४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

धरानमा एमालेलाई विरासत फर्काउन चुनौती, गठबन्धनले कांग्रेस ढुक्क

स्वतन्त्र उम्मेद्वारको इन्ट्रीले चुनावी भिडन्त रोचक

एमालेबाट मेयर र उपमेयरका उम्मेद्वार मञ्जु भण्डारी र पदम इस्पो, गठबन्धनका उम्मेद्वार किसोर राई र अइन्द्रबिक्रम बेघा र स्वतन्त्र मेयरका उम्मेदवार हर्क साम्पाङ। तस्बिर: रोहित/नागरिक

वैशाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धरान उपमहानगरपालिकाको नेतृत्व लिने चुनावी भिडन्त रोचक मोडमा पुगेको छ।  

यहाँ २०७६ को उपनिर्वाचनबाट धरानको नेतृत्व गुमाएको नेकपा एमाले र सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनबीच तीव्र चुनावी प्रतिस्पर्धा छ। गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस उपनिर्वाचनको अप्रत्यासित परिणाम दोहोर्याउदै धरानको नेतृत्व कायम राख्न चाहन्छ। यसको लागि कांग्रेसलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ। चुनावी मैदानमा एक्लै उभिएको एमाले उपनिर्वाचनबाट गुमेको आफ्नो विरासत फर्काउन चाहन्छ।  

विरासतको लडाईमा रहेको एमालेबाट मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम इस्पो लिम्बु उम्मेद्वार छन्। भण्डारी धरानको मेयरमा पहिलो पटक महिला उम्मेद्वार छिन्। गठबन्धनबाट मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा उम्मेद्वार छन्। उनीहरु घरदैलो कार्यक्रममार्फत मतदातासमक्ष पुगेर भोट माग्ने अन्तिम चुनावी अभियानमा छन्।  

धरानमा पञ्चायतकालमा पनि जनपक्षीय वामपन्थी उम्मेद्वारले निवार्चन जित्दै आएको थियो भने प्रजातन्त्र पुर्नस्थापना पछि २०४९ र २०५४ को स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर दुवै एमालेले जितेको थियो। २०७४ को निर्वाचनमा पनि एमालेले जितेको धरानमा मेयर तारा सुब्बाको निधन पछि २०७६ मा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा भने पहिलो पटक नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई विजयी हुँदै कम्युनिष्ट गढ भत्काएका थिए। उपनिर्वाचन हुँदा एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनिसकेको थियो। २०७४ को निर्वाचनको मतपरिणाम हेर्दा सहजै जित्नुपर्ने नेकपा उम्मेद्वार प्रकाश राईलाई  २६ हजार ७०९ मत ल्याएका कांग्रेसका तिलक राईले२७९५ मतान्तरले पराजित गरेका थिए।

स्वतन्त्र उम्मेद्वार राईको चुनौती

एमाले र गठबन्धनबीचको चुनावी भिडन्तलाई मेयरका स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ)को इन्ट्रीले थप रोचक बनाइदिएको छ। काठमाण्डौंमा स्वतन्त्र उम्मेद्वार वालेन साहले जस्तै धरानमा पनि स्वतन्त्र उम्मेद्वार राईको चुनावी चर्चाले उचाई पाएको छ।  

उनले जित्ने मत नपाए पनि एमाले वा गठबन्धनका प्रतिस्पर्धी उम्मेद्वारलाई क्षति पुग्ने गरी मत तान्ने आँकलन गरिएको छ। जसले गर्दा एमाले र गठबन्धनका उम्मेद्वारको लागि लौरो चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेद्वार राईको इन्ट्रीले सुखद छैन। प्रमुख प्रतिस्पर्धी दल एमाले र गठबन्धनका उम्मेद्वारले एकअर्कालाई मात्र होइन, अब स्वतन्त्र उम्मेद्वार राईलाई पनि छेक्नुपर्ने चुनौती थपिएको छ। एमाले र गठबन्धनलाई आफ्ना मतदाताहरु जोगाउनुपर्ने थप दबाबमा छन्

