रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार विजय यादव निर्बिजले नगरभित्रका किसानहरुलाई सहुलियत दरमा जग्गा जोत्नका लागि ट्रयाक्टरको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पत्रकार सम्मेलन गर्दै उम्मेदवार यादवले सामाजिक पूर्वाधारतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकुद, आर्थिक पूर्वाधारतर्फ कृषि, उद्योग र व्यापार, पर्यटन तथा संस्कृति, भौतिक पूर्वाधार, सेवा प्रवाह तथा सुशासन, सामाजिक न्याय लगायतका क्षेत्र पहिचान गरी नगरपालिकामा गर्ने कामको ६५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। उम्मेदवार यादवले सबैभन्दा नौलो प्रतिबद्धता किसानको खेत जोत्ने विषयमा गरेका छन्।
ट्रयाक्टरले खेत जोत्दा खेती महँगो भएको तथा साधारण किसानले निकै मूल्य तिर्नुपर्ने हुँदा नगरपालिकाको तर्फबाट ट्रयाक्टर किनेर सस्तोमा खेत जोत्ने गर्ने हो भने किसानलाई धेरै फाइदा हुने तथा कृषि उत्पादनमा पनि सुधार हुने अपेक्षा उम्मेदवार यादवको रहेको छ। पूरै ग्रामीण क्षेत्र रहेको फतुवा विजयपुर नगरपालिका कृषि प्रधान रहेको छ। कृषिलाई बढावा दिन उम्मेदवार यादवले बिउबिजन, मलखाद, किटनाशक औषधि आदिमा पचास प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा पनि गरेका छन्।
नगरस्तरीय घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कान्तिदेवी महतोले नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म एउटा पनि माध्यमिक विद्यालय नरहेको अवस्थामा आगामी पाँच वर्षभित्र हरेक वडामा कम्तीमा एउटा माध्यमिक विद्यालयको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
प्रेस चौतारी नेपालको रौतहट शाखा अध्यक्ष उत्तमकुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा दलित तथा विपन्न घरपरिवारमा छोरीको बिहे हुँदा नगरपालिकाको तर्फबाट थोरै भए पनि आर्थिक सहयोग उपलब्ध गराउने चाहना रहेको उपमेयर महतोको भनाइ छ। हरेक वडामा गएर जनताकाबीचमा छलफल गरी आएका मागलाई सूत्रबद्ध गरेर प्रतिबद्धता पत्र बनाइएकोले सबैले अपनत्म महसुस गरिरहेको मेयर उम्मेदवार यादवको भनाइ छ।
प्रकाशित: २० वैशाख २०७९ १२:०५ मंगलबार