१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मेयरका उम्मेदवारको गाडीमा आगजनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट बेलबारी नगरपालिकाको मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी गरिएको छ।  

बेलाबारी–२ स्थित गौतमको घरमा पार्किङ गरी राखिएको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहान २ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालका अनुसार राप्रपाका तर्फबाट मेयरका उम्मेदवार रहेका खेमप्रसाद गौतमको घरमा पार्किङ गरेर राखेको कारलाई शुक्रबार बिहान आगजनी गरिएको हो। ‘बिहान २ बजेतिर कारमा आगजनी भएको खबर आउनसाथ इप्रका बेलबारीको टोली घटनास्थल पुगेको थियो,’ एसपी कोइरालाले भने, ‘घटनामा संलग्न भएको आरोपमा एक जना  युवकलाई पक्राउ गरी अनुसन्धान थालिसकेका छौं।’

घटनामा संलग्न भएको आरोप सुन्दरहरैँचा नगरपालिका–१२ का २७ वर्षीय सुवास पाण्डेलाई पक्राउ गरिएको छ। सिसी क्यामेरालगायत विभिन्न तवरबाट गरिएको प्रारम्भिक अनुसन्धानबाट पाण्डेको संलग्नता भएको हुन सक्ने आशंकामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको एसपी कोइरालाले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट पार्टीगत रुपबाट नभई कुनै अन्य रिसिवीका कारणबाट घटना भएको देखिन्छ,’ एसपी कोइरालाले भने, ‘घटनाको थप अनुसन्धानपछि विस्तृत कुरा बाहिर आउने छ।’  

पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ। फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। आगजनीबाट कारको केही भाग क्षति भएको छ। कारमा पार्टीको झण्डासहित मेयर र उपमेयरको प्रचारको ब्यानर राखिएको थियो।

प्रकाशित: २३ वैशाख २०७९ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App