१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

ललितपुरमा पकड जमाउन एमालेलाई कठिन

२०७४ सालको स्थानीय तह निर्वाचनमा देशभरि झन्डै ४० प्रतिशत स्थानमा जितेर पहिलो बनेका एमालेले ६ वटा स्थानीय तह रहेको ललितपुर जिल्लामा भने दुईवटा पालिकामा मात्र जित निकालेको थियो।

ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको तालमेल पनि निर्णायक बन्न नसक्दा एमाले झिनो मतान्तरमा पराजित भएको थियो। जिल्लाका महालक्ष्मी नगरपालिका र महांकाल नगरपालिकामा मात्र एमाले विजयी भएको थियो। ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र वाग्मती गाउँपालिकामा कांग्रेसले जित्दा कोन्ज्योसोम गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो।

यसपटकको स्थानीय तह निर्वाचनमा पनि ललितपुर जिल्लामा जित निकाल्न एमालेका लागि झन् अप्ठेरो देखिएको छ। उसका लागि एमाले विभाजनको असर त पर्ने नै छ, त्यसमा माथि पनि सत्ता गठबन्धन दलबीचको तालमेलले झन् जोखिम बढाएको छ। एमालेका स्थानीय नेताहरू भने यो कुरा स्वीकार गर्न तयार छैनन्। तर गठबन्धन एमालेलाई अवश्य बिझाएको देखिन्छ।

एमालेका लागि थोरै राहतको पक्ष पनि छ। गठबन्धन दलभित्र तालमेल भए पनि त्यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन। कांग्रेस र माओवादी केन्द्रले मात्रै अन्तिम अवस्थामा जिल्लाका पालिकामा तालमेल गरेका छन्। सत्ता गठबन्धनभित्र रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई कांग्रेस र माओवादी मिलेर एक्लै पारेका छन्। जसले गठबन्धनको समीकरणमा केही असर गर्ने देखिन्छ। महालक्ष्मी नगरपालिकाको मेयरमा माओवादी र कांग्रेस दुवैका उम्मेदवार छन्। वडाहरूमा गठबन्धनको अवस्था भद्रगोल छ। यसको फाइदा एमालेले उठाउन सक्छ।

कोन्ज्योसोममा माओवादी–कांग्रेस तालमेल

अघिल्लो स्थानीय तह निर्वाचनमा कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा भएको थियो। यहाँ माओवादी केन्द्रका गोपीलाल सिंताङले ६६ मत अन्तरले कांग्रेसका राजनप्रसाद घिमिरेलाई जितेका थिए। नेकपा एमालेका कृष्णमान लामा १ हजार ४ सय ७८ मतसहित तेस्रो भएका थिए।

यहाँ अघिल्लोपटक मतका आधारमा पहिलो र दोस्रो स्थान हासिल गरेका कांग्रेस र माओवादी केन्द्रबीच अहिले तालमेल हुँदा एमालेले जित निकाल्ने सम्भावना निकै घटेको छ। अहिले यहाँ अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट निवर्तमान अध्यक्ष सिंताङ पुनः उम्मेदवार भएका छन्। कांग्रेसका घिमिरे उपाध्यक्षमा उठेका छन्। एमालेका तर्फबाट अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा रीता लामा उम्मेदवार छन्। राप्रपाले यहाँ मानबहादुर तामाङलाई अध्यक्षमा उठाएको छ।

गोदावरीमा कांग्रेसलाई माओवादीको समर्थन

गोदावरी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवैमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ।

कांग्रेसबाट मेयरमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी उम्मेदवार छन्। दुवै निवर्तमान मेयर र उपमेयर हुन्। अघिल्लो निर्वाचनमा महर्जन १३ हजार ८ सय २० मतसहित मेयरमा विजयी हुँदा एमालेका श्यामकृष्ण सिलवाल ११ हजार ८७ मतसहित दोस्रो भएका थिए। मेयरमा माओवादीका उम्मेदवार गोविन्द महर्जनले ५ हजार ६ सय ७० र राप्रपाका कृष्णबहादुर देसारले ३ हजार १ सय २७ मत ल्याएका थिए।

