या एकै सिफ्टमा काउन्ट गर्नै सक्दैन्। आयोगले कुन मापदण्डका आधारमा संख्या तोकेको हो? मैले बुझेको छैन।’

मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्देशिका संसोधन हुनुपर्ने बताए। त्यसका लागि आफूहरुले निर्वाचन आयोगलाई एकहप्ता अगाडि नै पत्र पठाएको तर जवाफ नआएको उनको भनाई छ। उनले आफूहरुको माग सम्बोधन नभएमा मतगणनामा समस्या आउने भन्दै भने,'नभएमा तोकिएको समयमा मतगणना सम्पन्न गर्न असम्भव छ। उहाँहरुले त्यो गर्दिनु भएन भने फेरी हामी कुरा गर्छौं।' उनले आयोगले तोकेको समयमा मतगणना सक्नका लागि मतगणना स्थल पनि थप्नुपर्ने बताए। जनशक्ति अभाव नभएपनि अन्य धेरै कुराहरु आवश्यक पर्ने भन्दै उनले थपे,'स्पट प्राप्त भयो भने त हामी गणना गर्न तयारै छौं। तर त्यसका लागि स्पट उपलब्ध गराईदिनु पर्‍यो। त्योसँगै जनशक्ति परिचालन गर्दा लाग्ने खर्चपनि दिनुपर्‍यो।’ उनले एकैपटक ९/१० वटा वडाको गणना गर्नसक्ने अवस्था सिर्जना गरेमात्रै आयोगले तोकेको जेठ ५ गतेभित्र मतगणना सकिने उनको भनाई छ।

तर त्यसका लागि मतगणना स्थलका रुपमा ठूला हलहरु चाहिने भएपनि अहिले तोकिएको जिल्ला समन्वय समिति र पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा ठाउँ नभएको उनले स्पष्ट पारे। उनका अनुसार अहिले दुबै ठाउँ गरेर ४ वटा सामान्य हल र २ वटा कोठा गरेर ६ ठाउँमा मात्रै मतगणना गर्नसकिने स्थिति छ।

पोखरा महानगरपालिकाको निर्वाचन भएको भोलिपल्ट मात्रै मतगणना शुरु गर्ने तयारी छ। राती १२ बजेसम्ममा मतपेटिका मतगणना स्थलमा ल्याइपुर्‍याउने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुटेको छ। त्यसपछि मतपेटिकालाई सुरक्षित गरेपछि सर्वदलीय बैठक बसेर मतगणनाको आचारसंहिता तयार पारिने मुख्य निर्वाचन अधिकृत भट्टराईले बताए।

प्रकाशित: २९ वैशाख २०७९ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App