४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तनहुँः जहाँ प्रतिष्ठाको लडाइँ हुँदैछ

तनहुँको ब्यासका प्रतिश्पर्धी कांग्रेसका बैकुण्ठ न्यौपाने (दायाँ) र एमालेको साथमा उम्मेदवार बनेका दीपकराज जोशी (बायाँ)। तस्बिरः नागरिक

आगामि पाँचवर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिन थालेका नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। यो बेला निर्वाचन परिणाम आफ्नो पक्षमा दिलाउन उम्मेदवारहरुले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि सकिनै थालेको छ। त्यसैले पनि उम्मेदवारहरु घरदैलोमा व्यस्त छन्।  

अहिले चुनावी अभियान झिसमिसेमा सुरु हुँदै अबेर रातीसम्म चलिरहेको छ। विभिन्न आश्वासनको पोको लिएर दल र तीनका उम्मेद्वार बस्तीबस्तीमा पुगिरहेका छन्। कसरी हुन्छ आश्वासनको जालोमा जनतालाई पार्न दलका उम्मेदवारबीच दौडधुप छ।  

सबैतिर चुनावी प्रतिश्पर्धा झैं तनहुँमा पनि केही स्थानीय तहमा यसपालिको चुनावी भीडन्त निकै नै रोचकपूर्ण छ। चुनावी हारजित राजनीतिक दल र उनीहरुका शीर्ष नेताको प्रतिष्ठासँग जोडिदाँ यो पटक तनहुँको रस्साकस्सी झनै बढि देखिन्छ । आफ्नो पोल्टामा मत माग्न दलहरु यतिबेला मरि मेटेका छन।  

जिल्लाको व्यास नगरपालिकामा यसपाली निकै रोचक भिडन्त हुदंैछ । यहाँको चुनावी परिणाम शीर्ष नेताको प्रतिष्ठासँग पनि जोडिएको छ। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर व्यास नगरपालिकामा कांग्रेसले कुनैपनि जित्नपर्ने दबाब छ। कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार बैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरैको टिम चुनावी परिणाम आफ्नो पोल्टामा पार्न भरमग्न प्रयासरत छन्। न्यौपानेले अघिल्लो पटक पनि जितेर पाँचवर्ष ब्यास नगरपालिका हाँकेका अनुभवि व्यक्ति हुन्। तर, न्यौपानेलाई अहिले आफ्नैबाट चूनौतीको पहाड अघिल्तिर खडा भएको छ।  

नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि कारबाहीमा परेका गोबिन्दराज जोशीको समुह यो बेला सबैभन्दा बढी दवावमा छ। किनभने कांग्रेसका तर्फबाट ब्यास नगरपालिकाका उम्मेद्वार न्यौपानेलाई पराजित गरेर जिल्लामा शक्ति स्थापित गराउनुपर्ने बाध्यतात्मक परिस्थिती जोशी समुहमा छ।  

तनहुँमा कांग्रेसलाई सवक सिकाउने चेतावनी दिदै आईरहेका जोशीपुत्र दिपकराज जोशी व्यास नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर जित्ने दाउमा जोडतोडका साथ लागिरहेका छन्। जोशी समुहले कांग्रेसलाई पराजित गर्दै आफुलाई बलियो सावित गर्न नेकपा एमालेसँग तालमेल समेत गरेको छ। एमालेको साथ लिएर जोशी समुह अहिले कांग्रेसका न्यौपानेसँग चुनावी मैदानमा प्रतिश्पर्धा छ। एमालेसँगको तालमेलले कांग्रेसलाई कमजोर बनाउन जोशी समुहलाई उत्ति सहज छैन किनभने लामो समयदेखि ब्यासमा कांग्रेस बलियो पोजिसनमा रहेको थियो। तर, आन्तरिक विवादका कारण जोशी समुह कारवाहिमा पर्दा अहिले कांग्रेसमाथि नै दवाव थपिएको छ।

