१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदुरपश्चिमको निर्वाचनः मतदान अधिकृत गाँउमा, मतदाता बाटोमै

दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री, मतदान अधिकृत तथा सुरक्षाकर्मी पाठाइँदै।

नेपालको चुच्चे नक्सामा समावेश गरिएको भुगोल रहेको दार्चुलाको ब्यांस गाउँपालिकाको कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री, मतदान अधिकृत तथा सुरक्षाकर्मी  पुगिसकेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ब्यांस गाउँपालिका-१ मा रहेका छाङ्गरु र तिंकरको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टर मार्फत निर्वाचन सामग्री तथा जनशक्ति पुर्याइएकाे हाे। 

नेपाली भूमीबाट सो क्षेत्र जान हाल पैदल बाटो समेत नभएका कारण हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ। छाङ्गरुको कैलाशपति आवि केन्द्रमा ३ सय ७५ र तिंकरको  मोति महिला संघ आवि केन्द्रमा २ सय ३१ मतदाता रहेका छन्। सो क्षेत्रका बासिन्दाहरु वैशाख तेस्रो सातादेखि सदरमुकामबाट ब्यांस उक्लन थालेका छन् अधिकांश मतदाता बाटोमै रहेका छन्। 

हिउँदमा सदरमुकाम खलंगा झरेका शौका समुदाय आफ्नो थातथलो ब्यास गाउपालिका १ ब्यांस क्षेत्रमा नै मतदानको लागि फर्किन लागेका छन्। वर्षका न्यानो छ महिना हिमाल र चिसो समयमा वेशी सदरमुकाम खलंगा बसाई सर्ने गर्छन्। आफ्नो समुदायको बसाईसराई पशु चौपायासहित आफ्नो बालबच्चा (लालाबाला)सहित वर्षेनी हिमाल चढ्ने र वेशी झर्ने परम्परादेखि चलिआएको हुनाले यसलाई स्थानीयरुपमा कुञ्चा सार्नु भन्ने गरिन्छ। उच्च हिमाली क्षेत्रका तिंकर र छाङ्गरु दुई बस्तीमा ब्यांसी शौका जातीको मात्रै बसोवास छ। घरपरिवारका सदस्यहरु, खाद्यान्न र गाइवस्तुसहित व्यास कुञ्चा सर्ने क्रममा अधिकाशं स्थानीय अझै बाटोमै रहेका छ्न्। 

नेपालतर्फ बाटोको सुविधा नहुँदा सबैजसो स्थानीयले भारतीय मोटरबाटो र पैदलमार्गको प्रयोग गर्नुपर्ने बाध्यता छ। भारतीय भूमि भएर यात्रा गर्दा नेपाली प्रशासनको सिफारिसमा भारतीय प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था मान्छेसंगै गाइवस्तुको समेत अनुमति बनाउनुपर्छ। निर्वाचन सुरक्षा रणनीति अन्तर्गत मंगलबार बेलुकीदेखि सिमा नाकाहरु बन्द रहने भएकाले प्राय सबै बाटोमै रहेको स्थानीय बिमल बोहराले बताए।

तीन घेरामा सुरक्षाकर्मी परिचालन

दार्चुलामा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ। जिल्लास्थित सुरक्षा निकायको समन्वयमा दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि, मतदान र मतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको छ। निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना अनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए। 

नेपाली सेना र सशस्त्र प्रहरी पालिकाहरुमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसँग मतदान केन्द्रहरुमा पुग्ने तयारी रहेको  छ।प्रजिअ उपाध्यायले भने, मतदान अधिकृतहरु निर्वाचन सामाग्री बुझेर कार्यक्षेत्रमा खटिन थालेका  केही स्थानमा पुगिसकेका समेत छन्।निर्वाचन अवधिभर जिल्लाभरी झण्डै दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन्। यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदानस्थलमा सुरक्षाकर्मी खटिइसक्ने छन्। 

भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ। ११० मतदान स्थल र १३९ मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले ११ वटा मतदान स्थललाई अति संवेदनशील, ११ वटा मतदान स्थललाई संवेदनशील र ८८ वटा मतदानस्थललाई सामान्यमा वर्गिकरण गरिएको छ। निर्वाचनलाईस्वच्छ, शान्तिपूर्ण र भयरहीतरुपमा सम्पन्न गराउन सुरक्षाकर्मीलाई निर्देशित गरिएको छ। दार्चुला जिल्ला भरिको मतदाता संख्या ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला गरि ८८ हजार २ सय ८५ मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ। निर्वाचनमा जिल्लाभरी एक हजार ८१ कर्मचारी खटिएका छन्।

मदिरा बिक्री तथा सेवन गर्न रोक र ७२ घण्टा सीमा सिल गरिने

दार्चुलामा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाईएको छ। 

दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरूबीच निर्वाचन अवधिमा ७२ घण्टा सीमा नाका सिल (बन्द) गर्ने सहमति भएको छ। नेपाल–भारत सीमा समन्वय बैठकमा स्थानीय तह निर्वाचन २०७९ का लागि सीमा सिल गर्ने, सीमा सुरक्षा, तटबन्ध, मोटरबल पुल, नयाँ झोलुंगे पुल सञ्चालन र लागूऔषध ओसार पसार नियन्त्रण सम्बन्धी छलफल गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा छिमेकी राष्ट्र भारतबाट पिथौरागढ जिल्लाका अपर जिल्ला अधिकारी फिंचा राम चौहानको नेतृत्वको टोली सहभागी भएको थियो। उक्त बैठकमा वैशाख २७ गते साँझ ७ बजेबाट वैशाख ३० गते साँझसम्म दार्चुलाका सम्पूर्ण अन्तराष्ट्रिय सीमानाका बन्द गर्ने सहमति भएको बताइएको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App