१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विवेकशील साझाकी मेयर उम्मेदवार समिक्षाको ‘समीक्षा’

उनको नामै समिक्षा। उनको पार्टी विवेकशील साझाले काठमाडौं महानगरका समस्याहरुको समीक्षा गर्दै मेयर पदमा समिक्षा बाँस्कोटालाई नै उठाएको छ। र, महानगरका समस्याहरु सम्बोधन गर्न उनी खरो उत्रिने समीक्षा उनको पार्टीको छ।

२०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवार बनेकी बाँस्कोटाले तेश्रो हुँदै कुल मत संख्याको २७ प्रतिशत अर्थात ४ हजार ३ सय ४३ मत पाएकी थिइन्।

एक महिनाको मेहनतले मात्रै २७ प्रतिशत मत प्राप्त गरेको उनी बताउँछिन्। ‘अहिले पार्टीको सांगठनिक संरचना बलियो छ। जनताले परिवर्तन चाहेका छन्। मेरो जित सुनिश्चित छ,' उनले नागरिकन्यूजसँग भनिन्।  

‘२०७४ देखि निरन्तर पार्टी निर्माणमा छौं। ५ वर्षमा महानगरमा हस्तक्षेपकारी र सबैभन्दा दरो उम्मेदवारको रुपमा चर्चा भइरहेको छ। ५ वर्षमा विवेकशील साझाको ग्राफ उकालो लागेको छ। जब मतदाताले नै परिवर्तन चहानुहुन्छ नि तपाईको कहाँ के भन्ने नै हुँदैन,’ बाँस्कोटा थप्छिन्, ‘मतदाता आफ्नो मत र मन परिवर्तन गर्न तयार हुनुहुन्छ। हामी राजनीतिको फोहोर सफा गर्न तयार छौं।’  

उनको पार्टी र उनको प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र सुशासन प्रमुख प्राथमिकतामा छन्। सुशासनका कुरा गरेपनि सेवा प्रवाह कष्टपूर्ण रहेको उनको अनुभव छ। स्थिती सुधारका लागि उनीसँग ठोस योजना छ।    

‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो र भ्रष्टाचार नियन्त्रण मेरो पहिलो प्राथमिकता हो,’ उनले भनिन्, ‘अहिले हामीले सेवा प्रवाह गर्न सकिरहेका छैनौं। सेवा प्रवाह र सुशासन मेरो प्राथमिकतामा पर्छ। वडालाई डिजिटलाइज्ड गर्ने मेरो योजना छ। कुनै काम गर्दा व्यक्तिले पैसा माग्ने प्रवृत्ति छ। डिजिटल भएपछि यो समस्या हल हुन्छ भन्ने लाग्छ।’

काठमाडौं महानगरका विद्यमान समस्या समाधान नहुनुमा मेयरको भूमिका महत्वपूर्ण रहेको बाँस्कोटाको बुझाइ छ। मेयर पदमा सक्षम व्यक्ति पदासिन भए अहिलेको समस्या समाधान हुने उनी बताउँछिन्। ‘महानगरमा के–के समस्या छ भन्ने सबैलाई थाहा छ। महानगरपालिकाको त्यो (मेयर) पदमा बसेर एउटा सक्षम व्यक्तिले काम गरिदिएको भए बेग्लै हुन्थ्यो। तर सक्षम व्यक्ति त्यो स्थानमा नपुग्दा काठमाडौंमा बस्न नै गाह्रो हुने परिस्थिति सिर्जना भएको छ।’

महानगरभित्र अहिले समस्या नै समस्या रहेको उनको भनाइ छ। भ्रष्टाचार, अव्यवस्थित सहरीकरण, सार्वजनिक यातायात र फोहाेरमैलाको समस्याले गाँजेको बाँस्कोटाको बुझाइ छ। ‘अव्यवस्थित भयो, जताततै भ्रष्टाचार छ, सार्वजनिक यातायात सुलभ र व्यवस्थित छैन। फोहोरमैला नउठ्ने समस्या छ,’ समस्या समाधानका लागि सक्षम नेतृत्वले जिम्मेवारी पाउनु पर्ने उनको बुझाइ छ, ‘यो सबै समस्या हल गर्न काठमाडौं महानगरले सक्षम नेतृत्व पाउनुपर्छ, जसले इमान्दारिताको जगमा काम गरोस्, उत्कृष्टताको जगमा काम गरोस् भन्ने मेरो बुझाइ हो। त्यसका लागि व्यक्ति होइन, पद्धति पालना हुनुपर्छ भनेर मैले उम्मेदवारी दिएकी हुँ।’

