१६ चैत्र २०८० शुक्रबार
राजनीति

पहिले जिल्ला सभापतिलाई हराए, अब केन्द्रीय सदस्यलाई हराउँछुः चिरीबाबु

ललितपुर महानगरपालिकाको मेयरमा प्रमुख राजनीतिक दलहरु नेपाली कांगेस र नेकपा एमालेले अघिल्लो चुनावका उम्मेदवारलाई निरन्तरता दिएका छन्। कांग्रेसले निवर्तमान मेयर चिरीबाबु महर्जनलाई नै अघि सारेको छ भने एमालले चिरीबाबुबाट करिब ३ सय २६ मतले पराजित हरिकृष्ण व्यञ्जनकारनै उम्मेदवार बनाएको छ।

चिरीबाबु भन्छन्, ‘अघिल्लो पटक हराउँदा उहाँ एमालेको जिल्ला सभापति हुनुहुन्थ्यो। अहिले केन्द्रीय सदस्य हुनुहुन्छ।’ अघिल्लो पटक व्यञ्जनकारलाई झिनो मतले जितेका चिरीबाबुले यस्तो भन्छन्, ‘यसपटक १५ हजार मतमा हारजित हुन्छ। र, नगर कार्यपालिका र नगरसभामा स्पष्ट बहुमत आउँछ।’

यसअघिको चुनावी घोषणा पत्रमा उल्लेख प्रतिबद्धतामध्ये ९० प्रतिशत पूरा गरेको उनको दाबी छ। आगामी ३० गतेको स्थानीय निकायको निर्वाचनमा पाँच दलिय सत्तारूढ गठबन्धनका उम्मेदवार महर्जन यसअघिको कार्यकालमा ९० प्रतिशत काम पूरा गरेको बताउँछन्।

महर्जन भन्छन्, ‘२०७४ सालमा निकालेको घोषणापत्रमा उल्लेख प्रतिबद्धताहरुमध्ये ९० प्रतिशत पुरा गरेको छु।’ ‘मैले यस अवधिमा घोषणा पत्रमा उल्लेख गरेका भन्दा बढी नै काम गरेको छु। थप काम गरेको कारण नगरवासी पनि खुशी छन्’ महर्जन भन्छन्, ‘मैले भुकम्पले क्षति भएका सम्पदा क्षेत्र, मठ मन्दिर, शिवालय देवालय, पुराना घरहरुको पुन: निर्माण सम्पन्न गरे। म सम्पदा प्रेमी भएको र यही जन्मेर हुर्किएकाले समेत जात्रा पर्वहरुमा परिचित छु र त्यसको संरक्षणमा म केन्द्रित रहे।’

विशेष गरी सांस्कृतिक सम्पदाको संरक्षणमा आफूले महत्वपूर्ण योगदान गरेकोे उनको दाबी छ। राजधानी काठमाडौँसंगै जोडिएको सांस्कृतिक नगरी ललितपुर महानगरमा नेपाली कांग्रेसले पुनः अर्को कार्यकालका लागि चिरीबाबु महर्जनलाई उम्मेदवारका रुपमा अघि सारेको हो। स्थानीय सरकारको पहिलो कार्यकाल र नीति निर्माणको पहिलो चरण भएकाले सुरुका ६ महिना त्यसमै अल्मलिएको महर्जन स्मरण गर्छन्।

आफूले सञ्चालनमा ल्याएका विभिन्न योजना परियोजना समेत पूरा गर्न पनि मेयरमा पुनः दोहोरिन खोजेको उनको दाबी छ। ‘पहिलो ६/७ महिना हामीलाई अप्ठेरो पर्‍यो।  किनभने कानुन पनि थिएन। त्यसले हामी अलि पछाडि परे जस्तो भयो। त्यसका बाबजुद पनि हामीले सबैको सहयोगले काम गर्‍यौं। तत्पश्चात कोभिडले आफूतिर ध्यान खिच्यो। त्यस बेला पनि हामीले निकै राम्रो काम गर्‍यौं’, उनी अगाडि भन्छन्, ‘केही बहुवर्षीय कामहरु अहिलेसम्म पूरा भइनसकेका कारण यसलाई पूर्णता दिन पुनः एक पटक महानगरको जिम्मेवारी पाए सबै काम पूरा हुन्छ भन्ने मेरो ठम्याइ हो।’

