८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहाड उक्लिँदै मधेस केन्द्रित दल

स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई–मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्।

पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको रणनीति छ। तराई–मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन्।

लोसपाले यसपटक काठमाडाैँ, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, अर्घाखाँची, मकवानपुर, धादिङ, दाङलगायतका पहाडी जिल्लामा उम्मेदवारी दिएको छ। लोसपाका कार्यकारिणी समितिको सदस्य डा.सुरेन्द्र झाका अनुसार लोसपाले यसपटक ४३ जिल्लाका १सय ८५ स्थानीय तहमा उम्मेदवारी दिएको छ। ‘यसपटक भने धेरै जिल्लामा उम्मेदवारी दिएका छौ’झाले भने,‘हामी अव विस्तारै तराई–मधेस बाहेक पहाडी तथा हिमाली जिल्लामा उक्लिदै छाैँ।’ पहाड तथा हिमाल आफ्नो उपस्थिति देखाउने पार्टीको रणनीति भएको उनले बताए। ‘हाम्रो आधार क्षेत्र तराई–मधेस हो तर पनि हामीले पाहाड तथा हिमालमा पनि हाम्रो उपस्थिति देखाउँदै छौं।’

लोसपाले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको मेयरमा सागर सापकोटा तथा भक्तपुरको मध्यपुर थिमिमा देवीमाया खातीलाई मेयरमा उम्मेदवारी बनाएको छ। काठमाडौं महानगरमा भने वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ।

२०७४को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले मधेस प्रदेश बाहेक अन्य प्रदेशमा बहिस्कार गरेको थियो। तर तत्कालीन समाजवादी पार्टीले भने काठमाडौं, भक्तपुरलगायत केही पहाडी जिल्लामा उम्मेदवारी दिएको थियो।

निर्वाचनमा पहाडी जिल्लामा मधेस केन्द्रित दलको उपस्थिति २०४६सालको आन्दोलनपछि देखि नै हुँदै आएको छ। २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन नेपाल सद्भावना पार्टीबाट काठमाडाैँको मेयरमा सीताराम साहले उम्मेदवारी दिएका थिए। त्यसबेला उनले झन्डै १ हजार भोट ल्याएका थिए। २०५४ मा भएको स्थानीय निर्वाचनमा तत्कालीन नेपाल सद्भावना पार्टीबाट मुरुली सिंहले उम्मेदवारी दिएका थिए। ‘तीस वर्ष अघिदेखि नै स्थानीय निर्वाचनमा काठमाडौंलगायत पहाडी क्षेत्रमा मधेसी समुदायबाट उम्मेदवारी परेकोछ,’ जसपका कार्यकारिणी समितिका सदस्य मनीष समुनले भने, ‘ययसबाट काठमाडौंलगायत पहाडी क्षेत्रमा मधेसप्रतिको माया र सद्भाव बढेको पुष्टि हुन्छ।’

मधेसलाई भोट बैंक मानेको जनता समाजवादी पार्टीले यसपटक आधा दर्जनभन्दा बढी हिमाली जिल्लामा समेत उम्मेदवारी दिएको छ। जसपाले अधिकांश पहाडी जिल्लामा उम्मेदवारी दिएको छ। तराई–मधेसलाई जसपाले आधार क्षेत्र मानेको छ।

जसपाका कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीका अनुसार जसपाले यसपटक सोलुखुम्बु, ताप्लेजुङ, जुम्ला, हुम्ला, रसुवा, डोल्पा, मुगुलगायतका हिमाली जिल्लामा उम्मेदवारी दिएको छ। ‘यसपटक हामीले पहाडी जिल्लामा मात्र नभइ हिमाली जिल्लामा पनि उम्मेदवारी दिएका छौं,’ अधिकारीले भने, ‘पहाडी जिल्लाका अधिकांश पालिकामा हामीले उम्मेदवारी दिएका छाैँ।’

२०७४ को स्थानीय निर्वाचनमा जसपाका नेताहरू तत्कालीन समाजवादी पार्टीबाट चुनाव लडेका थिए। तत्कालीन समाजवादी पार्टीसँग डा.बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीले एकीकरण गरेपछि जसपाका नेताहरूले आफ्नो आधार क्षेत्र तराई मधेस मात्र नभई पहाड र हिमाली क्षेत्र पनि रहेको बताउने गरेका छन्।

तराई–मधेस केन्द्रित अन्य ४ दलहरू तमलोपा, जनमत पार्टी, जनता प्रगतीशल पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक चुनावमा भाग लिदैछन्। यद्यपि तमलोपाले यसअघि पनि चुनावमा भाग लिएको थियो।

२०७४ वैशाखमा तत्कालीन ६ मधेस केन्द्रित दलहरू मिलेर राजपा गठन गरेपछि तमलोपा निस्क्रिय भएको थियो। निस्क्रिय भएको तमलोपालाई बिर्खेशचन्द्र लाल, विजयी सिंह लगायतका नेताहरूले गत फागुनमा मात्र पुनः सक्रिय बनाएका थिए।

तमलोपाका अध्यक्ष बिर्खेशचन्द्र लालले यसपटक आफ्नो पार्टीले तराई–मधेसमा मात्र उम्मेदवारी दिएको बताए। यसैगरी, जनता प्रगतशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले यसपटक आफ्नो पार्टीले मधेस प्रदेशमा मात्र उममेदवारी दिएको बताए। यसैगरी नागरिक उन्मुक्ति पार्टीले यसपटक सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी दिएको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App