coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

यसपटक एमालेलाई अप्ठेरो छ बुढानीलकण्ठ नगरमा

अघिल्लो स्थानीय निर्वाचनमा नेकपा (एमाले)को पकड रहेको बुढानीलकण्ठ नगरपालिकामा यसपटक भने अप्ठेरो देखिएको छ। अघिल्लो निर्वाचन जस्तो एमालेलाई मेयर र उपमेयर पदमा विजयी हुन त्यति सजिलो छैन।

अघिल्लो कार्यकालमा नगरमा सुशासन कायम गर्न नसकेको आरोप एमालेलाई लागेको छ। अघिल्लो कार्यकालमा व्यक्त सबै प्रतिवद्धता पनि पुरा भएका छैनन। अख्तियारले यहाँ भएका अनियमिततामा कर्मचारीहरुलाई तानेको छ।

अघिल्लो कार्यकालको अपजसले गर्दा एमालेलाई सजिलै नेतृत्व हत्याउन कठिन त छ नै त्यसैमा राजनीति परिवेश पनि परिवर्तन भएको छ। यहाँ कुनै पनि राजनीतिक दलहरुबीच तालमेल छैन। सबैले आआफ्ना उम्मेदवार उठाएका छन्। एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा सबैले आआफ्ना उम्मेदवारहरु उठाएका छन्। त्यसले सबैको मत एक आपसमा बाँडिन्छ नै । एमालेको मत समाजवादीले काटने भएकाले पनि गाह्रो अवस्था रहेको विश्लेषण गरिएको छ।

बूढानीलकण्ठमा सबै पदमा गरेर २ सय ८५ जनाको मनोयन दर्ता छ। ३ सय ८ जना उम्मेदवारमध्ये २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिए पश्चात २ सय ८५ जनाको अन्तिम नामावली प्रकाशन भएको हो। बूढानीलकण्ठ निर्वाचन अधिकृत कार्यालयको तथ्याङ्कअनुसार १५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६ जना उपमेयरमा र ६५ जनाको वडा अध्यक्षमा उम्मेदवारी दर्ता छ। साथै ५१ जना महिला सदस्य, ४४ जना दलित महिला सदस्य र १ सय ४ जना खुल्ला सदस्यहरुले मनोनयन दर्ता गराएका छन्।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठको नगरप्रमुखमा एमालेका उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई विजयी भएका थिए।  नेपाली कांग्रेसका राजु श्रेष्ठलाई ४ हजार बढी मतान्तरले पराजित गर्दै खरेल २०७४ सालको निर्वाचनमा विजयी भएका थिए। खरेलले १३ हजार २ सय ४६ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ८ हजार ९ सय २७ मत पाएका थिए।

यस्तै उपमेयरमा राईले १३ हजार १ सय ८८ मत पाएकी थिईन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा खड्काले ९ हजार ७ सय ६८ मत पाएकी थिईन्।

तर अहिलेको अवस्था फरक छ र मतदाताले एमालेलाई पाँच बर्ष परिक्षण गरिसकेका छन्। एमाले आफैपनि विभाजित भएर एकलौटी रुपमा चुनावमा होमिएको छ।

यो निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार उठाउने प्रयास नभएको होइन। तर गठबन्धन भित्रका दलहरुबीच कुरा नमिलेपछि अन्तमा सत्तासीन दलहरूले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराए। नेपाली कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा एमालेबाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा, नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन्।

यस्तै एकिकृत समाजवादीबाट बालकृष्ण श्रेष्ठ र उपमेयरमा प्रमिला सापकोटा (रिमाल) चुनावी प्रतिस्पर्धामा अघि बढेका छन्।

एकिकृत समाजवादीका तर्फबाट मेयर पदका अघि सरेका बालकृष्ण श्रेष्ठ वडा नं ३ का वडाध्यक्ष पनि हुन्। २०३८ साल देखि राजनितिक यात्रा सुरु गरेका श्रेष्ठ सरकारी विद्यालयका स्थायी शिक्षक पनि हुन्। उनले तत्कालिन चपली भद्रकाली गाविस हाल बूढानीलकण्ठ नगरपालिका वडा नं.२ स्थित गणेश माध्यमिक विद्यालयमा ८ वर्ष स्थायी शिक्षकको रुपमा काम गरे।

त्यसपश्चात् राजनीतिक यात्रालाई अगाडि बढाउन उनले शिक्षक पेशाबाट राजिनामा लिई २०५४ सालको निर्वाचनमा तत्कालिन विष्णु बूढानीलकण्ठ गाविसका अध्यक्षको रुपमा निर्वाचित भए। उनी २०७४ सालको निर्वाचनमा पनि बूढानीलकण्ठ नगरपालिका वडा नं.३ को वडाध्यक्षको रुपमा निर्वाचित व्यक्ति हुन।

व्यवस्थापनमा स्नातक गरेका श्रेष्ठ आगामी निर्वाचनमा संविधानको कार्यान्वयनलाई मुख्य एजेण्डा बनाई मेयर पदका लागि अगाडि बढेको बताँउछन्। ‘संविधान हरेक नागरिकले पालना गर्नुपर्छ, तर जब देशका नागरिकले संबिधान मान्दैनन्, तब देश अन्यत्रै मोडिन्छ। संविधान ल्याउन जसरी हामी सबै एकजुट भएका थियौं, त्यसरीनै यसको कार्यान्वयका लागि एक जुट हुनुपर्छ,’ उनले नागरिक न्यूजसँग भने।