यसपटक गोदावारी नगरपालिकामा कांग्रेसलाई चुनौती दिन एमालेले गम्भीरबहादुर रानालाई मेयर र रमी प्रधानांगलाई उपमेयरको उम्मेदवार बनाएको छ। तर अघिल्लोपटक २ हजारभन्दा बढी मतले अगाडि रहेको कांग्रेसलाई ५ हजार ६७० मत पाएको माओवादी केन्द्रले समर्थन गर्दा एमालेलाई जित निकाल्न चुनौती थपिएको छ। अघिल्लोपटक एमालेबाट मेयरका उम्मेदवार भएका सिलवाल अहिले नेकपा एसबाट उपमेयरमा उठेका छन्। यस्तै राप्रपाले मेयरमा राजकुमार महर्जनलाई र उपमेयरमा रञ्जिता श्रेष्ठलाई उठाएको छ।

वाग्मतीमा कांग्रेस–माओवादी तालमेल

वाग्मती गाउँपालिकामा अघिल्लोपटक कांग्रेसका उम्मेदवारबाट पराजित एमालेका लागि यसपटक पनि जित निकाल्न कठिन देखिन्छ। किनकि अघिल्लोपटकको चुनावमा तेस्रो मत पाएको माओवादी र कांग्रेसबीच अहिले तालमेल छ। तालमेलअनुसार अध्यक्षमा निवर्तमान अध्यक्ष कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर उम्मेदवार छन्। उनीहरूविरूद्ध एमालेले नवराज सञ्जेललाई अध्यक्ष र नमुना दोङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

राप्रपाले अध्यक्षमा सानु महर्जन र उपाध्यक्षमा अम्बिका न्यौपाने घिमिरेलाई उम्मेदवार बनाएको छ। वाग्मतीमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका लोप्चनले ३ हजार ३८८ मतसहित अध्यक्ष पदमा विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाप्रसाद घिमिरेले २ हजार २ सय ५२ मत पाएका थिए। अध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका राजु आलेमगरले १ हजार ६ सय ४२ मत पाएका थिए।

महांकालमा एमालेलाई ‘राहत’

अघिल्लो स्थानीय निर्वाचनमान एमालेले जितेको महांकाल गाउँपालिकामा अहिले सत्ता गठबन्धन दलबीच तालमेल मिलेको छैन। सबै दल एक्लाएक्लै चुनावी मैदानमा देखिएका छन्। यहाँ अघिल्लोपटक एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो। अध्यक्षमा एमालेका रामचन्द्र दाहालले २ हजार ८० मतसहित निर्वाचित हुँदा कांग्रेसका भीमसेन घिमिरेले १ हजार ७ सय २२ मत पाएका थिए।

अघिल्लो चुनावमा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका बुद्बबहादुर नेगीले ९ सय २८ मत पाएका थिए। उपाध्यक्षमा पनि एमालेकै कमला लामा तामाङ २ हजार २ सय ९३ मतसहित विजयी भएकी थिइन्। यो गाउँपालिकाका ६ वटा वडामध्ये ४ मा एमाले र एक÷एक वडामा कांग्रेस र माओवादीले जितेका थिए।

यसपटक यहाँ अध्यक्ष पदका लागि एमालेकी कमला लामा तामाङ, कांग्रेसका गणेश केसी, माओवादी केन्द्रका भगिरथ तिमिल्सिना, नेकपा एसका राजनप्रसाद बञ्जारा र राप्रपाका सुरेश घिमिरेलगायत उम्मेदवार छन्। सुरूमा कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिमा यहाँ कांग्रेसले अध्यक्ष पाउने कुरा भएको थियो। तर माओवादी केन्द्रका तिमिल्सिना पनि उम्मेदवार भएपछि सत्ता गठबन्धन दलमा तालमेल नभएको हो।

माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि दाहालले अझै पनि सहमतिका लागि छलफल भइरहेको बताउँदै अन्तिम समयसम्म अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने वातावरण बन्नेतर्फ संकेत गरे। ‘छलफल भइरहेको छ। अध्यक्षमा कांग्रेसलाई सघाउने र उपाध्यक्षमा हामीलाई सघाउने गरी वातावरण पनि बन्न सक्छ,’ उनले भने। उपाध्यक्ष एमालेले पुरुषोत्तम हुमागाईंलाई उम्मेदवार बनाएको छ। कांग्रेसले उपाध्यक्षमा उम्मेदावरी दिएको छैन। माओवादी केन्द्रबाट डोल्मामाया गोले, नेकपा एसबाट रुजिना दुलाल र राप्रपाबाट सञ्चमाया सिंगार उपाध्यक्षको उम्मेदवार छन्।

