२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

मुसहर समुदायमा छैन चुनावी रौनक

सिन्धुलीको दुधौली नगरपालिका ७ को मुसहर समुदायमा रहेको एक घर। तस्बिर: अनिल/सिन्धुली

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ। तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन।  

उम्मेदवारहरु भोट माग्नै नगएका भने होइनन्। भोट माग्ने अस्त्र विभिन्न राख्ने र कुनै बाचा पुरा नगर्दा मुसहर समुदाय उम्मेदवारहरुदेखि रुष्ट बनेका हुन्। भोट सधैँ दिँदै आएको भएपनि आफूहरुको जिवनस्तर कहिल्यै नउक्सिएको सदा परिवार बताउँछन्। यस क्षेत्रका मुसहर समुदायलाई उम्मेदवारले आश्वासन मात्रै दिँदै आएकाले उत्साह नदेखिएको हो। 'हाम्रो समुदायमा अहिले खानेपानीको चरम अभाव छ, तर पानी दिन्छौ मोटर दिन्छौ भनेर धेरै पटक भने तर दिएनन्,' स्थानीय गिता सदाले भनिन्।'दिन्छौ दिन्छौ भनेका छन्, तर दिएका छैनन्। खानेपानीको हाहाकार भएकाले खानेपानी मुसहर समुदायको उम्मेदवारहरुसँग पहिलो माग छ।' उनले थपिन्।

मुसहर समुदायमा भोट माग्न जाने उम्मेदवारलाई उनिहरुले खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन्। उम्मेदवारले आश्वासन मात्रै दिएर हालसम्म खोनपानीको  व्यवस्था नगरिदिएकाले यो चुनावमा पनि पानीनै आफूहरुको माग रहेको मुसहर समुदायको भनाई छ। दुधौली नगरपालिकामा गरिब मुसहर समुदायको बस्ति निकै बाक्लो छ तर गरिबीको चपेटामा परेका मात्रै छैनन्। जनप्रतिनिधिहरुको उपेक्षाले गर्दा पानीको समेत हाहाकार भएको उनीहरुको भनाई छ। 

पानी लिन निक्कै दुरी यात्रा गर्नुपर्ने अवस्था रहेको मुसहर समुदायकी स्थानीय ८० वर्षे बृद्धा गिता सदाले बताइन्। एउटा हात नभएकी बृद्ध सदा उम्मेदवारलाई आफूले सँधै भोट हाल्ने गरेको भएपनि उम्मेदवार जितेपछि फर्केर नआउने गरेकाले पानीको हाहाकार भएको बताउँछिन्। 'भोट पहिला पनि हालेको हो, यस वर्षपनि भोट हाल्नुपर्छ तपाईँहरुको दुखको सारथी हामी हौं, भन्दै आउछन्, तर भोट हालेर हार्ने र जित्ने दुबै हाम्रो अवस्था के छ भनेर बुझ्न आउदैनन्', उनले भनिन्।  मुसहर समुदायको टोलभरकै प्रमुख समस्या खानेपानी रहेको छ। उम्मेदवारले भोट माग्न जाँदा पानीको पाइप तथा इनारबाट घरसम्म पानी तान्नका लागि मोटर दिने आश्वासन दिएर भोट मागिरहेको मुसहर सदा परिवार बताउँछन्।

दुधौली नगरपालिका ७ का रामआशिष सदा इनार खानेपानी नभएकाले खानेपानी व्यवस्था गरिदिनेलाई भोट दिने बताउँछन्। घर नजिकै पहिरो छ, खाने अन्न छैन, घरमा खानेपानीको अभाव छ, उनले भने, 'यो पुरा गरिदिने उम्मेदवारले जिते हाम्रो लागि राम्रो हुन्छ', दुधौली नगरपालिका भित्र मुसहर समुदायको बस्ती बाक्लो छ, यस क्षेत्रका उम्मेदवारलाई जिताउन मुसहर समुदायको महत्वपुर्ण भूमिका हुन्छ, तर जितेपछि जनप्रतिनिधिले बेवास्ता गर्दा आफूहरुको अवस्था सधैँ उस्तै भएको उनिहरुको गुनासो छ। 'व्यवस्था परिवर्तन भएपनि हाम्रो अवस्था परिवर्तन गरिदिने उम्मेदवार आएनन्, दिन्छु दिन्छु भन्छ तर दिदैनन्।' मुसहर समुदायले भने।

मुसहर समुदायको बस्तिमा केहि दलका झन्डा झुन्डिएका छन्, तर ति झन्डा झुन्ड्याउनेले आश्वासन मात्रै झुन्ड्याएर भोट मागेको मुसहर समुदायको गुनासो छ। आउछन्, झन्डा झुन्ड्याउदै गछौ, दिन्छौ भन्छन्, हामी गरिब सधै हेरेको हेरै हो, अर्का एक मुसहर समुदायका रित दमाइले भने। हामीलाई चुनावी चहलपहल लागेको छैन। मुसहर समुदायको युवापुस्तामा वैशाख ३० गते स्थानीय तहको चुनाव भन्ने जानकारी रहेपनि बृद्धबृद्धालाई चुनावी वास्तै छैन, पेट पाल्नकै समस्या रहेको त्यस क्षेत्रका स्थानीय बताउँछन्।

प्रकाशित: १९ वैशाख २०७९ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App