९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

शान्ति मिसनमा नेपाली सेना बढे

यस वर्ष ४ हजार ५ सयभन्दा बढी जाने-
भोजराज भाट, काठमाडौं, पुस १३ - राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको सहभागिता गत वर्षको तुलनामा ४३ प्रतिशतले बढेको छ। सन् २००८ सम्म ३ हजार ३ सयको हाराहारीमा मिसनमा खटिँदै आएकोमा सन् २००९ डिसेम्बरसम्म ४ हजार ५ सयभन्दा बढी सैनिक जाने भएका छन्।

राष्ट्रसंघले चाड, सुडानको डाफरमा थप सेना पठाउन अनुरोध गरेपछि मिसनको संख्यामा बढेको हो। सेनाले कालीजंग गणका ८ सय ५० जनाको डफ्फामध्ये २ सय ३५ जना चाड पुगिसकेका छन्। बाँकी रहेका ५ सय ६५ सैनिक र ५० जना सैनिक प्रहरी केही साताभित्रै जाँदैछन्।


डाफरमा फोर्स कमान्डरको विशेष सुरक्षा गर्न २ सय ८ जना त्यसतर्फ जाने भएका छन्। हेडक्वार्टरको सुरक्षाका अतिरिक्त अन्य आइपरेका काम गर्न १ सय २७ जनाको रिजर्ब फोर्स डाफर पुगिसकेको छ। सेनाले यसबाहेक नियमित प्रक्रियाअन्तर्गत फागुनभित्रै नरसिंह दल गणका ७ सय १८ जनालाई हाइटी र वीरदल गणका ८ सय ५० जनालाई लेबनान पठाउने तयारी गरेको छ।

अहिले नेपाली सेनाबाट विभिन्न १३ वटा मिसनमा ३ हजार ५ सय ६ जना खटिएका छन्। 'सरकारले ५ हजारको सिलिङ गर्ने अख्तियारी दिएको छ, सन् २००९ सम्म ४ हजार ५ सय पुगेको छ', सैनिक प्रवक्ता सहायक रथी रमीन्द्र क्षेत्रीले नागरिकसित भने, 'अनुकूल मिले अझै ५ सय बढाउन सक्ने ठाउँ छ।'


नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाएको ३ वर्षपछि मिसनमा पठाउन थालेको हो। हालसम्म विभिन्न ३४ वटा मिसनमा पठाइसकेको छ। ५१ वर्षमा सेनाले ७५ हजार फौज पठाइसकेको छ। त्यसमा ५७ जना घाइते र ५४ जनाको मृत्यु भएको छ।

राष्ट्रसंघले चाड र लेबनानमा खटिने टोलीलाई बख्तरबन्द गाडी (एपिसी) सहित तैनाथ हुनुपर्ने प्रावधान तोकेको छ।
सेनामा जवानका हकमा ६ वर्ष सेवा अवधि गरेकालाई मात्र मिसनमा पठाउने न्यूनतम मापदण्ड तोकिएको छ। अधिकृतका हकमा वरिष्ठका हिसाबले पालैपालो मिसनमा खटाइने गरिएको छ।

राष्ट्रसंघले ६ महिनाको मिसनमा खटिएका वालाले मासिक एक हजार २८ अमेरिकी डलर तलब दिन्छ। त्यसमध्ये २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा जाने गरेको छ।

फोर्स कमान्डरको अनुभव संगालेका पूर्वरथी बालानन्द शर्मा मिसनमा नेपालले ९ हजार सेना पठाएर विश्वभर शान्ति ल्याउने कुरामा छुट्टै पहिचान देखाएको बताउँछन्। 'मिसनको सहभागिताले सेनालाई मात्र नभई देशकै गौरव बढाएको छ,' शर्माले भने, 'व्यक्तिगतरुपमा सबै जवानले आर्थिक हैसियत बढाउने मौका पाएका छन्।'

शान्ति मिसनमा फौज पठाउनेमध्ये नेपाल पाँचौ स्थानमा छ। पहिलो स्थानमा रहेको बंगलादेशले ६ हजार सेना मिसनमा पठाउँछ। त्यसपछि पाकिस्तान दोस्रो, भारत तेस्रो र केन्या चौथो स्थानमा छन् ।


तलब रकम कट्टा रकम
मासिक तलब १०२८ डलर २२६.६ डलर कोषमा
मासिक भत्ता ६८ डलर पाँच महिनाको कोषमा जाने
व्यक्तिगत हतियार तथा तालिम ५ डलर सबै कोषमा
विशेषज्ञ भत्ता ३०३ डलर सबै कोषमा
दैनिक भत्ताप्रति जवान ३८.४ डलर मिसनमा पाउने
६ महिनामा ७ दिन बिदा भत्ता प्रति जवान ७३.५० डलर मिसनमा पाउने

 

प्रकाशित: १२ पुस २०६६ १६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App