१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

शाख जोगाउन शीर्ष नेता गृहगाउँ केन्द्रित घरदैलो

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका शीर्ष नेताहरु गृहगाउँ केन्द्रीय घरदैलोमा सक्रिय छन्। आफ्नो वडा, नगर, पालिका  निर्वाचन क्षेत्र र जिल्लाभित्र धेरै स्थानीय तहमा पार्टीका उम्मेदवारलाई विजयी गराएर शाख जोगाउन नेताहरु बिहानदेखि मध्यरातसम्म चुनावी अभियानमा छन्।  

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई शुक्रबारदेखि गृहनगर पालुङटरमा छन्। शुक्रबार बिहान ६ देखि राती १२ बजेसम्म उनी चुनावी कार्यक्रममा सहभागी भएको उनका स्वकिय सचिव रोशन पोखरेलले बताए।

‘टोलटोलमा जनभेटघाटका क्रममा छौँ’ उनले भने ‘पालुङटार नगरपालिकाको सबै वडामा कार्यक्रम चलिरहेको छ।’ सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट गाउँपालिकाको विभिन्न ठाउँमा चुनावी कार्यक्रममा सहभागी हुन जाने तय भएको उनले बताए। भट्टराई चुनावसम्म गोरखामै हुनेछन्।

भेटघाटका क्रममा स्थानीयले विकास निर्माणका काम सोचे अनुसार अघि बढ्न नसकेको गुनासो गरे। जवाफमा भट्टराईले नेकपाको संयुक्त सरकार हुँदा तीन वर्ष गोरखामा विकासको बन्ध्याकरण जस्तै अवस्था रहेको बताए। साथै उनले यो वर्ष केही योजना सुरु भएको र छिटो सम्पन्न गर्न आफू लागि पर्ने आश्वासन दिए।

पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि गृह पालिकाको चुनावी सभामा व्यस्त छन्। गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनी घरदैलोमा छन्। शनिबार बिहानै ८ बजेदेखि बेलुकी ८ बजेसम्म विभिन्न भेटघाट, घरदैलो र चुनावी सभामा व्यस्त रहेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए।

‘शुक्रबार बारपाकमा, शनिबार सिरानचोक ८ मा घरदैलो कार्यक्रममा छौँ’ उनले भने। सिरानचोक ८ आफ्नो वडा समेत भएकाले श्रेष्ठ घरदैलोमा सक्रिय छन्। चुनाव सम्म गाउँमै रहने र गोरखाका अन्य पालिकामा आयोजित कार्यक्रममा पनि सहभागी हुने योजना रहेको श्रेष्ठले बताए। केही दिनअघि उनी अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकामा आयोजित चुनावी कार्यक्रममा समेत सहभागी थिए।

राष्ट्रिय सभाका पूर्व प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे पनि गृहनगर पालुङटारमा छन्। उनी चुनावी अभियानका क्रममा टोटोलमा आयोजित कार्यक्रममा सहभागी भएका छन्। ‘शुक्रबार गोनपा ३ नारेश्वर, शनिबार पालुङटारको १, ९, १० लगायत ठाउँमा छु’ उनले भने ‘चुनाव अवधीभर यतै रहन्छु।’ घरदैलो गर्दै आफ्ना उम्मेदवारलाई भोग मागिरहेका उनले भने ‘सडक, पक्की पुल, सामुदायीक भवनको माग नै धेरै सुनाउँछन।’

बिहान ८ बजेदेखि बेलुकी अबेरसम्म पनि चुनावी कार्यक्रममा सहभागी हुने गरेको उनले बताए। गोरखा क्षेत्र नम्बर २ को विभिन्न पालिकामा आयोजित चुनावी सभा र घरदैलो अभियानमा चुनावभरी सक्रिय रहने उनले बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर १ को चुनावी कार्यक्रममा सक्रिय छन्।

केही दिन यता भिमसेन थापा, आरुघाट गाउँपालिकाको विभिन्न टोलमा आयोजित कार्यक्रममा सक्रिय रहेको उनले बताए। अर्का केन्द्रीय सदस्य अब्दुल सतार पनि चुनावी अभियानका क्रममा गोरखा क्षेत्र नम्बर २ मा छन् । सिरानचोक, पालुङटार क्षेत्रमा सक्रिय रहने उनले बताए।

नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत गोरखा नगरपालिकाको टोलटोलमा आयोजित चुनावी कार्यक्रममा व्यस्त छन्। शनिबार बिहान पालुङटार नगरपालिकाको विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भएर गोरखा नगरपालिका ७ मा आयोजित सभामा पनि उनी सहभागी भए।

शनिबार नै गोनपा ४ को कार्यक्रमा पनि पुगेका थिए। एमाले केन्द्रीय सदस्य सम्झना देवकोटा गोरखा नगरपालिकामा एमालेको तर्फबाट मेयर उम्मेदवार छिन्। केन्द्रीय सदस्य बस्नेत र देवकोटा गोरखा नगरपालिका ३ का हुन्। बिहान देखि बेलुकी सात/आठ बजे सम्म चुनावी सभा, भेटघाट चलिरहेको बस्नेतले बताए।

प्रदेश कमिटि, जिल्लाका पदाधिकारी, नगर पालिकाका सबैलाई चुनावी अभियानमा खटाइएको उनले बताए। यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य चुणामणी खड्का पनि केही दिन यता गोरखामा छन्। नेता कार्यकर्तासँग नियमित भेटघाट गर्ने चुनावी योजना बनाउने र सभामा सहभागी भइरहेका छन्।  

यसअघि जसपा अध्यक्ष बाबुराम भट्टराईको गृह नगर पालुङटार र माओवादी नेता नारायणकाजी श्रेष्ठको गृहपालिका सिरानचोक कांग्रेसले जितेको थियो।

प्रकाशित: २४ वैशाख २०७९ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App