गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। खसेको मतमा १ लाख ९९ हजार ८५ मत मात्रै सदर भयो। बाँकी १९ हजार २ सय ५४ मत बदर भयो।
त्यसमा पनि ५ हजार ५ सय ९३ मत पूर्ण रूपमा बदर भयो। मतपत्रमा लगाइएका छापमध्ये कुनै पनि काम नलाग्ने अवस्था हुनुलाई पूर्ण रूपमा बदर मानिन्छ। त्यतिबेला निर्वाचन आयोगमार्फत जिल्लाभरि एक महिने निर्वाचन शिक्षा कार्यक्रम पनि सञ्चालन भएको थियो।
तीन सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाइएका थिए। तर बदर मत धेरै देखिँदा निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नभएको विश्लेषण गर्न सकिन्छ। मतदाताहरूले मतपत्रमा ल्याप्चेसमेत लगाएको भेटिएको थियो। स्थानीय निर्वाचनको पाँच महिनापछि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या झनै बढ्यो।
त्यतिबेला जिल्लामा बदर भएको मत संख्या २५ हजार ६ सय ८५ थियो। प्रतिनिधिसभातर्फको १३ हजार ७ सय १६ मत र प्रदेशसभातर्फको ११ हजार ९ सय ६९ मत बदर भएको थियो। त्यो बेला तीन निर्वाचन क्षेत्र रहेको दाङमा कुल २ लाख २९ हजार ४ सय ९८ मत खसेको थियो। दाङमा मात्रै होइन, लुम्बिनी प्रदेशका १२ जिल्लामा खसेको कुल १७ लाख बढी मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ लाख ६० हजार ४ सय ४४ मत बदर भएको थियो।
सरकारले निर्वाचन शिक्षा कार्यक्रमका लागि हरेक निर्वाचनमा करोडौं रकम खर्च गर्दै आएको छ। निर्वाचन आयोगका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि २२ करोड रुपैयाँ मतदाता शिक्षा कार्यक्रमका लागि भनेर खर्च गरिँदैछ। तर यो रकम भने अघिल्लो स्थानीय तहको निर्वाचनका बेलाभन्दा कम हो। अघिल्लो स्थानीय तहको निर्वाचनमा ८५ करोड रुपैयाँ निर्वाचन शिक्षा कार्यक्रमका लागि छुट्याइएको थियो।
करोडौं रकम खर्च गर्दा पनि बदर मत घट्नुको साटो झन् बढ्दै गएको निर्वाचन आयोगकै तथ्यांकले स्पष्ट पार्छ। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा देशभर कुल ४ प्रतिशत मत बदर भएकोमा त्यसअघिका निर्वाचनमा साढे ३ प्रतिशतसम्म मत बदर भऐको थियो। प्रत्येक मतदाताको घरमा पुगेर सही ढंगले मत हाल्ने तरिका सिकाउँदै आएको निर्वाचन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनमा भने मतदाताका घर केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम गरेको छैन।
फलतः अहिले बदर मत संख्या झनै बढ्ने सम्भावना देखिएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार वैशाख २८ र २९ गते दुई दिन मात्रै मतदान केन्द्रमा दुई प्रतिनिधि खटाएर मतदान गर्ने तरिका सिकाइने भएको छ।
‘कोही सिक्न आउन चाहेको खण्डमा वैशाख २८ र २९ गते दुई दिन मतदान केन्द्रमा दुई प्रतिनिधि खटाएर मत हाल्ने तरिका सिकाउने कार्यक्रम छ,’ प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले भने, ‘यसपालि घरघरमा गएर मत हाल्ने तरिका सिकाउने कार्यक्रम नगर्ने निर्णय आयोगले गरिसकेको छ।’
उनले आफूहरूले चुनावमा होमिएका राजनीतिक दलहरूलाई मतदाता शिक्षा प्रदान गर्न अनुरोध गरेको र दलहरूले आआफ्नो चुनावी प्रचारका क्रममा मतदान गर्ने सही तरिकाबारे सिकाइरहेको जानकारी पाएको बताए। ‘सही तरिकाले आफ्ना मतदाताहरूलाई कसरी मतदान गर्ने भनेर सिकाउने प्रमुख दायित्व दलहरूको पनि हो,’ भण्डारीले भने, ‘हामीले चुनावमा सहभागी दलहरूलाई यसबारे अनुरोध गरेका पनि छौं ।’