कांग्रेसले स्थानीय तह निर्वाचनमा ललितपुरको मेयर, उपमेयरसहित १० वटा वडामा जित हासिल गरेको थियो। महानगरका २९ वडामध्ये १४ वटामा एमाले ४ मा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। जसका कारण ललितपुरको नगर कार्यपालिकामा महर्जन अल्पमतमा थिए। नगर कार्यपालिका मात्रै होइन, नगरसभामा समेत उनी अल्पमतमा थिए। नगरसभामा कांग्रेसका ४४ सदस्य मात्रै थिए। जसका कारण नीति निर्माण र बजेट पारितमा समेत अप्ठेरोमा परेका थिए।

‘त्यो बेला मेरो कार्यापालिका सदस्य मध्ये मेरो पक्षमा १२ जना मात्रै थिए। नगरसभामा एक सय ४६ हुनु पर्नेमा मेरो ४२ जना मात्रै थिए। त्यो भनेको करिब एक तिहाइ हो। त्यसकारण महाभारत परेकै थियो।’ दोस्रो कार्यकालका लागि चुनावी अभियानमा रहेका महर्जन यस पटक कार्यपालिका र नगरसभामा बहुमत ल्याउनेमा ढुक्क छन्।

उनी भन्छन्, ‘अहिले जहाँसम्म लाग्छ मेरो स्पष्ट बहुमत हुन्छ। दुई तिहाइ नै हुन्छ भनेर धाक लगाउन त हुँदैन। तर कार्यपालिका र नगरसभा दुवैमा स्पष्ट बहुमत हुन्छ।’ प्रमुख प्रतिपक्षी एमालेले पनि यसअघिका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ।

२०७४ सालको निर्वाचनमा यी दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भएको थियो। महर्जन र व्यञ्जनकारबीच हारजित हुँदा ३ सय २६ मत मात्रै फरक परेको थियो। मेयरमा निर्वाचित महर्जनले २४ हजार ६ सय ४२ र प्रतिद्वन्द्वी व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए।

यसपटक निर्वाचनमा दुवै पार्टीबाट उम्मेदवार दोहोरिए पनि चुनावी माहोल र तालमेलको अवस्था केही फरक छ। कांग्रेस उम्मेदवार महर्जनलाई सत्तारूढ गठबन्धनको साथ छ। उनले एक कार्यकाल काम पनि गरिसकेका छन्। महर्जनले गरेका कामलाई नै यसपटक मतदाताले मूल्यांकन गर्दै पुनः भोट दिने गठबन्धनका उम्मेदवार महर्जनको  विश्वास छ।

२०७४ सालमा एमालेको लाल किल्ला जस्तो ठाउँमा जितेका कारण यस पटक आफूलाई अझ सहज भएको उनी बताउँछन्। यस पटक पनि आफ्नो प्रमुख प्रतिस्पर्धा व्यञ्जनकारसँगै भएको उनीको बताउँछन्।

‘मेरो भाग्यवस यसपटक पनि हिजो मैले हराएको व्यक्ति नै मेरो प्रतिस्पर्धी हुनुहुन्छ, हरिकृष्ण व्यञ्जनकार। उहाँ नेकपा (एमाले)को केन्द्रिय सदस्य पनि हुनुहुन्छ। हिजोको अवस्थामा उहाँ जिल्ला सभापति हुनुहुन्थ्यो। जिल्ला सभापतीलाई हराए अब केन्द्रीय सदस्यलाई पनि हराउन पाउँनु मैले सुवर्ण अवसर पाउँदै छु’ मुस्कुराउँदै महर्जन भन्छन्।

यसपटक अघिल्लो निर्वाचनको तुलनामा ५० गुणा मतान्तरले जित हाँसिल गर्ने चिरीबाबु महर्जनको विश्वास छ। ‘मैले पहिला ३ सय २६ मतले जितेको थिए। त्यो भनेको महानगर जस्तो ठाउँमा सानो फरक हो। तर अहिले त्यो भन्दा ५० गुणा बढीको फरक मत ल्याउन्छु’ उनी अगाडि भन्छन्, ‘१५ हजार मतान्तरले विजयी हुन्छु।’

प्रकाशित: २५ वैशाख २०७९ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App