महालक्ष्मीमा नेकपा एसको जित्ने दाबी

अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले १ हजार ४१ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका महालक्ष्मी नगरपालिकामा अहिले कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ। तालमेलअनुसार मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसका उम्मेदवार छन्। माओवादीका शिवप्रसाद कट्टेल मेयरका र कांग्रेसकी लक्ष्मी महर्जन उपमेयरको उम्मेदवार छिन्। यहाँ सत्ता गठबन्धनकै अर्को दल नेकपा एसले नकुल थापालाई मेयरको उम्मेदवार बनाएको छ।

यहाँ सत्ता गठबन्धन कांग्रेस र माओवादीबीच मात्र गठबन्धन भएपछि गठबन्धनकै अर्को घटक नेकपा एस रुष्ट छ। ‘हाम्रो बटमलाइन भनेकै महालक्ष्मीको मेयरमा दाबी हो। तर कांग्रेस र माओवादी केन्द्रले प्रदेशबाट निर्णय गराएर हामीलाई गठबन्धन बाहिर राखे,’ नेकपा एस ललितपरका इन्चार्ज अमृतमान तिमिल्सिनाले भने, ‘अझै पनि हामी गठबन्धन दलसँग आग्रह गरिरहेका छौं। गठबन्धनको मर्म बचाएर हामीलाई मेयरमा सघाउनुहोस्।’ उनले एक्लै भए पनि महालक्ष्मीमा आफ्नो पार्टीले जित्ने दाबी गरे। यस क्षेत्रका संघीय सांसद कृष्णलाल महर्जन, प्रदेश सांसद माधव पौडेल, उपमेयर निर्मला थापा, तीन निर्वाचित वडाध्यक्ष र नगरकार्यपालिकाका चार सदस्यसहित बहुसंख्यक पूर्वएमाले नेता–कार्यकर्ता आफ्नो पार्टीमा भएकाले जित सुनिश्चित भएको तिमिल्सिनाले बताए। उनले भने, ‘यहाँ हामी पहिलो, एमाले दोस्रो र अहिले तालमेल गरेका (माओवादी केन्द्र–कांग्रेस) को स्थान तेस्रो हो।’

गठबन्धनभित्रको यस्तो अवस्था एमालेका लागि भने लाभदायी बन्न सक्छ। तर एमालेले आफ्नो विरासत यहाँ कसरी जोगाउँछ त्यो भने ३० गतेको निर्वाचन नतिजाले देखाउनेछ। उसलाई चुनौती भनेकै नेकपा एस हो। एमालेले यसपटक मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा विणा सुवेदीलाई उम्मेदवार बनाएको छ। राप्रपाबाट मेयरमा प्रवीण खत्री र उपमेयरमा रामदेवी महर्जन उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा एमालेले यहाँ मेयर र उपमेयरसहित १० वटा वडामध्ये ८ मा जित निकालेको थियो। कांग्रेस र माओवादी केन्द्रले एकएक वडामा जितेका थिए। अघिल्लोपटक मेयरमा एमालेका रामेश्वर श्रेष्ठले ७ हजार ७ सय ६४ मतसहित निर्वाचित हुँदा कांग्रेसका महेश खड्का दोस्रो भएका थिए। त्यस्तै मेयरका उम्मेदवार माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ४ हजार ३ सय मत पाउँदा राप्रपाका आनन्द अधिकारीले एक हजार ५ सय ५७ मत ल्याएका थिए।

ललितपुर महानगरपालिकामा एक्लै भिड्दै एमाले

ललितपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ भने एमाले एक्लै मैदानमा छ। यहाँ मेयरमा कांग्रेसबाट चिरिबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्य उम्मेदवार छन्। महर्जन निवर्तमान मेयर हुन्। मेयर र उपमेयरमा कांग्रेस र माओवादीका उम्मेदवारलाई केन्द्रकै निर्णयअनुसार आफूहरूले सघाउने नेकपा एसका जिल्ला इन्चार्ज अमृतमान तिमिल्सिनाले बताए। उनले भने, ‘जिल्लामा हामीलाई अलग राखे पनि केन्द्रको निर्णय हामी मान्छौं। केन्द्रकै निर्णयअनुसार नै हामीले ललितपुर महानगरपालिकाको मेयर÷उपमेयरमा उम्मेदवारी दिएका छैनौं।’

यहाँ एमालेले अघिल्लोपटककै उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई दोहोर्‍याएर मेयरको टिकट दिएको छ। उसले उपमेयरमा मञ्जली श्रेष्ठलाई उम्मेदवार बनाएको छ। राप्रपाबाट मेयरमा अष्टबहादुर महर्जन र उपमेयरमा स्वर्णिमा शाक्य उम्मेदवार छन्। विवेकशील साझाले उज्जलकृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ।

