१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

फितलो बन्दै आयोगः अझै सार्वजनिक गर्न सकेन उम्मेदवारको सूची

निर्वाचन आयोगले प्राविधिक बहाना देखाउँदै स्थानीय तहको निर्वाचनका लागि उठेका उम्मेदवारहरूको सूची सोमबारसम्म सार्वजनिक गर्न सकेको छैन।

देशभरबाट इन्टरनेटका माध्यमबाट एकमुष्ठ विवरण संकलन गर्दै आएको दाबी गरेको निर्वाचन आयोगले उम्मेदवारी दिएकाहरूको नामावली अझै सार्वजनिक गर्न नसकेको हो। आयोग आफैले बनाएको कार्यतालिकाअनुसार वैशाख १५ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम थियो। तर आयोगबाट एकमुष्ठ रूपमा विवरण प्रकाशन गर्न समेत सकेको छैन। आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम सूची बुधबार मात्रै सार्वजनिक गर्ने भएको छ।

त्यसैगरी वैशाख १६ मा नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने थियो। शनिबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भए पनि सोमबारसम्म हुन सकेको छैन। वैशाख ११ र १२ मा देशैभरिका पालिकामा निर्वाचनका लागि उम्मेदवार बनेका थिए।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सम्बन्धित सबै निर्वाचन कार्यालयमा सबै काम कानुन सम्वत भैसकेको दाबी गरे। उनले उम्मेदवारहरूको दाबी विरोध, चिह्न वितरणलगायतका काम निर्वाचन कार्यतालिकाअनुसार नै भैसकेको बताए। प्राविधिक कारणले समयमै उम्मेदवारहरूको एकमुष्ठ सूची प्रकाशन गर्न नसकेको उनले स्वीकार गरे। ‘कहीँ विद्युत नभएका कारण, कतै इन्टरनेट नभएर र कतै यस अघि समानुपातिकमा राखिएका उम्मेदवारहरू (बन्द सूची)मा भएकाहरूको निर्णय हुन ढिलाई भएका कारण प्रकाशित नभएको हो। भोलि (मंगलबार)सम्म हामी प्रकाशित गर्छौं’ सहायक प्रवक्ता अर्यालले भने।

निर्वाचन आयोगले चुनावको विवरण देशैभरिबाट एकैसाथ संकलन गर्नका लागि नयाँ सफ्टवेयर प्रयोग गरिरहेको छ। ‘इन्ट्रिगेटेट इलेक्ट्रोरल इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (आइआइएमएस)’ भन्ने सफ्टवेयरमा उम्मेदवारहरूको विवरण राखिएको छ।

निर्वाचन आयोगमा स्थानीय तहको चुनावमा ७९ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन्। शनिबार उम्मेदवारी फिर्ता लिएपछि १ लाख ४४ हजार ८ सय ५० जना उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ। वैशाख ११ र १२ मा दर्ता भएकामध्ये ८ हजार जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। आयोगले शनिबार सार्वजनिक गरेको विवरणअनुसार वैशाख ११ र १२ गते १ लाख ५३ हजार २ सय २० जनाको उम्मेदवारी परेको विवरण बाहिर ल्याएको छ। यसअघि आयोगले विभिन्न पदमा १ लाख ५२ हजार ४ सय ६५ जनाको उम्मेदवारी परेको जनाएको थियो।

देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाको आगामी पाँच वर्षे नेतृत्व लागि स्थानीय तहको चुनाव हुँदै छ। ७५३ वटा स्थानीय तहका लागि ३५ हजार २२१ पदमा नयाँ नेतृत्व चयन हुँदै छन्।

स्वतन्त्र उम्मेदवार थपिँदा समस्या

निर्वाचन आयोगलाई राजनीतिक दल बाहेकका स्वतन्त्र उम्मेदवार थपिँदा दोस्रोपटक मतपत्र छाप्नु परेको छ। आयोगको पूर्व अनुमान विपरीत स्वतन्त्र उम्मेदवारी बढि परेपछि पहिला छापेको मतपत्र रद्द गरेर थप चुनाव चिह्न समावेश गरेर मतपत्र छाप्नुपर्ने अवस्था आएको हो। यसअघि छापिएका मतपत्रमा राखिएका चिह्नभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी भएका कारण ३२ पालिकाहरूमा पुनः मतपत्र छाप्नुपरेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

त्यसका लागि आयोगले सोमबार नयाँ डिजाइनसहित मतपत्र छाप्ने निर्णय गरेको दाबी गरिएको छ।  धनुषालगायत तराईका जिल्लाका ४५/५० पालिकामा फेरि मतपत्र छाप्नुपर्ने अवस्था आएको जानकारी दिँदै आयोगका सहायक प्रवक्ता अर्यालले भने, ‘प्रि एजुम्सन गरेर विगतको ट्रेनको आधारमा जस्तै कतै १० वटा कतै १२/१३ सम्म गरेर मतपत्र छाप्र्यौं। यति बढी स्वतन्त्र उम्मेदवार हुँदा पूर्वानुमानमा फेल खायो।’

९ देखि १० लाख मतपत्र फेरि छाप्नुपर्ने अवस्था आएको भन्दै तत्काल मतपत्र छापेर सम्बन्धित पालिकामा पुर्‍याउने तयारी गरिरहेको आयोगले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७९ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App