कांग्रेसलाई वरिष्ठ नेता पौडेलको प्रतिष्ठासँग जोडिएकाले व्यासमा पराजित हुनन मिल्दैन् र  जित्नैपर्नेमा दबाबमा रहेको नेताहरु बताउँछन। यता गोविन्दराज जोशी र एमालेलाई बलियो देखाउनकै निम्ति जोशी समुहलाई पराजित हुने छुट छैन। यी दुई समुहको ‘गर या मर’ को स्थितीले व्यास नगरपालिकाको चुनावी भिडन्तलाई रोचक बनाईरहेको छ।

कांग्रेस र गठबन्धन दुवै समुह व्यासमा आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्। तर, चुनौती कम अवसर ज्यादा भएको उनीहरुको प्रतिक्रिया छ। कांग्रेसका तर्फबाट मेयरका उम्मेद्वार वैकुण्ठ न्यौपाने भन्छन्, ‘त्यति धेरै चुनौतीको सामना गर्नुपरेको छैन। गाउँगाउँमा पुग्दा स्थानीयस्तरमा जुन किसिमको समर्थन प्राप्त भएको छ त्यसले चुनौती छैन भन्ने पुष्टी गरेको छ,’ उनले भने । आफ्नो जित रामचन्द्र पौडेलसँग मात्रै नभएर सिंगै पार्टीको प्रतिष्ठासँग जोडिएको पनि उनको भनाई छ। ‘पार्टीका नेता सबै एक ठाउँमा उभिएर विजयी गराउनतर्फ लाग्नुभएको छ। सबै एकिकृत र एकाकार हुनुहुन्छ’, उनले भने।  

अर्काेतर्फ एमालेसँगको तालमेल, नेपाली कांग्रेसमा टिकट नपाएर रुष्ट भएर कांग्रेस छाडेकाहरु र यस अगाडीका मेयरले काम गर्न नसक्दा रुष्ट भएका मतदाता नै आफ्नो जितको आधार भएको मेयरका प्रत्यासी दिपकराज जोशी बताउँछन्। ‘हामीले चुनाव जित्ने आधार धेरै छन। २०४८ सालदेखी कांग्रेसको एकछत्र राज भइरहेको छ। ब्यास नगरमा जुन हिसाबले विकास हुनपर्ने थियो, भएको छैन। बेरुजु, बजेटको चुहावट भएकाले जनता आजित छन् । चुनाव जित्ने भोट पाएर हो, भोटको आधार जनता हुन। तसर्थ जित सहज देखिन्छ,’ उनको भनाई छ।  

विश्लेषकहरु भने ब्यास नगरपालिका कांग्रेसको पकड भएको क्षेत्र भएकोले जोशी समुहलाई उत्ति सहज नभएको बताउँछन। अघिल्लो पटक पनि नगरपालिकाका १४ मध्ये कांग्रेसले १३ वटा (ब्यास ४ बाहेक)मा जितेको थियो। अहिले पनि ती वडामा कांग्रेसको पकड छ। तर, गोबिन्दराज जोशीको तनहुँमा व्यक्तिगत छवी राम्रो भएकोले त्यही छवीका कारण जोशी समुहले केही मत पाउने आँकलन विश्लेषकको छ।  

राजनीतिक विश्लेषक कमलामोहन वाग्ले भन्छन, ‘एमालेको समर्थमा दीपक जोशी र कांग्रेसको तर्फबाट बैकुण्ठ न्यौपाने उम्मेदवार भएपनि बाहिर हेर्दा प्रतिश्पर्धा देखिन्छ, तर भित्रि पाटोमा भने कांग्रेस नै बलियो छ।’ उनका अनुसार बजार क्षेत्र (१,२,३,४) मात्र हो। बाँकी वडा बजार बाहिर छन्। ती सबैमा कांग्रेसको पकड रहेको उनी बताउँछन। ‘हिजोका मतदाता खासै टसमस भएका छैनन। तर, जोशीको व्यक्तिगत छविका कारण केही मत उनका छोराले पाउने भएपनि न्यौपानेलाई पराजित गर्ने गरि मत पाउने अवस्था छैन,’ उनले भने, ‘एमालेको केही वडामा मत राम्र्रो भएपनि विजयीका लागि पर्याप्त छैन।’

