३० कार्तिक २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

देशैभर छठ पर्वको रौनक

अस्ताउँदो सूर्यलाई अर्घ, ३६ घन्टासम्म निर्जल व्रत, जनतासँग जोडिने अवसर

लोकआस्था, प्रकृतिप्रेम, आत्मसंयम र सांस्कृतिक पहिचानको अनुपम संगमका रूपमा स्थापित छठ महापर्वले यतिबेला पहाड र तराई–मधेसलाई सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्वको अनुपम स्थल बनाएको छ। घरआँगनदेखि गाउँबस्ती, नदी, पोखरी तथा जलाशयका किनारसम्म छठीमाताको महिमा गाउने लोकभाका गुन्जिरहेका छन्।

संसारलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्ने सूर्यदेवको आराधना नै छठ पर्वको मूल विशेषता हो। प्रकृतिका प्रत्यक्ष देवताका रूपमा पूजिने सूर्यप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई श्रद्धाका साथ अर्घ अर्पण गरिन्छ।

धार्मिक परम्पराअनुसार छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई बिहानको अर्घ अर्पण गरी पर्व समापन गरिन्छ। पौराणिक मान्यताअनुसार त्रेतायुगमा भगवान् श्रीराम र माता सीता लंका विजय गरेपछि अयोध्या फर्किएर राज्याभिषेकका अवसरमा सूर्यदेवको उपासना गरेको र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेको विश्वास गरिन्छ।

त्यस्तै महाभारतकालमा सूर्यपुत्र कर्णले सूर्यदेवको नियमित आराधना गर्ने गरेको तथा द्रौपदीले पाण्डवहरूको सुख, समृद्धि र संकट निवारणका लागि सूर्य उपासना गरेको प्रसंग पनि छठ पर्वको धार्मिक महत्वसँग जोडिएको पाइन्छ।

छठ महापर्व धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यो मधेसको लोकसंस्कृति, साहित्य, परम्परागत सीप, कृषि उत्पादन र सामुदायिक जीवनको अभिन्न हिस्सा हो। छठका अवसरमा प्रयोग हुने बाँसका सुप, दउरा, माटाका भाँडा तथा स्थानीय फलफूल र कृषि उपजले ग्रामीण अर्थतन्त्र र परम्परागत हस्तकलालाई समेत जीवन्त राख्न मद्दत पु¥याउँदै आएका छन्।

छठका लोकगीतमा अभिव्यक्त हुने आमा र सन्तानबिचको आत्मीयता, पारिवारिक सुखको कामना, प्रकृतिप्रतिको सम्मान र धार्मिक समर्पणले यस पर्वलाई लोकसाहित्यका दृष्टिले पनि विशिष्ट बनाएको छ। पुस्तौंदेखि मौखिक परम्परामार्फत हस्तान्तरण हुँदै आएका यी गीत मधेसी समाजको सांस्कृतिक स्मृति र पहिचानका अमूल्य सम्पदा हुन्।

उदाउँदो सूर्यको प्रतीक्षामा छठ घाट

आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ अर्पण गरेपछि छठव्रतीहरू रातभर कठोर व्रत र आराधनामा रहनेछन्। छठ घाटहरू दीपको उज्यालो, लोकगीतको मधुर धुन र भक्तिभावले गुन्जायमान हुनेछन्। त्यसपछि भोलि सोमबार बिहान सूर्यका प्रथम किरणसँगै व्रतालुहरूले उदाउँदो सूर्यलाई दोस्रो अर्घ अर्पण गरी ३६ घन्टे निर्जल तथा निराहार व्रत समापन गर्नेछन्।

यसरी छठ महापर्व मधेसको धार्मिक आस्थाको पर्व मात्र नभई लोकजीवन, साहित्य, संस्कृति, सभ्यता र सामूहिक पहिचानको जीवन्त दस्तावेज बनेको छ। पुस्तौंदेखि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको यो सांस्कृतिक सम्पदा आज पनि उस्तै श्रद्धा, निष्ठा र उत्साहका साथ निरन्तरता पाइरहेको छ। यही लोकआस्थाको महासागरमा डुबेको मधेसले छठमार्फत आफ्नो मौलिक पहिचान र सांस्कृतिक गौरवलाई पुनः उजागर गरिरहेको छ।