तर, यसअघि घरदैलो गरेरै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिँदा समेत बदर मत बढिरहँदा अहिले यो शिक्षा नचलाइँदा बदर मत झनै बढ्ने आशंका गर्न सकिन्छ। ‘विगतका निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिँदा पनि मतपत्रमा ल्याप्चे हानिएका थिए,’ महेन्द्र बहुमुखी क्याम्पस घोराहीका राजनीतिशास्त्रका प्राध्यापक सुदीप गौतमले भने, ‘अहिले निर्वाचन शिक्षा कार्यक्रम नै नचलाइँदा बदर मत बढ्ने खतरा स्वाभाविकै रहन्छ ।’
उनका अनुसार यो कार्यक्रम नचलाइँदा थपिएका नयाँ मतदातामा थप अन्योल रहन्छ। पहिलोपटक मत हाल्दा उनीहरूलाई अन्योल हुने र मत प्रयोग गर्दा गल्ती गर्न सक्ने खतरा रहन्छ। ‘पहिलेदेखि नै मत हालिरहेका मतदाताहरूबाटै मत बदर भएको हुन्छ,’ गौतमले भने, ‘नयाँ मतदाता थपिएका छन्, उनीहरूले पहिलोपटक मत हाल्दा उनीहरूमा अन्योल पैदा हुन्छ अनि मतदान गर्ने ज्ञानबिना मतदान गर्दा बदर हुने खतरा रहन्छ।’
अहिले निर्वाचन शिक्षा कमजोर भएसँगै सत्तारूढ गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्दा बदर मत बढ्न सक्ने अर्को खतरा देखिन्छ। गठबन्धनमा आबद्ध दलहरूमध्ये मतपत्रको एउटा पेजमा माओवादीको र अर्को पेजमा कांग्रेसको चुनाव चिह्न छ। एउटा पेजमा गएर एउटा दललाई र अर्को पेजमा गएर अर्को दलको चिह्नमा मतदान गर्दा मतदाता झुक्किने र बदर हुन सक्नेतर्फ गठबन्धनमा आबद्ध दलहरू सचेत बनेका छन्।
जसले गर्दा उनीहरूले प्रत्येक चुनावी प्रचारका कार्यक्रममा नमुना मतपत्र देखाएर सही मतदान गर्ने तरिकाबारे सिकाइरहेका छन्। ‘अहिले मतपत्रको बनोटले गठबन्धनमा आबद्ध दलसँग निकट मतदाता झुक्किने खतरा छ,’ गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिकाका उपमेयर पदका उम्मेदवार कांग्रेसका भूपबहादुर डाँगीले भने, ‘यो अन्योल नहोओस् भनेर हाम्रा साथीहरूले सही तरिकाले मत हाल्ने तरिका पनि चुनावी प्रचारसँगै सिकाइरहनुभएको छ।’
यसैगरी वडाध्यक्ष तथा वडा सदस्यमा समेत गरिएको गठबन्धनमा आबद्ध दलहरूको भागबन्डाका कारण मतदानमा अझ झन्झट हुने देखिन्छ। तालमेल भएका स्थानमा वडा अध्यक्षदेखि वडा सदस्यमा समेत भागबन्डा गरिएका छन्। ‘वडाध्यक्ष एउटा दलको अनि दुई खुला सदस्यमध्ये एउटा एक दललाई अनि अर्को दललाई भागबन्डा भएको छ,’ डाँगीले भने ‘सदस्यहरूमा भागबन्डा गरिएका आधारमा कुन उम्मेदवारलाई कुन चुनाव चिह्नमा मत हाल्ने भन्ने जटिलता पनि देखिएको छ।’
गठबन्धन पक्षीय मतदाताहरू कसरी मत हाल्ने भन्नेमा अनभिज्ञ देखिएका छन्। फलतः उनीहरूले आफ्ना उम्मेदवार र उम्मेदवारको चिह्न नपहिल्याए अन्धाधुन्ध मतदान हुने सम्भावना देखिन्छ। यसले अहिलेको स्थानीय तहको निर्वाचनमा बदर मत संख्या बढाउने आशंका गरिएको छ।
‘पहिला दलहरूले मतपत्रमा लहरै रहेका आफ्ना चुनाव चिह्नमा मत प्रयोग गर्न मतदाताहरूलाई सिकाउँथे,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक गौतम भन्छन्, ‘तर अहिले गठबन्धनका साझा उम्मेदवारहरू रहेकाले सात स्थानमा मत हाल्दा फरकफरक चुनाव चिह्न छनोट गर्नुपर्नेसम्मको बाध्यता छ, यसर्थ मतदताहरूले सही गठबन्धनका उम्मेदवारहरूका फरकफरक चुनाव चिह्न पहिचान गर्न सकेनन् भने मतदानमा अलमल हुन्छ अनि अलमलमा मतदान गर्न मत नै बदर हुने खतरा अहिले छ।’
प्रकाशित: २५ वैशाख २०७९ ००:३९ आइतबार