स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बाँकेमा उम्मेदवारले प्रचार प्रसारलाई तीव्रता दिएका छन्। जिल्लाका ८ वटै स्थानीय तहका गाउँ गाउँमा उम्मेदवारहरु यतिबेला पुगेका छन्। मतदाता फकाउन उम्मेदवारले अनेक शैली अपनाउने गरेका छन्। उम्मेदवारहरु झुकेरै मतदाताको मन आकर्षित गरिरहेका दृश्य देखिन्छन्।
चर्को गर्मीको कुनै प्रवाह नै नगरेर उम्मेदवारहरु घरदैलोमा पुग्दा मतदाताहरु मख्ख हुन्छन्। बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, नरैनापुर, डुडुवा, जानकी, खजुरा र बैजनाथ गाउँपालिकामा उम्मेदवारहरु चुनावी मैदानमा छन्।
गाउँ–गाउँमा उम्मेदवार पुगेर आफ्ना घोषणा पत्र र प्रतिबद्धता पत्र जनतामाझ प्रस्तुत गरिरहेका छन्। ‘आज भोलि त उम्मेदवारहरु घरमै भेट्न आउँछन्, उनीहरुले आफ्ना कुरा सुनाएर हामीलाई मख्ख पारिरहेका छन्,’ राप्ती सोनारी ४ का स्थानीय तेजनारायण थारुले भने।
आफूलाई भेट्न आउने उम्मेदवारले सुरुमै हात जोडेर नमस्कार गर्ने गरेको उनले सुनाए। ‘चुनावको समय भएको हुँदा उम्मेदवारहरु हामीसँग धेरै नजिक हुनु भएको छ, जितेर कुर्सीमा पुगेपछि चाही उहाँहरुको ब्यवहार कस्तो हुन्छ, त्यो हेर्न बाँकी छ,’ तेजनारायणले थपे। मतदाता माझ अधिकांस उम्मेदवारले सडक, बत्ती, पुल निर्माण लगायत विकासका कुराबारे आश्वासन बाँड्ने गरेका छन्।
कतै गठबन्धन कतै एक्लै भिड्दै
सबैभन्दा बढी चासोका साथ हेरिएको नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्धिन राई प्रतिस्पर्धामा छन्।
यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाल चुनावी मैदानमा छन्। यसैगरी राप्रपाका तर्फबाट प्रमुखमा नन्दलाल बैश्य र उपप्रमुखमा बिन्दु चर्तीमगर प्रतिस्पर्धा गरिरहेकी छन्। बाँकेको खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच प्रमुख र उपप्रमुख पदमा गठबन्धन बनेको छ।
यस्तै कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बनेको छ। यसैगरी जिल्लाको जानकी गाउँपालिकामा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको छ।
जिल्लाको राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपा लगायत दल एक्ला एक्लै लडेका छन्।
प्रकाशित: १९ वैशाख २०७९ १५:०३ सोमबार