विगत १० बर्षदेखि सामाजिक अभियन्ताकोरुपमा धरानको विभिन्न मुद्दा उठाउदै आएका राईको प्रमुख एजेण्डा खानेपानी हो। धराने जनताको समस्याहरुलाई सरोकारवाला निकायहरुसम्म पुर्याउदै आएका राईको पक्षमा युवा जनमत देखिएको छ। २०७६ को उपनिर्वाचनमा पनि मेयरमा स्वतन्त्र उम्मेद्वार रहेका उनले ४२२ मत पाएका थिए। तर, सोमबार उनले भानुचोकमा गरेको चुनावी सभामा उपस्थित जनमतले प्रमुख राजनीतिक दलहरुलाई उनी साँच्चिकै चुनौती हो भन्ने प्रष्ट गरेको थियो। अघिल्लो दिन एमालेको चुनावी सभाको लागि टाँगिएको पाल मुनि जति कुर्सी थियो, ती सबै कुर्सी राईको समर्थकहरुले भरिएको थियो। स्वतन्त्र उम्मेद्वार राईले चुनावी सभाको लागि एमालेले अघिल्लो दिन प्रयोग गरेकै मञ्च र कुर्सीहरु प्रयोग गरेको थियो। उनी चुनावी अभियानमा एक्लै छैनन्। उनको समुहबाट उपमेयरमा दत्तकुमार राई पनि उम्मेद्वार छन् भने विभिन्न ८ वटा वडामा स्वतन्त्र वडाअध्यक्ष पनि उम्मेद्वारी दिएका छन्।

स्वतन्त्र उम्मेद्वार राई राजनीतिक दलहरुबाट जनता निराश भइसकेकोले यसपाली आफुलाई जिताउने दाबी गर्छन्। उनले भने,‘राजनीतिक दलहरुले आश्वासन मात्र बाँडे, विगतमा जनताले विकल्प नपाएर तिनै दललाई भोट हाल्न बाध्य थिए। यसपाली हामीले खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारीको स्पष्ट एजेण्डासहित चुनावमा छौं। धरानले जनताले स्वतन्त्र उम्मेद्वारलाई जिताएर बषौंदेखिको राजनीतिक दासताबाट धरानलाई पनि स्वतन्त्र बनाउनेछन्।’ 

गठबन्धनको साथले कांग्रेस ढुक्क

धरानमा २०७६ को उपनिर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा थियो। एमाले र माओवादी एकता भएर बनेको नेकपालाई पनि कांग्रेसले पराजित गरेको थियो। यसपाली माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीसहितको ४ दलीय गठबन्धनले कांग्रेस थप वलियो बनेको छ। कांग्रेसभित्रै र सहयात्री दलहरुबाटै अन्तरघात हुने डर गठबन्धनमा छ। गठबन्धन तोडिदै, जोडिदै भएको हुनाले पनि भरोसायोग्य नभएको टिप्पणी हुनेगर्छ।

लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन मुल समिति संयोजक एवं कांग्रेस नेता सुजेन्द्र तामाङ यसपाली एक्लै चुनाव जित्ने भनेर संगठन विस्तार र सशक्तिकरण गरेको कांग्रेसलाई थप ३ दलको पनि साथ पाएकोले जित सुनिश्चित भएको बताउँछन्। उनी पार्टीबाट र गठबन्धन दलहरुबाट अन्तरघात हुने कुरा विपक्षीहरुले चलाएको हल्ला र षडयन्त्र मात्र भएको दाबी गर्छन्। ‘यसपाली कांग्रेस एक्लै चुनाव लडेर जित्ने गरी संगठन विस्तार गरेको थियौँ, गठबन्धन हुँदा ३ दल थपिएकोले जित सुनिश्चित छ,’तामाङ भन्छन्,‘ हामीले साझा प्रतिवद्धता पत्र र सहमति गरेका छौं। नगर र वडा सञ्चालनमा गठबन्धन दलको राजनीतिक संयन्त्र बनाएर जाने समझदारी छ। जनअपेक्षा विपरीत हिड्न खोज्ने जनप्रतिनिधिलाई हामी ठिक ठाउँमा ल्याउछौं।’

