८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमा ७० किसिमका सामाग्री प्रयोग हुने

सियो, धागो, सलाईदेखि यो पटक माक्स र स्यानीटाइजरसम्म

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ७० किसिमका सामाग्री प्रयोगमा आउने भएका छन्। कोरोना कहरपछि हुन लागेको यो चुनावको सामाग्रीमा माक्स र स्यानिटाइजर थपिएका छन्।  

निर्वाचन आयोगले चुनावमा प्रयोग हुनेमध्ये ५५ किसिमका सामाग्री केन्द्रबाटै जिल्ला–जिल्लामा पठाएको छ। बाँकी १५ किसिमका सामाग्री भने सम्वन्धित जिल्ला निर्वाचन कार्यालयले व्यवस्थापन गर्नुपर्ने आयोगले जनाएको छ। ‘आयोगले यो निर्वाचनमा ५८ प्रकारका ७० थरी सामाग्री प्रयोगमा ल्याउँदैछ,’ सिन्धुपाल्चोकका जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले भने।  

उनका अनुसार ती चुनावी सामाग्री मतदान केन्द्रदेखि मतगणनासम्म प्रयोगमा आउँछन्। धेरै मतदान केन्द्रमा र केही सामाग्री मतगणनामा प्रयोग हुन्छन् । आयोगको सूचीमा समान्यभन्दा सामान्यदेखि महत्वपूर्ण सामाग्री छन्। सलाई, सियो, धागो, कोरा कपडाका थैला, डोरी, कालो र रातो रंगका कलम, पिन, एस्टाब्लर, पञ्चिङ मेसिन, लाहा, रबर र पित्तलको स्वस्तिक छाप, रंगिन र श्यामस्वेत फोटासहितको मतदाता नामावली, मतपेटिका छेकबार, नेपाली कागज, फोटोकपी पेपर चुनावमा प्रयोगमा आउने सामान्य सामाग्री हुन्।  

भित्र, बाहिर, महिला, पुरुष, मतदाता क्रम संख्या संकेत गर्ने प्लेकार्ड, परिचयपत्र आयोगतले नै पठाएको छ। उम्मेदवार, कर्मचारी, दलका प्रतिनिधि लगायतका लागि पाँच किसिमका परिचयपत्रको व्यवस्था आयोगले गरेको छ। मतपत्र, मतपेटिका महत्वपूर्ण चुनावी सामाग्री हुन्। अत्यावश्यक औषधीले भरिएको प्राथमिक उपचार बाक्सा पनि चुनावी सामाग्रीमा समेटिएका छन्। सदरमुकाम रहेका स्थानीय तहबाहेकका सबै मतदान केन्द्रमा यो बाक्सा पठाइन्छ।  

यो चुनावमा ४६ किसिमका अनुसूची फारम प्रयोगमा ल्याईँदै छ। फारम भने चुनावी सामाग्री सूचीमा समेटिएको छैन। सम्बन्धित केन्द्रमा सहजै पुर्‍याउन चुनावी सामाग्री धमाधम जिल्ला निर्वाचन कार्यालयमा प्याकिङ गर्ने काम भइरहेको छ। मतदान केन्द्र कर्मचारीले बुझेर ती सामाग्री गाउँ पु¥याउने छन् । छिटपुट कोरोना संक्रमिट भेटिइरहेकाले सावधानी अपनाउँदै आयोगले यो पटक माक्स र सेनिटाइजरसमेत चुनावी सामाग्री अन्तर्गत पठाएको निर्वाचन अधिकारी रिजालले जानकारी दिए । उनका अनुसार माक्स र सेनिटाइजर सबै मतदाता, उम्मेदवार, दलका प्रतिनिधि, पर्यवेक्षक, चुनावी कर्मचारी र सुरक्षाकर्मीलाई बितरण गरी अनिवार्य प्रयोग गर्न लगाइने छ।

प्रकाशित: २४ वैशाख २०७९ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App