गोदावरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने देखिएको छ। यी दुई दलमध्ये कांग्रेसले अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएकाले जित्ने संभावना बढि रहेको जानकारहरु बताउँछन्।
ललितपुरका स्थानीय तहमा गठबन्धन दलहरुमध्ये नेपाली कांग्रेस र माओवादी (केन्द्र)को मात्र तालमेल देखिन्छ। यहाँ नेकपा एकिकृत (समाजजादी) ले एक्लै केही स्थानीय तहमा मात्र आफ्ना उम्मेदवार उठाएको छ।
त्यसैले गोदावरीमा नेपाली कांग्रेस र माओवादी (केन्द्र)को तालमेलमा यसअघिका मेयर गजेन्द्र महर्जनलाई नै निरन्तरता दिइएको छ। नेकपा एमालेले भने गम्भिर राना मगरलाई उठाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजकुमार महर्जनलाई उठाएको छ। कांग्रेस र एमालेका मेयरको तुलनामा राप्रपाका मेयर राजनीतिक रुपले निकै कमजोर देखिन्छन्।
गोदावरी नगरपालिकाका स्थानीयबासीकाअनुसार यहाँ मेयर पदमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारबीच नै तीव्र प्रतिस्पर्धा छ। राप्रपाका उम्मेदवार भारी मतान्तरले तेस्रो हुने आकलन उनीहरुको छ।
गोदावरी नगरपालिकामा २१ जना नगर प्रमुख र १० जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। १४ वडा रहेको गोदावरीमा ५४ हजार ३ सय ९९ जना मतदाता छन्।
गोदावरी नगरपालिकाका स्थानीय एक संचारकर्मीका अनुसार कांग्रेसका महर्जनको चुनाव जित्ने संभावना बढी छ। ‘महर्जन यसअघिका मेयर पनि हुन। उनले यस क्षेत्रमा राम्रो काम पनि गरेका छन҆, ती संचारकर्मी भन्छन्। उनका अनुसार गोदावरीमा नेवार समुदायको बाक्लो उपस्थिती छ। यहाँ नेवार बस्तीहरु धेरै छन्। ती सबै बस्तीमा गजेन्द्रको पकड राम्रो छ। राजनीतिक पृष्ठभूमि पनि बलियो छ। यसअघि उनले गरेका काम र स्थानियबासीसँगको उनको बोली व्यवहारले गर्दा पनि गजेन्द्र यसपटक पनि मेयर बन्ने संभावना बढि रहेको स्थानीयहरु बताउँछन्।
ललितपुर ठेचोका स्थानीयबासी महर्जन २०४७ देखि राजनीतिक यात्रामा छन्। उमेरले ४६ वर्ष पुगेका उनी दुइ पटक नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ को क्षेत्रीय सभापति भए। अहिले ललितपुर जिल्लाको उपसभापति हुन्।
आफ्नो ५ वर्षे कार्यकालमा पूरा गर्न नसकेका कामलाई निरन्तरता दिन आफू पुन मेयरको प्रत्याशी भएको उनी बताउँछन्। आफू मेयर हुनुअघिको गोदावरी नगर र अहिलेको नगरमा धेरै परिवर्तन आएको महर्जन बताउँछन्। उनले भने,’ अझै पनि भित्रि बस्तीहरुमा पानीको समस्या छ। सबै नागरिकलाई पानी खुवाउने योजना छ।’
महर्जनका अनुसार उनको कार्यकालमा प्रशासकिय र वडा कार्यालय भवन, नयाँ मुहान बनाउने काम, कालोपत्रे, सम्पदा क्षेत्रको पुननिर्माण र लथालिंग परेका पाटी पौवाको निर्माण पूरा भएका छन्। उनले भने, ‘अझै केही कामहरु बजेट अभावले अधुरा छन्, अब पनि मैले त्यही कामहरु पूरा र केही नयाँ कामको थालनी गर्नेछु।’
अहिले उनको मूख्य एजेण्डा नगरपालिकालाई धुलो धुवाँमुक्त बनाउने हो। साथै गोदावरीलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय विविधतायुक्त बनाई यहाँका संभावनाहरुलाई बाहिर ल्याउनेछ।
