१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डासहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।

कोही पछिल्लो निर्वाचनमा पराजित भएका यसपट जित्ने उमिदका साथ पुनः उम्मेदवार बनेका छन्। भने केही नयाँ अनुहार पनि निर्वाचनमा उत्रेका छन्। सबै उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा लागेका छन्। उम्मेदवारहरु आफ्नो पालिकाको वडा वडामा पुगेर मत मागिरहेका छन्।

जनतालाई रिझाउन विभिन्न किसिमका आश्वासन बाँडिरहेका छन्। पुरानो उम्मेदवारले पहिलो कार्यकालमा गर्न नसकेको काम दोस्रो कार्यकालमा गर्ने जनतासँग वाचा गरेर मत माग्दै छन्। नयाँ उम्मेदवारले बितेको ५ वर्षमा पालिकामा विकास भन्दा भ्रष्टाचार मौलाए यस्ता विकृति अन्त्य गर्न आफूलाई मत दिन भनिरहेका छन्।

हँसपुर नगरपालिका–९ का २७ वर्षीय विसुनदेव पासवान भन्छन्, 'अहिले उम्मेदवारहरु दिनहुँ आउने जाने गर्छन्। विभिन किसिमका आश्वासन बाँडछन्। तर यसपालि जनता झुटफुसको अश्वासनमा नपर्ने उनको भनाइ छ। विगतको निर्वाचन बीस वर्षपछि भएको थियो।'

उनले भने ‘विगतको निर्वाचनमा उम्मेदवार निर्वाचित भएपछि के गर्छ कस्तो गर्छ। अधिकार बारे थाहै थिएन। तर अब जनताले सबै बुझिसके जनप्रतिनिधिको काम कारबाही हेरिसके। अब जनता ठगिने छैन्। सबै बुझेर मतदान गर्नेछ। विगतको कार्यकालको लेखाजोखा गरिनेछ। सही गर्नेले मत पाउनेछ गलत गर्नेले मात खानेछ। विगतमा ठगिएका मतदाता यसपट ठगिने छैन उनको विश्वास छ।'

जिल्लाको औरही गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् ब्रह्मदेव यादव। आइतबार उनी औरही –१ पौडेश्वर टोलमा घरदैलो गरिरहेको अवस्थामा भेटाए। बाजागाजासहित साथमा आफ्ना कार्यकर्ता लिएर मतदातासँग हात जोडदै मत मागिरहेका थिए। उनी पछिलो निर्वाचनमा पनि निर्वाचित भएका थिए। पुनः दोहोरिने दाउमा छन्।

‘आज घरदैलोको पहिलो दिन हो। पहिलो दिन वडा नं–१ बाट सुरु गरेका छौं। पछिलो निर्वाचनमा पनि जनताले मत दिएर निर्वाचित गराएका थिए। पाँच वर्षको कार्यकाल भएपनि हामीले साढे चार साल काम गर्न पाइयो। चार सालमा हामीले धेरै काम गरेको छौं।’ उनले भने ‘विगतको चार सालको कामको मूल्यांकन जनताले मेरो पक्षमा मतदान गर्ने विश्वास छ। बीस वर्ष जनप्रतिनिधि विहीन थिए। हामीले निर्वाचित भएको बेला बाटोघाटो त थियो तर कच्ची थियो।'

वर्षायाममा हिलैहिलो हुन्थ्यो एक गाँउबाट अर्को गाँउमा सवारी साधन लिएर जाने अवस्था थिएन। पहिलो कार्यकालमा हामीले कच्ची सडकलाई पक्की सडक बनाइयो। अब बाटो घाटोको ८० प्रतिशत समस्या समाप्त भएको छ। शिक्षा र स्वास्थमा पनि थुप्रै काम गरेका छौं। केही काम अधुरो छ त्यसलाई पूरा गर्न बाँकी छ। जस्तै पालिकाको भवन, पचाँस सैयाको अस्पताल र जलाद नदीमा तटबन्धन निर्माण गर्ने काम बाँकी छ।’

त्यस्तै जिल्लाको हंसपुर नगरपालिकाको नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका प्रदिप यादव वडा नं–४ मधुकरहीमा घरदैलोमा कार्यक्रममा थिए। उनी गत निर्वाचनमा तत्कालीन (राजपा) का उम्मेदवार रामज्ञान मण्डलबाट ९१ मतले पराजित भएका थिए। निवर्तमान मेयर मण्डलको नेतृत्वबाट यो अवधिमा नगरवासील धेरै दुःख पाएको छ। जनता वाक्कदिक्क भएको छ। त्यसैले यसपालि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै मत मागिरहेका थिए।

‘जनताले गलत नेतृत्व छान्दा कस्तो दुःख पाउँछ भने उदाहरण हो हँसपुर नगरपालिका। मेयरले विकास गर्नु भन्दा विवादमै बिताएको हो आफ्नो कार्यकाल कहिले नगरपालिकाको कार्यलय सार्ने विषयमा त कहिले बजेट बाँडफाँडको लागि।’ उनले भने, 'जनताले जुन आशा र भरोशाको साथ मतदान गरेको थियो त्यो कायम राख्न सफल भएन। एकचोटी गलत नेतृत्व छानिसकेको हँसपुरवासीले पुनः त्यस्तो गल्ती गर्दैन। देशभर कही कतै जनप्रतिनिधिबीचको लडाइँमा जनताले ज्यान गुमाउनु परेको छैन। तर हँसपुर नगरपालिकामा मेयर उपमेयरको लडाइमा एक जनाले ज्यान समेत गुमाइसकेको छ। यसपटक त्यस्ता उम्मेदवारलाई जनताले स्विकार गर्ने छैन।’

त्यस्तै जिल्लाको सहिदनगर नगरपालिका–४ महुलिया गाँउमा भेटाए नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार बनेका सुधीर गोइत। उनको पनि घरदैलो कार्यक्रमको पहिलो दिन थियो आइतबार। उनी वडा– ४ बाट घरदैलो कार्यक्रम सुरु गरेको हो। उनी घरघरमा पुगेर मतदातासँग हात जोडेर मत माग्दै थिए। निवर्तमान मेयर जुन अश्वासन बाँडेर जनताको मत लिएका थिए त्यो पूरा गर्न असफल रहेको छ।

सहिदनगरलाई स्मार्ट सिटी बनाउछु भनेर मत लिएका थिए। तर नगरको अवस्था उस्तै छ। निवर्तमान मेयरले विकास भनेको सडक ढलानलाई मात्रै बुझे। शिक्षामा पनि उस्तै वेथिती, स्वास्थमा पनि उस्तै र कृषीमा पनि उस्तै। यहाँ नागरिक कुषि पेशामा अधारित छ। तर  कृषकको लागि मलखाद्यको उपल्बध गराउने सकिएको छैन। आफू निर्वाचित भएपछि यस कामलाई प्राथमिकता राख्ने भन्दै मत मागिरहेका थिए।

प्रकाशित: १९ वैशाख २०७९ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App