गठबन्धनलाई फुटाउन विपक्षीले अन्तरघातको हल्ला चलाएको भन्दै उनले सोमबार मात्रै मेयर, उपमेयर उम्मेद्वारसहित ४ दलको स्थानीय शीर्ष नेताहरु बसेर भ्रम चिर्ने काम भएको पनि बताए। उनले थपे,‘हामीले घरदैलो गर्दै र स्पेशल टोली खटाएर जनता के चाहन्छन् भन्ने बुझ्यौ, र त्यसै वमोजिम प्रतिवद्धता पत्र पनि बनायौ। सबैभन्दा ठुलो समस्या खानेपानी नै छ, अर्को पटकदेखि खानेपानीको चुनावी मुद्दा नबन्ने गरि काम गर्नेछौ। पर्यटन, पुर्वाधार, शैक्षिक, विकास सुकुम्बासी जल्दो बल्दो समस्या चरणबद्धरुपमा ५ वर्षभित्र समाधान गर्दै जाने लक्ष्य छ, त्यही अनुरुप हामी चल्नेछौ।’

एमालेलाई विरासत फर्काउन चुनौती

उपनिर्वाचनबाट धरानमा गुमेको राजनैतिक विरासत फर्काउन अहिले पनि एमालेलाई सहज छैन। नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र बनेको छ भने एमाले पनि विभाजित भइसकेको छ।उपनिर्वाचनमा एक्लै चुनाव लडेर जितेको कांग्रेसलाई थप ३ दलको साथ छ। यता एमालेमा भने १० बुँदे पक्षधर नेताहरु भित्रभित्रै चिढिएर बसेकोले अन्तरघात हुने खतरा छ। पार्टी नेतृत्वले यही कुरा ख्याल गर्दै १० बुँदे पक्षधरका पदम इस्पोलाई उपमेयर उम्मेद्वार बनाएको छ।  

तत्कालिन मेयर तारा सुब्बाको निधन पछि कार्यवाहक मेयर हुँदा हाल मेयरका उम्मेद्वार मञ्जु भण्डारीलाई विभिन्न आरोप लागेको थियो। अहिले चुनावी प्रचारको अभियानमा घर दैलो गर्दै मतदाता समक्ष पुगिरहदा ती आधारहिन थिए भन्ने प्रमाणित भएको एमाले धरान इञ्चार्ज तथा निर्वाचन परिचालन मुल कमिटीका सचिव नारायण सुवेदीले बताए। आफै पनि १० बुँदे पक्षधर नेता रहेका सुवेदीले विगतको तिठामिठा कुरा बिर्सेर प्रमुख शत्रुविरुद्ध अहिले युद्धमोर्चामा रहेकोले अन्तरघात नहुने दाबी गरे।

एमालेको सरकार प्रदेश, संघ र स्थानीयमा हुँदा गरेको कामहरुको मुल्यांकन गरेर नै जनताले भोट दिने उनले दाबी गरे। ‘निर्वाचन अभियान अघि मेयर उम्मेद्वारविरुद्ध जे हौवा चलाइएको थियो, ती सबै आधारहित, तथ्यहिन हो भन्ने प्रमाणित भएको छ। मतदाताहरु एमालेप्रति आकर्षित छन् भन्ने पायौ,’ उनले भने,‘विगतको गठबन्धनको परिणाम हेर्ने हो भने ४ दलीय गठबन्धन चुनौती लाग्दैन। दक्षिणपन्थी र बामपन्थी एकै ठाउँ मिलेर बस्न सक्दैन।’

२०७४ पछि एमाले संघ, प्रदेश र धरान सरकारको नेतृत्वमा रहदा सर्दु र सेउतीमा ३-३ वटा पुल बनेको छ भने अधेरी, ठकुरी, पटनालीमा पनि पक्की पुल निर्माण भएको नेता सुवेदीले बताए। यस्तै, धरान भएर मदन भण्डारी राजमार्गको निर्माण भइरहेको, धरानको स्मार्ट बसपार्क निर्माण कार्य शुरु भएको, खहरे करिडोर निर्माण कार्य अघि बढेकोलगायत विकास निर्माणको काम हेरेर नै एमालेलाई मतदाताहरुले जिताउने उनले दाबी गरे। ‘हामीले सुरु गरेका कतिपय कामहरु पुरा गर्नुछ। धरानको मुहार फेर्नसक्ने खेलग्राम, सप्तरंगी पार्क, शिवजट्टाको सौन्दर्यकरण र पर्यटकीय पुर्वाधार विकास, किरातकालिन विजयपुर दरबार पुननिर्माण, कोकाह ड्याम, केवलकारजस्ता योजनाहरु एमालेसँग मात्र छ,’उनले भने।

प्रकाशित: २६ वैशाख २०७९ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App