८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्डको धम्कीसँग प्रधानमन्त्री देउवा डराए: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीबाट डराएको बताएका छन्।

शनिबार धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले चितवनमा प्रचण्डले आफ्नी छोरी रेणु दाहाल नजिताए देशमा दुर्घटना हुन्छ भनेर दिएको धम्कीबाट प्रधानमन्त्री देउवा डराएको बताएका हुन्।

प्रचण्डले धम्की दिएको भोलिपल्ट (शुक्रबार) काठमाडौंमा आयोजित चुनावीसभामा देउवाले रेणु दाहाललाई प्रचण्डले नभई आफूले नै भरतपुरको मेयरमा उठाएको भन्दै निरिहता प्रकट गरेको ओलीको टिप्पणी थियो।

‘प्रचण्डले मेरी छोरीलाई जिताएन भने दुर्घटना हुन्छ भन्दै थर्काए। हिजो कांग्रेसका सभापतिले काठमाडौंमा जनताको अघि कति कमजोर बयान दिए भने प्रचण्डले त आफ्नी छोरी उठाउन खोजेकै होइन, मैले उठाउनुस् भनेर पो उठाएको भने। प्रचण्डबाट थर्किएर प्रधानमन्त्रीले उहाँले होइन, मैले उठाएको हो पो भने,’ ओलीले भने।

ओलीले आफू आइतबार चितवनका जनतालाई प्रचण्डको छोरीलाई भोट दिइरहनु पर्दैन भनेर आह्वान गर्ने पनि बताए। उनले भने, ‘म भोलि चितवन जादैछुँ, म चितवनका जनतालाई भन्छु, तपाईंहरूले प्रचण्डका छोरीलाई भोट दिनु पर्दैन, प्रचण्डसँग थर्किनुपदैन। भोट दिएन भने? भन्या छ। दिएन भने के हुन्छ ? चिसो पानीले नुहाउने कथा छ नि, त्यही हुन्छ।’

यसैगरी विराटनगरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनलाई असार १७ गते संकट रहेको बताएका छन्। उनले गठबन्धनलाई असार १७ गते संकट रहेकाले कुनकुन ग्रह दसाले घेरेको छ भनेर हेर्न प्रधानमन्त्री देउवालाई आग्रह गरे।

शनिबार विराटनगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले 'प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिशमा विश्वास गर्ने भएकाले उहाँको ज्याेतिस अनुसार असार १७ गते गठबन्धनलाई दशाले घेरेको' देखिएको बताए। उनले भने, ‘कुन कुन ग्रहको दासाले घेरेको छ।'

एकपटक ज्योतिषीलाई देखाउन प्रधानमनत्री शेरबहादुर देउवालाई आग्रह गर्दछु।’ ओलीले आम निर्वाचनसम्म गठबन्धन टिक्न नसक्ने ठोकुवा गरे। उनले गठबन्धनमा धमिरा लागिसकेकाले आम निर्वाचनसम्म जान नसक्ने ठोकुवा गरेका हुन्। ओलीले नेपाली कांग्रेस कुहिएको ढोडको लौरो टेकेर सगरमाथा चढ्ने दुष्प्रयास गरिरहेको बताए।

ओलीले गठबन्धनका नेताहरूलाई कुर्सीले समेत धिकारीरहेको बताए। उनले बोल्नै नजान्ने नेताले काम पनि गर्न नजान्ने भन्दै गठबन्धनका नेतालाई निर्वाचनमा जनताले पछार्ने दाबी गरे। उनले विराटनगरको मेयर र उपमेयरमा एमालेका उमेदवारलाई जिताए विराटनगरको विकासको जिम्मा लिन आफू तयार रहेको स्पष्ट पारे।

यसैगरी, इटहरीमा बोल्दै ओलीले गठबन्धन सफल हुनु कुहिएको ढोडको लौरो टेकेर सगरमाथा चढनुजस्तै भएको टिप्पणी गरेका छन्। उनले कांग्रेस जहिले उल्टो बाटोमा हिड्ने गरेको जिकिर गर्दै ढोंडको लौरोको बैसाखी टेकेर सगरमाथा चढ्न कल्पना गर्न नसकिएजस्तै गठबन्धन सफल नहुने दाबी गरे।

‘गठबन्धनमा काँग्रेसको भिउने अहंकारी, विभिन्न पार्टीलाई बेहाल बनाएका व्यक्ति छन्,’ उनले भने, ‘गठबन्धभित्र बेहाल छ, कुनै हालतमा सफल हुने वाला छैन।’ उनले गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतली भएको टिप्पणी गर्दै गठबन्धनको कुनै गन्तब्य र के गर्ने उद्देश्य नभएकाले गर्दा औचित्य नभएको जिकिर गरे।

उनले गठबन्धनले देश चलाउन कुनै हालतमा नसक्ने पनि जिकिर गरे। ‘वडामा चुनाब लड्न गठबन्धन गर्नेले कसरी देश चलाउन सक्छन्,’ ओलीले प्रश्न गरे, ‘वैशाख ३० पछि गठबन्धनलाई एउटै बट्टामा प्याक गरिदिए हुन्छ।’

प्रकाशित: २५ वैशाख २०७९ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App