सूर्यदेवको उपासना र आस्थाको पर्व छठले काठमाडौंका विष्णुमती, बागमती नदी किनार, रानीपोखरीलगायतका स्थानमा पनि विशेष रौनक थपेको छ। तराई–मधेसमा विशेष उत्साहका साथ मनाइने छठ पर्व काठमाडौंको कालीमाटी र टंकेश्वर क्षेत्रमा विगत ९० वर्षदेखि परम्परागत रूपमा मनाइँदै आएको छ। पुस्तौंदेखि चल्दै आएको यो परम्पराले राजधानीको धार्मिक तथा सांस्कृतिक विविधतालाई समेत झल्काएको छ।

कालीमाटी, विष्णुमती नदी किनार र टंकेश्वर क्षेत्रमा छठ पूजाका लागि घाट निर्माण तथा व्यवस्थापन गरिएको थियो। छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरू पूजाका सामग्रीसहित नदी किनार पुगे। परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनीहरूले विधिपूर्वक सूर्यदेवको पूजा गरे। कालीमाटी–टंकेश्वर क्षेत्रमा करिब नौ दशकदेखि छठ मनाउने परम्परा रहनु आफैंमा ऐतिहासिक र सांस्कृतिक महत्व छ।

भक्तपुर नगरपालिका– १० नगरकोट बसपार्कसँगै रहेको कमलपोखरीमा यस वर्ष पनि हजारौंको सहभागितामा छठ पर्व मनाइएको छ, जहाँ सयभन्दा बढी व्रतालु तथा भक्तजन प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तिरेर पर्व मनाउन जुटेका थिए। पोखरी परिसरलाई बेहुली झैं सिँगारिएको छ। व्रतालु तथा भक्तजनको सुविधाका लागि पोखरीको दक्षिण र पूर्वी किनारमा टेन्ट राखिएका छन्।

तराईलाई मूल घर बनाई हाल भक्तपुर तथा आसपासका क्षेत्रमा बसोवास गर्दै आएका मात्र होइन, काठमाडौंको कोटेश्वर र काभ्रेको बनेपालगायत स्थानबाट समेत भक्तजन यहाँ आइपुग्ने गरेका छन्। हरेक वर्ष सयौंको सहभागितामा सामूहिक रूपमा छठ मनाइँदै आएकोमा यो वर्ष पनि उल्लेख्य सहभागिता छ।

विश्वेश्वर श्रेष्ठका अनुसार यहाँ प्रत्येक वर्ष धुमधामका साथ छठ पर्व मनाइन्छ। विगतका वर्षमा पोखरीपरिसर भक्तजनले भरिभराउ हुने गरेको स्मरण गर्दै उनले विशेषगरी तराई मूलका नेपालीको उल्लेख्य सहभागिता रहने गरेको देखिएको बताए।

भक्तपुर नगरभित्र ३४ वटा साना–ठुला पोखरी छन्, तीमध्ये कमलपोखरी छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा परिचित छ। तराईको पहिचानका रूपमा स्थापित छठ पर्व भक्तपुरको कमलपोखरीमा आइपुग्दा भूगोल र समुदायको सीमाभन्दा माथि उठेको छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुका ७९ स्थानमा आइतबार छठ पर्व मनाइएको छ। कपिलवस्तु नगरपालिका– १ चपरतल्लास्थित जमुहार नाला, बाणगंगा नदीको रामघाटलगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै छठ पर्व मनाइएको हो। छठलाई पवित्रता र सद्भावको पर्व मानिन्छ।

