२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन, सक्रिय बन्दै निर्वाचन कार्यालय

रौतहट र सर्लाही जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ। निर्वाचन आचारसंहिताको धेरै पक्षमा उल्लंघन भएको आलोचना बढेपछि निर्वाचन कार्यालय बल्ल सक्रिय बन्न थालेको छ।

सर्लाही जिल्लास्थित पूर्वपश्चिम राजमार्गमा विभिन्न पार्टीका तुल, ब्यानर, झण्डा र चुनाव चिन्हको तोरन बनाएर जताततै झुण्ड्याइएको छ। ठाउँ-ठाउँमा उम्मेदवारहरुले आफ्नो पक्षमा माहोल बनाउने किसिमका सामग्रीहरु झुण्ड्याएका छन्। रौतहट र सर्लाहीमा उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरिरहँदा बालबालिकाको व्यापक प्रयोग गरेको देखिएको छ।

पार्टीको झण्डा र चुनाव चिन्ह भएको झण्डा बोकाएर बालबालिकालाई चुनाव प्रचारमा खटाइएको देखिएको छ। बालबालिकालाई डिजेमा नाच गरिरहेको, झण्डा बोकेर जुलुस तथा घरदैलो कार्यक्रममा हिँडिरहेको, उम्मेदवारको गाडीमा बसेर प्रचार गरिरहेको तथा मोटरसाइकलको पछाडि बसेर झण्डा बोकेर जिन्दावाद भनिरहेको दृश्य आम भइसकेको छ।

रौतहटको अधिकांश पालिकामा डिजे र लाउड स्पिकरमा चर्को आवाजमा विभिन्न पार्टीको प्रचार भइरहेको देखिन्छ। रौतहटमा आचारसंहिताको व्यापक उल्लंघन भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आचारसंहिताको पालन गर्न सार्वजनिक सूचना नै प्रकाशन गरेको छ।

सूचनामा कुनै पार्टीको चुनाव चिन्ह वा संकेत झल्किने स्टिकर, भेस्ट, गमछा आदि प्रयोग गर्न नपाइने भनिएको भए पनि सबै जुलुस र घरदैलो कार्यक्रममा यस्ता सामग्रीको व्यापक प्रयोग भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले आचारसंहिताको उल्लंघन नगर्न र परिपालन गर्न सार्वजनिक सूचना प्रकाशित गरेपछि सकारात्मक प्रभाव परेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर बजारको मुख्य चोकमा रहेका तुल, ब्यानर तथा विभिन्न किसिमका झण्डाहरु हटाएको छ। रौतहटको गढीमाई नगरपालिकामा बसेको सर्वदलीय बैठकमा बिहीबार साँझ ७ बजेदेखि कुनै पनि पार्टीले डिजे बाजा र लाउड स्पिकरको प्रयोग नगर्ने निर्णय गरिएको छ।

निर्वाचन आचारसंहिताको उल्लंघन भएको गुनासो आएपछि तत्काल कार्यान्वयनको निर्देशन दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताएका छन्। निर्वाचन आचारसंहिताको पालन भए नभएको हेर्न र पािलन गर्न लगाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको प्रजिअ शाहीले बताएका छन्।

प्रकाशित: २२ वैशाख २०७९ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App