‘मेरो जित्ने आधार ५ वर्षको काम मात्र होइन, म यसभन्दा अघिदेखि यहाँ सक्रिय छु। नगरबासीसँग सँगसँगै खटेको छु’, उनले भने। छरिएका वस्तीलाई एकीकृत गर्ने, स्वास्थ्य क्षेत्र सुधार्ने र सबैलाई शिक्षाको पहुँचमा ल्याउने बिषय उनको प्राथमिकतामा छन्।
‘मैले स्नातक तहसम्म अध्ययन गरेको छु, तर अध्ययनले भन्दा भोगाइले धेरै कामहरु गर्न सहज भएको महशुस भइरहेको छ, महर्जन भन्छन्।
यसैगरी गोदावरी नगरपालिकामा नेकपा एमालेमा तर्फबाट गम्भिर राना मगर उम्मेदवार बनेका छन। उनी टिकाभैरवका स्थानियबासी हुन्। यसअघि उनी गोदावरी नगरपालिका वडा ६ को सदस्य पदमा निर्वाचित भएका थिए। जिल्ला समन्वय समितिको अध्यक्षमा उठनका उनी वडा सदस्यमा चुनाव लडेर जितेका हुन्। तर पछि उनी समन्वय समितिको अध्यक्षमा पराजित भए। अहिले उनी नेकपा एमाले जिल्ला कमिटिका सदस्य तथा आर्थिक विभाग प्रमुख हुन्।
२०५४ सालदेखि एमालेमा रहेर राजनीतिक यात्रा सुरु गरेका उनी २०५४ मा जिल्ला विकास समितिको सदस्य भएका थिए। अहिले पनि राजनीतिमा उनी त्यत्तिकै सक्रिय छन्।
राना मगरले नगरमा गर्नुपर्ने थुप्रै कामहरु देखेर आफू मेयरको प्रत्याशी भएको बताए। ‘म राजनीतिमा आइसकेपछि विकास गर्नुपर्छ भन्ने मेरा मान्यता हो। मैले सुन्दर गोदावरी नगरको कार्य योजना बनाइसकेको छु’, उनले भने।
राना मगरका मूख्य एजेन्डामा खानेपानी, सडक र ढल व्यवस्थापन छन। आफु आवद्ध पार्टी नेकपा एमालेको लहर देशभर बढिरहेको उनको दाबी छ। ‘त्यसैले हाम्रो जित हुन्छ भन्नेमा हामी ढुक्क छौं’, उनले भने। राना मगर चौबिस वर्षदेखि निरन्तर राजनीतिमा लागेको बताउँछन्। एसएलसीसम्मको पढाइ पुरा गरेका उनी राजनीतिमा लागेपछि निरन्तरता दिन नसकेको बताए।
‘गोदावरीमा इसाइ धर्मालवम्बीहरु धेरै हुनुहुन्छ उहाँहरुलाई मृतक आफन्तहरुको दाहसंस्कार गर्ने ठाउँको समस्या छ, मैले उहाँहरुसँग त्यो ठाउँको व्यवस्थापन गरिदिने बाचा गरेको छु’, त्यो पूरा गर्छु, उनले भने। ५३ वर्षीय मगरले आफ्नो राजनीति अनुभवलाई जितको आधार मान्छन्। ‘जीन्दगीको लामो समय राजनीति र जनताको सेवामा खर्चिएको छु, यसको प्रत्यक्षदर्शीमा मेरा नगरबासीहरु हुनुहुन्छ, यो नै मेरो जीतको प्रमुख आधार हो’, उनी भन्छन्।
यसैगरी गोदावरी नगरपालिकाका मेयरका अर्का प्रत्याशी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजकुमार महर्जन छन्। राजनीतिक अनुभवले उनी सबैभन्दा कान्छा छन्। राजकुमार स्वयमंले राजनीतिक यात्रा सुरु गरेको १ महिना मात्रै भएको बताउँछन्। गोदावरी नगरपालिका ११ चापागाउँ लुभुका ४२ वर्षीय राजकुमार एक दशकदेखि हाम्रो नेपाल हामी नेपाली अभियानमार्फत सामाजसेवामा लागेका व्यक्त हुन्। यो अभियान भ्रष्टाचारविरुद्धको समाज निर्माण गर्ने थियो।
‘साझा अभियानमा लागेर हरेक भ्रष्टाचार, महिला हिंसा, एमसीसी जस्ता थुप्रै मुद्दाहरुमा आवाज उठाइयो, न्यायका लागि कति ठाउँमा पुगियो। यतिका समयको अनुभवले राजनीति पनि चाँहीदो रहेछ भनेर अहिले राजनीति यात्रा सुरु गरेको हुँ।’ उनले भने। ‘मेरो प्रमुख एजेण्डा भ्रष्टाचारमुक्त समाज र देश निर्माण गर्नु हो। भ्रष्टाचार नै भएन भने सबै क्षेत्रको विकास गर्न सकिन्छ’, उनले भने।
प्रकाशित: २५ वैशाख २०७९ १५:४७ आइतबार