यस्तै पकडी कृष्णनगर, डंगरी बहादुरगन्जका नदी, पोखरी र नहरमा समेत सामूहिक रुपमा छठ पर्व मनाइयो। जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष नदीनाला, तलाउ र पोखरीमा गरी कपिलवस्तुमा ७९ स्थानमा छठ स्थान निर्माण गरिएको छ। जमुहार नालामा ३ हजार हजार र रामघाट नदीमा ५ हजार बढीले अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाआजा गरेका थिए। उनीहरूले सामूहिक रूपमा पूजापाठसमेत गरेका थिए।

पूजाआजामा मधेसी, पहाडी, नेवार समुदाय सहभागी थिए। छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, शान्ति र समृद्धिका साथै सन्तान प्राप्ति र रोगव्याधीसमेत निको हुने जनविश्वास छ। यसैगरी मोरङका जलाशयहरूमा पनि छठ पर्व मनाउन उल्लेख्य उपस्थिति देखियो।  

पोखरा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ। पछिल्ला वर्षमा सामूहिक छठ पूजा गर्नेको भीड लाग्ने गरेको छ। पोखराका फेवाताल किनार, नारायणस्थान मन्दिरपरिसर, कालीखोला किनार र भद्रकाली मन्दिरनजिकको कमलपोखरी किनारमा आयोजित सामूहिक छठ पूजामा हजारौं छठी माताका भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ दिए।

२७ वर्षदेखि नारायणस्थान मन्दिरपरिसरमा छठ पूजा हुँदै आएको छ। त्यस्तै विगत ७/८ वर्षदेखि कालीखोला र १०/१२ वर्षदेखि कमलपोखरीमा छठ पूजा हुँदै आएको छ। सर्वाधिक भक्तजनको भीड लाग्ने फेवाताल किनारमा भने भारतीय र नेपाली भक्तजन सरोबरी हुने गरेको नेपाल भारत (एनबी) व्यवसायी समितिका अध्यक्ष भुनेस कुमारले जानकारी दिए।

पोखराका चारै स्थानका छठ घाटलाई व्यवस्थित बनाइएको छ भने ध्वजापताका र बत्तीले सजिसजावट गरिएको छ। पूजा गर्नका लागि व्यवस्थित ठाउँ बनाइएको छ भने आलोपालो गरेर पूजा गर्ने व्यवस्था मिलाइएको नारायणस्थानस्थित नीलकण्ठ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोदप्रसाद गुप्ताले बताए।

नेताको उल्लेख्य उपस्थिति

मधेस प्रदेशको लोकआस्था, धार्मिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको छठ महापर्वमा यस वर्ष राजनीतिक नेतृत्वको उल्लेख्य उपस्थिति रहेको पाइएको छ। संघीय राजधानी काठमाडौंमा राजनीतिक गतिविधिमा व्यस्त रहने विभिन्न दलका शीर्ष नेताहरू छठ मनाउन मधेसका गाउँबस्ती तथा धार्मिकस्थलसम्म पुगेका छन्। राजनीतिक नेतृत्वको यो उपस्थितिले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वसँगै मधेसको राजनीतिक र सामाजिक महत्वलाई समेत उजागर गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकितासहित शनिबार जनकपुरधाम आइपुगेका छन्। उनी जनकपुरस्थित ऐतिहासिक गंगासागरमा आयोजित छठ महापर्वको पूजामा सहभागी हुन जनकपुर आएका हुन्। काठमाडौंंबाट जनकपुर पुगेका लामिछानेलाई स्वागत तथा भेटघाट गर्न मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।

स्वास्थ्यमन्त्री निशा मेहता पनि छठ महापर्व मनाउन महोत्तरीस्थित आफ्नो पुख्र्यौली घर पुगेकी छन्। नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि छठ पर्व मनाउन आफ्नो गृहजिल्ला रौतहट आइपुगेका छन्।

मदन ठाकुर, उपेन्द्र यादव,  रूबी रौनियार, कृष्ण किसी, सन्देश श्रेष्ठ, चुमन बस्नेत, बिनोद सुवेदी, किरणमान बज्राचार्य, महेश्वर चामलिङ राई  

प्रकाशित: ३० कार्तिक २०८३ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App