२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

१९ दिनको शिशु बोकेर चुनाव प्रचारमा उपाध्यक्षकी उम्मेदवार

शिशु बोकेर चुनावी प्रचारमा जाँदै उपाध्यक्षकी उम्मेदवार सुमित्रा । तस्बिर/ नागरिक

सिगास गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार सुमित्रा ऐर नवजात शिशु काखमा बोकेर जुटेकी छन्। भौतिक कठिनाइका बाबजुद जनताको सेवा गर्ने उत्कृष्ट अभिलाशाका साथ चुनावी दौडमा लामवद्ध भएकी हुन्।

आसन्न निर्वाचनमा नेपाली कांग्रेसले उपाध्यक्षको उम्मेदवार बनाएपछि उनी १९ दिनको शिशु बोकेर चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्। जिल्लाकै विकट स्थानीय तहको रूपमा रहेको सिगास गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छैनन।

विकट भए पनि गाउँ समाजका समस्या समाधानको लागि नवजात शिशु बोकेर प्रचारमा जुटेको उनले बताइन्। पार्टीले टिकट दिएपछि आफू चुनावी मैदानमा होमिएकी सुमित्राले बताइन्। गत स्थानीय तहको निर्वाचनमा पनि उनी कांग्रेसबाट उपाध्यक्ष पदकी आकांक्षी थिइन्। त्यो बेला उनले टिकट पाइनन्। नवजात शिशु बोकेर प्रचारप्रसारमा गाउँ टोल पुग्दा कठिनाइ भए पनि जनताको सेवा गर्ने चाहनामा कमी नआएको उनी बताउँछिन्।

आसन्न स्थानीय तहको निर्वाचनमा टोलटोलमा मत माग्नका लागि नवजात शिशु सहित प्रचारप्रसारमा जुटेको उनले बताइन। घर परिवारको राम्रो साथ रहेकाले उनी चुलोचौकोमै सीमित नरहेर नेतृत्व तहमा पुग्ने अठोट गरेर राजनीतिमा होमिएको उनले बताइन्। शिक्षा स्वास्थ्य, रोजगारी, विभेद, हिंसा, कृषि पशुपालन, प्राविधिक शिक्षा, पछाडि परेका वर्ग र गरिबको हितमा सधै अग्रसर हुने प्रतिवद्धता उनले गरेकी छन्।

महिलाहरूका मुद्दालाई प्राथमिकतामा राखेर आफूले भोट मागिरहेको ऐरले बताइन्। सिगासमा कांग्रेसले अध्यक्ष पदका लागि भने हरिसिंह धामीलाई दोहर्‍याएको छ। अध्यक्ष पदको उम्मेदवार बनेसँगै उनी पनि चुनावी मैदानमा छन्। गएको स्थानीय तहको निर्वाचनमा सिगास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले जित हासिल गरेको थियो।

गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छ तर वडा तथा गाउँहरू सडक सञ्जालसँग जोडिएको छैन । उपाध्यक्षकी उम्मेदवार ऐर पैदल नै हिँडेर सकेसम्म सबै गाउँ टोलमा पुग्ने लक्ष्यमा छिन् । जनताका समस्या बझेर त्यही अनुसार काम गर्ने उनले बताइन्। आफू निर्वाचित भए मतदाताले दिएको जिम्मेवारीलाई पूर्ण इमान्दारीताका साथ पूरा गर्ने उनी बताउँछिन्।

प्रकाशित: १९ वैशाख २०७९ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App