यहाँ अघिल्लोपटकजस्तै यसपटक पनि मेयरमा कांग्रेस र एमालेकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। जसमा गठबन्धनका कारण कांग्रेस उम्मेदवार महर्जनलाई सहज देखिन्छ। यसैकारण एमाले उम्मेदवार व्यञ्जनकारलाई जित निकाल्न चुनौती थपिएको छ। अघिल्लोपटक राप्रपासँग तालमेल गरेको एमालेका उम्मेदवार व्यञ्जनकार ३ सय २६ मतले पराजित भएका थिए। मेयरमा विजयी कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत र व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए। मेयरमै अर्का प्रतिस्पर्धी रवीन्द्र मिश्रको साझा पार्टीको समर्थनबाट स्वतन्त्र उठेका रमेश महर्जनले १३ हजार ४ सय ५८ मत ल्याएका थिए। माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत प्राप्त गरेका थिए।

यसपटक व्यञ्जनकारलाई जित्नका लागि आफूले उतिबेला पाएको मत जोगाएर गठबन्धनभित्रको मत चोर्नुपर्ने देखिन्छ। एमालेबाट अलग भएर बनेको नेकपा एसले पनि व्यञ्जनकारको मत घटेको छ। अघिल्लो निर्वाचनमा यहाँ एक लाख १२ हजार ९२३ मतदाता थिए। जसमध्ये ८७ हजार ४८ मत खसेको थियो। यसपटक नौ हजार ९६७ मतदाता थपिएका छन्।

आआफ्नै दाबी

ललितपुर जिल्लामा अघिल्लो स्थानीय तह निर्वाचनमा कमजोर देखिएको एमालेका लागि यसपटक पार्टी विभाजन र कांग्रेस–माओवादी तालमेलका कारण जित निकाल्न चुनौतीको पहाड ठडिएको छ। एमाले केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल भने ६ वटै स्थानीय तहमा आफूहरूले सहजै जित्ने दाबी गर्छिन्। ‘६ वटै पालिकामा हाम्रो सहज जित हुन्छ। जनताले हामीलाई हौस्याइरहेका छन्,’ उनले भनिन्, ‘जनताले नै हामीलाई ढाडस दिइरहेका छन्।’

एउटा पार्टीलाई कमजोर बनाउन र दबाउन सत्ता गठबन्धनले चुनावी तालमेल गरेको जनताले बुझेको उनले बताइन्। ‘जनताले नै सोधिरहेका छन्–गठबन्धन के का लागि ? त्यसकारण हामीलाई जनताले नै जनमतद्वारा त्यसको जवाफ दिनेछन् भन्ने विश्वास छ,’ उनले भनिन्। पार्टी विभाजनले खासै असर नगरेको पनि उनले बताइन्। उनले भनिन्, ‘स्वार्थी व्यक्तिहरूले पार्टी छाड्दैमा केही बिग्रिंदैन। जनताले एमाले सरकारले गरेका जनपक्षीय कामको सही जवाफ दिनेछन्।’

सत्ता गठबन्धनका नेता भने एमालेले यसपटक पनि ललितपुरमा जित निकाल्न नसक्ने बताउँछन्। कांग्रेस ललितपुरका सचिव वशिष्ठ अधिकारीले अघिल्लै निर्वाचनमा कांग्रेसले जितेका ठाउँमा फराकिलो अन्तर र एमालेले जितेका ठाउँमा झिनो अन्तर रहेकाले यसपटक तालमेल पनि भएकले सबै पालिकामा सत्ता गठबन्धनले जित्ने दाबी गरे। ‘हामी र माओवादी केन्द्रबीचमा कुनै समस्या छैन। भएका समस्या पनि टुंग्याउँछौं,’ उनले भने, ‘यही अवस्थामा एमालेले जिल्लामा कतै पनि जित्न सक्ने अवस्था रहन्न।’ माओवादी केन्द्रका ललितपुर इन्चार्ज हरि दाहाल ललितपुरमा प्रतिगमनविरुद्धको तालमेल पूर्ण रूपमा सफल हुन लागेको दाबी गर्छन्। ‘हामी कांग्रेसलाई भोट हाल्छौं, कांग्रेसले हामीलाई,’ उनले भने, ‘यति भएपछि प्रतिगमनकारी शक्तिले जित्ने ठाउँ बाँकी रहन्न।’

प्रकाशित: २४ वैशाख २०७९ ००:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App