३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चेपाङ वडाध्यक्षका उम्मेदवारहरु भन्छन्ः अब आफैं नेतृत्व चाहन्छौं

उम्मेदवारहरुः राजेन्द्र चेपाङ, शोभा चेपाङ, आकास चेपाङ, सुरेन्द्र चेपाङ, विकास चेपाङ।

स्थानीय तहको निर्वाचनमा धादिङमा चेपाङ समुदायबाट ६ जना वडा अध्यक्षका उम्मेदवार छन्। सिमान्तृत चेपाङहरुले अन्य जनजाती र बाहुन क्षेत्री उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन्। जिल्लाको दक्षिणी क्षेत्रमा चेपाङ समुदायको बसोबास छ। उनीहरु विभिन्न दलहरुबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन्।

नेकपा एकीकृत समाजवादी तर्फबाट गजुरी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षका उम्मेदवार शोभा चेपाङ भन्छिन्, ‘सबैलाई हेर्‍यौं, अब आफ्नो लागि आफैंलाई हेरौं। समग्र वडाको विकास, सामाजिक रुपान्तरण अनि चेपाङ समुदायको विकास र उत्थानका लागि हाम्रो उम्मेदवारी हो।’ शोभा चेपाङको वडा पृथ्वी राजमार्गबाट करिब आधा घण्टा दुरीमा छ।

राजमार्गबाट नजिक भएपनि यहाँ गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा रोजगारी जस्ता सबै चिजको कमी छ। वडाबासीको मुख्य आयश्रोत कृषि हो। ‘लेखपढ नभएका गरीब समुदायमा आधुनिक कृषि प्रणालीबाट वडाबासीको जीवन फेर्नकै लागि यो पटक एउटा पार्टी समाएर अघि बढेको छु’ शोभाले भनिन्।

यस्तै बेनीघाट रोराङ गाउँपालिकाको वडा नंम्बर ९ मा नेपाली कांग्रेसबाट राजेन्द्र चेपाङ वडा अध्यक्षको उम्मेदवार छन्। ४२ प्रतिशत चेपाङ रहेको ९ नम्बर वडामा चेपाङ समुदायलाई अहिलेसम्म भोट बैंकको रुपमा मात्र प्रयोगमा थिए। अब आफ्नो समुदायको नेतृत्व आफैंले गर्न चाहेकोले यो पटक अध्यक्षमा उम्मेदवारी दिएको राजेन्द्रले बताए। पाँच वर्षे रणनीति बनाएर समग्र वडाको विकास र चेपाङ समुदायको सर्वाङ्गिण विकास गर्न अब चेपाङ कै नेतृत्व आवश्यक ठानेर आफू उम्मेदवार बनेको उनले बताए।

साथै बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा पनि नेपाली कांग्रेसबाट तर्फबाट विकास चेपाङ मैदानमा छन्। यो वडाका धेरै ठाउँमा बिजुली बत्ती र सडक सञ्जाल पुगेको छैन। भौगोलिक हिसाबले पनि विकट मानिन्छ। विकास भन्छन्, ‘विकास हुन सडक सञ्जाल र बिजुली बत्ति चाहिने रहेछ। तर हाम्रो वडामा आधारभूत आवश्यकताको सहज पहुँच पहिलो आवश्यकता हो। यो उद्देश्य पुरा गर्न मेरो उम्मेदवारी हो।’

वडामा चेपाङ, दलित लगायत विपन्न परिवारको बसोबास छ। वडाबासीको कमजोर आर्थिक अवस्था सुधार्ने छौं। मैले जितें भने ५ वर्षकै तलब भत्ता कोषमार्फत् विपन्न मजदुर परिवारको स्वास्थ्य क्षेत्रमा लगाउने छु।’ उनले भने।

गजुरी ४ र बेनीघाट ८ मा पनि चेपाङ

बेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ मा चेपाङकै भिडन्त हुने भएको छ। ६० प्रतिशत चेपाङ जातिको बसोबास रहेको यस वडामा नेकपा एमालेबाट आकाश चेपाङ चुनावी मैदानमा छन्। कांग्रेसबाट भीम चेपाङले पनि उम्मेदवारी दर्ता गराएका थिए तर, अहिले उनले उम्मेदवारी निकालेका छन्।

दुई चेपाङको भिडन्त हुने देखिएको यो वडामा अहिले चेपाङ समुदायबाट आका नै एक्लो उम्मेदवार छन्। आकास सञ्चारकर्मी र कलाकारिता क्षेत्रबाट चेपाङ समुदायमा परिचित छन्। वडाबासीको समस्या तथा सवाललाई नजिकबाट नियालेकाले यो पटक आफू नेतृत्वमा आउनेमा ढुक्क रहेको आकास बताउँछन्।

‘वडाबासीकै चाहना र माग अनुसार वडा अध्यक्षको उम्मदेवारी दिएको हो’, आकास भन्छन्, ‘मलाई हाम्रो पार्टीले विश्वास गरेर टिकट दिएको छ। वडाबासी प्रायः लाई खान लगाउनै समस्या छ। त्यसैले नेतृत्व तहमा पुग्न र वडामा सामाजिक रुपान्तरण र वडाको विकासका लागि मैले उम्मदेवारी दिएको हुँ।’

वडाको केही ठाउँमा बिजुली बत्ती, सडक सञ्जाल पुगेको छैन। स्वास्थ्य र शैक्षिक क्षेत्रमा पनि उस्तै समस्या छ। सपनाहरु ठूला र धेरै छन्। तर सानैबाट थाल्नुछ, भोको पेट भर्न पाए मात्रै समृद्धिको कुरा सुहाउने उनले बताए।

यसका साथै गजुरी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट सुरेन्द्र प्रजा र एकीकृत समाजवादीबाट हर्कबहादुर चेपाङले उम्मेदवारी दिएका छन्। सुरेन्द्र प्रजा एक कार्यकाल वडा अध्यक्ष भैसकेका हुन्।

वडा अध्यक्षको दरिलो उम्मेदवारको दाबी गर्दै उनले भने, ‘२०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भैसकेपछि धेरै कामहरु गरे। कतिपय योजनाहरु पुरा गर्नु छ। चेपाङ र तामाङ समुदायको ९८ प्रतिशत बसोबास रहेको यस वडामा आधारभूत आवश्यकता र अन्य विकासका बाँकी रहेका योजनाहरु पुरा गर्न’ आफूले उम्मेदवारी दिएको उनले बताए।

सडक सञ्जाल, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने वडा अध्यक्ष उम्मेदवार हर्कबहादुर चेपाङले बताए। हामी पछाडी पारिएका समुदायमा पर्छाैं। तर नेतृत्व लिएर वडालाई विकासको बाटोमा डोहोर्‍याउने उनको भनाइ छ।

सामाजिक रुपान्तरण आजको आवश्यकता हो। चेपाङ उम्मेदवारहरु भन्छन्, ‘लामो समय भोट बैंक बन्यौं। तर अबको आर्थिक क्रान्तिका लागि हामीले नेतृत्व खोजेका हौं।’

प्रकाशित: २३ वैशाख २०७९ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App