एमाले आफै विभाजित हुँदा पनि त्यसको असर उसलाई (एमाले) परेको उनी बताउँछन। एमालेबाट छुट्टिएर एकीकृत समाजवादी बन्दा तनहुँमा एमाले पहिले भन्दा झनै कमजोर बनेको छ। हिजो एमाले हाँकेका जिल्लाका प्रभावशाली नेताहरु अहिले एकीकृत समाजवादीमा छन। एकीकृत समाजवादीले पनि एमालेलाई कमजोर बनाएको छ। ‘एमाले फुटेर एकीकृत समाजवादी बन्दा त्यसको असर एमालेलाई बढी परेको छ। किनकी जिल्लाका प्रभावशाली नेताहरु अहिले एकीकृत समाजवादीमा छन,’ उनले भने।  

वाग्लेको विश्लेषणमा कांग्रेस बलियो हुँदाहुँदै पनि हिजोको जस्तो सुरक्षित अवस्था नहुन सक्छ। हिजोको दिनमा पार्टीले गरेका कमीकमजोरी, एकता नहुनु, कांग्रेसको एकसमुह पार्टीबाट हालै छुटेर जोशी समुहमा लागेका कारण उत्ति सहज नहुन पनि सक्छ। त्यसबाहेक लामो समयसम्म राजनीति गरेका व्यक्ति पनि अहिले गठबन्धनका कारण चिढिएका छन्। त्यसबाहेक कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलसँग पनि केही असन्तुष्टि हुँदा त्यसको सहयोग जोशी समुहलाई पर्न सक्ने उनले बताए।  

‘कतिपय कार्यकर्ता अझै पनि गठबन्धनको विरोधमा छन। गठबन्धन आवश्यक थिएन भन्नेका लागि रामचन्द्र पौडेलसँग असन्तुष्टि छ,’ उनले भने, ‘अहिले गठबन्धनको विवादले पौडेलको छवि माथि प्रश्न भने उठेको छ। तर, पौडेलमाथिको त्यो प्रश्न आगामि दिनमा कसरी जान्छ भन्न सकिन्न। किनकी गठबन्धन कहिलेसम्म रहिरहन्छ भन्ने पनि मुख्य हुन आउँछ।’  

उता भिमाद नगरपालिकाको जित भने एकीकृत समाजवादीको प्रतिष्ठासँग जोडिएको छ। कांग्रेस र राष्ट्रिय जनमुक्ती पार्टीसँग तालमेल गरेर एकीकृत समाजवादीका काजीमान श्रेष्ठ भिमादको मेयरमा लड्दैछन्। उनको हार–जित वहालवाला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को प्रतिष्ठासँग जोडिन्छ। अन्य स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पद पाएको छैन्। भिमादमा नेकपा एमालेको पकडलाई एकीकृत समाजवादीको जितले कमजोर बनाउने रणनीति छ। पार्टीको साख जोगाउन आफुले जसै जित्नैपर्ने श्रेष्ठ बताउँछन । ‘घरदैलोमा नगरबासीले देखाउनु भएको सद्भाव मेरो जितको आधार हो’, उनले भने।

बन्दीपुर गाउँपालिकाको जित–हार भने नेकपा माओवादी केन्द्रको प्रतिष्ठासँग जोडिएको छ। किनकी २०७४ सालमा भएको स्थानीय तहको स्थानीय निर्वाचनमा जिल्लाका १० मध्य माओवादी जितेको एकमात्र स्थानीय तह हो–बन्दीपुर। आठवटामध्ये तीनवटा वडा माओवादीले बन्दीपुरमै जितेको थियो। माओवादीले बन्दीपुरमाथि यो पटक पनि जित हात पार्ने अध्यक्षका उम्मेद्वार पुर्णसिं थापा दावि गर्छन। उनी भन्छन्, ‘अघिल्लो पटक जितेको पार्टी भएकाले जित्नैपर्ने हुन्छ र जित्न पनि सकिन्छ। पुरानै उम्मेद्वारलाई अध्यक्ष र उपाध्यक्षमा पार्टीले टिकट दिएको छ। त्यस कारण पनि हार्ने छुट नभएको उनी बताउँछन। नैतिकदेखि सामाजिक प्रेसर छ,’ हाम्रो जित निश्चित छ,’ उनले भने, ‘सबै वडामा राम्रो अवस्थामा छौ।’  

प्रकाशित: २३ वैशाख २०७९ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App