श्रेष्ठ सुशासनमा यो नगरपालिका विगतमा निकै बदनाम भएको बताउँछन। ‘भ्रष्टाचारको आरोपमा यहाँका कर्मचारीहरुमाथि अख्तियारको उजुरी परेको छ। यहाँको बेथिती हटाउन र कर्मचारीहरुको मनोवल बढाउने किसिमका योजनाका साथ म अगाडि बढेको छु। यस्तै पुर्वाधार विकास मात्र नभएर व्यवहारिक शिक्षा, नगरपालिका भित्रै फोहोरमैलाको व्यवस्थापन, युवाहरुलाई स्वरोजगार बनाउने, नगरपालिकामा रहेका ६ वटा स्वास्थ्य चौकिहरुलाई थप व्यवस्थित बनाउने र नगरपालिकालाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नको लागि मेरो उमेद्वारी हो,’उनले भने।

दुई कार्यकाल वडाध्यक्षका रुपमा काम गरेका श्रेष्ठ, आपत–विपत पर्दा नजिकबाट सहयोग गर्न सक्ने उमेद्वारलाई नागरिकले चुन्नु पर्ने बताँउछन्। ‘हिजोका दिनमा बूढानीलकण्ठको विकासका लागि खरो रुपमा अगाडि बढेकै कारण आज म यस नगरपालिकाको विकास गर्न सक्छु भन्ने दृढ विश्वासका साथ अगाडि बढेको छु, यहाँका नागरिकहरुले मलाई चुन्नु हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ, उनले भने।

यस्तै बूढानीलकण्ठको मेयर पदका अर्का उमेद्वार हुन्, नेकपा माओवादी केन्द्रका डम्बरप्रसाद अधिकारी। राजनीति विज्ञानमा स्नातक गरेका उनले वि.सं २०३६ बाट आफ्नो राजनितिक यात्रा सुरु गरेका हुन्। वि.सं २०४६ सालको जन आन्दोलनका साथै २०५२ सालको जनयुद्धमा पनि सामेल भएका उनि हाल भ्रष्टाचार अन्त्यलाई आफ्नो मुख्य एजेण्डा बनाई मेयर पदमा उम्मेदवारी दिएको बताँउछन्।

‘विकास र समृद्धिको मुख्य बाधकनै भ्रष्टाचार हो। संघियताका आधारमा प्रत्येक स्थानिय तहलाई विकेन्द्रित रुपमा बजेट आउने गरेको छ। तर स्थानिय तहमा त्यो बजेटको व्यापक दुरुपयोग भएको देखिन्छ भने अपारदर्शी र गुणस्तरहिन काम भएको पाईन्छ, यस्तो कामलाई अन्त्य गर्नु र बजेटको सहि सदुपयोग गर्नुनै मेरो मुख्य एजेण्डा हो,’उनले भने।

बूढानीलकण्ठका नागरिकले आफूलाई जिताएमा, नगरपालिकामा प्राविधिक र व्यवहारिक शिक्षा प्रदान गर्ने किसिमका शैक्षिक कार्यक्रम अगाडी बढाउने योजना रहेको उनी बताउँछन। ‘नगरपालिकामा ईन्जिनियरिङ्ग तथा नर्सिङ्ग कजेल खोल्ने मेरो योजना छ। आगामी पुस्तालाई प्राविधिक शिक्षामा आत्मनिर्भर बनाई स्वरोजगार बनाउने मेरो लक्ष्य हो, उनले भने।

स्थानीय तहको निर्वाचनका लागि बूढानीलकण्ठमा १९ वटा मतदान स्थल निर्धारण गरिएको छ भने ५५ वटा मतदान केन्द्र रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

१ लाख ५३ हजार ३ सय ३ जना जनसंख्या भएको बूढानीलकण्ठमा ४८ हजार ३४ जना मात्र मतदाता रहेको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन।

प्रदेश नं ३ काठमाडौँ जिल्लामा अवस्थित बूढानीलकण्ठ नगरपालिका तत्कालिन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको २०७१ साल मङ्सिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णु बूढानीलकण्ठ र कपन गरी ६ वटा गाविसहरू मिलाएर १९ वडामा बिभाजन गरी प्रशासकीय हिसावले समायोजन गरिएको थियो।

तर नेपाल सरकारको २०७१ साल फागुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो।

बूढानीलकण्ठ नेपालकै ऐतिहासिक नगरपालिका मध्येको एक हो । नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्ला तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग सिमा जोडिएको छ भने दक्षिणमा काठमाडौँ महानगरको वडा नम्बर ३, ४, ६, ७ र टोखाको वडा नम्बर ४ धापासी छ। त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्छ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौंको वडा नम्बर ६ सँग जोडिएको छ। काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बूढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ। 

उत्तरी भागमा शिवपुरीको फेदीमा रहेको यो स्थल शैव, वैष्णव, र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो। आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत श्रृखंला लगायत वन जंगल र भिरालो भू–भाग छ। दक्षिणतर्फ समथर भू–भाग छ भने अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ। विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू यहि नगरपालिका भएर बग्ने गरेका छन्।

देशकै ठूलो जनघनत्व भएको नगरपालिका अन्तर्गत पर्ने काठमाडौंको बूढानीलकण्ठ नगरपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण नगरपालिका हो।

प्रकाशित: २७ वैशाख २०७९ १६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App