चुनावी परिणामबारे अहिले नै कुनै आंकलन नगरेको उनले बताइन्। महानगरका अन्य मेयर पदका उम्मेदवार जस्तो आफूले कुनै अंकगणितीय तथ्याङ गनेर नबसेको उनको भनाइ छ। ‘यति मत आउला भनेर त बस्दिनँ। किनकि, मैले अहिले नम्बर गनेँ र महानगरवासीले त्योभन्दा धेरै मत दिएर जिताइदिनुभयो भने त्यो उहाँहरुलाई अवमूल्यन गरेजस्तो हुन्छ,’ तर जितका लागि विश्वस्त भएको उनको दाबी छ, ‘म केमा विश्वस्त छु भने मैले ल्याउने मतले मलाई लक्ष्य नजिक पुर्‍याउँछ, लक्ष्य हासिल गर्न मद्दत गर्छ। मेरो लक्ष्य भनेको जित हो।’

कांग्रेस र कम्युनिष्ट दुबैले गरेका वाचा र आफूहरुको मतलाई तराजुमा राखेर जोख्न उनले आग्रह गरिन्। ‘अहिलेको प्रश्न भनेको भ्रष्टाचाररहित समाज बनाउने कि नबनाउने भन्ने हो, महिला हिंसाविरुद्धको समाज, महिलाविरुद्ध हुने हिंसाका लागि आवाज उठाउने समाज बनाउने कि नबनाउने भन्ने हो,’ बाँस्कोटा भन्छिन्, ‘त्यसका लागि पनि मतदाताले हामीलाई मतदान गर्नुहुन्छ भन्ने मलाई लाग्छ।’

काठमाडौं स्कुल अफ लबाट कानून विषयमा स्नातक गरेकी उनले अमेरिकाबाट कानूनमा नै मास्टर्स गरेकी छन्। बाँस्कोटा राजनीतिसँगै व्यवसायमा समेत संलग्न छिन्। उनी चियाको बजारीकरणको काम समेत गर्दै आएकी छन्।

के भन्छिन् त उपमेयर?

यसैगरी काठमाडौं महानगरको उपमेयरमा विवेकशील साझाले किर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ। उपमेयरका अधिकारबारे आफू पूर्ण रुपमा जानकार रहेको बताउने तुलाधरले इमान्दारिता, पद्वती, उत्कृष्टता र महिला तथा पुरुषको समावेशीतामा जोड दिने बताइन्।  

‘अनुगमनको काम, सम्पदा जोगाउने काम, न्यायीक काम यी सबै मैले गर्न सक्छु भन्ने कुरामा म ढुक्क छु र गर्छु,’ अगाडि भन्छिन्, ‘काठमाडौंमा समस्या छ र समाधान पनि छ। हामी समाधान पनि दिन्छौं।’  

काठमाडौं महानगर आफ्नो जन्मस्थान समेत रहेका बताउँदै तुलाधर महानगरलाई नजिकबाट बुझेको बताउँछिन्। ‘मैले महानगरलाई धेरै बुझेको छु। यहाँको संस्कृति, भाषाभाषी बुझेको छु। मठ मन्दिर बुझेको छु। यो सम्पदालाई हामीले बचाउँनुपर्छ। यो सम्पदा हामीले विश्वभर चिनाउँनुपर्छ। भन्ने कुरालाई ल्याएर महानगरको उपमेयरमा उम्मेदवारी दिएको हु,’ तुलाधरले भनिन्। किर्ति तुलाधरले नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय जेसिसको उपप्रमुख समेतको जिम्मेवारी सम्हाली सकेकी छिन्।

प्रकाशित: २० वैशाख २०७९ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App