७ वैशाख २०८१ शुक्रबार
राजनीति

बैतडीमा प्रमुख पदमा महिला उम्मेदवारी शून्य

बैतडीमा प्रमुखका उम्मेदवारमा महिलाको संख्या शून्य रहेको छ। १० वटा स्थानीय तह भएको जिल्लामा कुनै पार्टीले महिला उम्मेदवारलाई टिकट दिएनन्। २०७४ को निर्वाचनमा उपप्रमुखमा जितेका महिलाहरुले यो पटक प्रमुख पदमा दाबी पेश गरे पनि दलहरुले विश्वास गर्न सकेनन्।

झन दलहरुको गठबन्धनले महिलाहरुलाई पाखा लगाएको छ। एउटै दलले स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख दुबै पदमा उम्मेदवारी दिएमा एक पदमा महिला अनिर्वाय गरे पनि गठबन्धन गर्दा त्यस्तो बाध्यताकारी नियम नहुँदा दलहरुले महिलालाई स्थान नदिएका हुन्।

गठबन्धन गरेका स्थानीय तहमा दुबै पदमा पुरुष उम्मेदवार खडा गरेका छन्। यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा गठबन्धन गरेका दलहरुले महिला उम्मेदवारको संख्या न्यून मात्रामा रहेको छ। डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सत्ता साझेदार दलहरुले गठबन्धन गरेका छन्।

गठबन्धन गरिएको डिलासैनीमा अध्यक्ष र उपाध्यक्ष पदमा दुबै पुरुष छन्। माओवादीको भाग परेको अध्यक्ष पदमा लोकेन्द्रबहादुर रानाको उम्मेदवारी परेको छ। उपाध्यक्ष कांग्रेसले पाएको थियो। कांग्रेसले पनि पुरुषलाई नै उपाध्यक्षको उम्मेदवार बनाएको छ। भगीरथ बोहराको उम्मेदवारी गठबन्धनबाट परेको छ।

यस्तै सत्ता साझेदार दलहरुले गठबन्धन गरेको अर्को दोगडाकेदार गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले पाएको थियो। यो पालिकामा कांग्रेसबाट देवराज जोशीले उम्मेदवारी दर्ता गराएका छन्। दोगडाकेदारमा उपाध्यक्ष माओवादीको भागमा परेको थियो। माओवादीले नवराज भट्टलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

पञ्चेश्वर गाउँपालिकामा पनि सत्ता साझेदार दलहरुको गठबन्धन छ। कांग्रेसको भागमा अध्यक्ष परेको यो पालिकामा कांग्रेसले रमेशसिंह भण्डारीलाई उम्मेदवार बनाएको छ। उपाध्यक्ष समाजवादीले पाएको थियो। समाजवादीले पनि पुरुषलाई नै उम्मेदवार बनाएको छ। राजेन्द्र चन्दले पञ्चेश्वर गाउँपालिकामा सत्ता साझेदार दलहरुको तर्फबाट उम्मेदवारी दिएका छन्।

यस्तै जिल्लाको सुर्नया गाउँपालिकामा पनि एकृकीत समाजवादी र माओवादीले चुनावी तालमेल गरेका छन्। अध्यक्ष र उपाध्यक्षका उम्मेदवार दुबै पुरुष छन्। अध्यक्षमा समाजवादीका नरेन्द्रसिंह बिष्ट उम्मेदवार बनेका छन् भने उपाध्यक्षमा माओवादीबाट दिलाराम भट्ट छन्।

दशरथचन्द नगरपालिकामा पनि माओवादी र समाजवादीले चुनावी तालमेल गरेका छन्। यहाँ पनि दुबै जना उम्मेदवार पुरुष छन्। मेयरमा माओवादीका प्रेमसिंह थापाले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा समाजवादीका राजुराम भुलको उम्मेदवारी छ।

पाटन नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन छ। दुबै पार्टीले पुरुषलाई उम्मेदवार बनाएका छन्। कांग्रेसबाट मेयरमा गौरीसिंह रावल र उपमेयरमा माओवादीबाट कमलसिंह बोहराले उम्मेदवारी दिएका छन्।

शिवनाथ गाउँपालिकामा पनि कांग्रेस र माओवादीको गठबन्धन छ। यहाँ कांग्रेसले अध्यक्षमा कर्णसिंह साउदलाई उम्मेदवार पाएको छ। उपाध्यक्ष पाएको माओवादीबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्रसिंह साउद बनेका छन्।

जिल्लाको एक मात्र सुर्नया गाउँपालिकामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ। यहाँ पनि अध्यक्ष/उपाध्यक्ष दुवै जना पुरुष छन्। अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवरको उम्मेदवारी छ भने उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दले उम्मेदवारी दिएका छन्।

गठबन्धन गरेका दलहरुले जित्ने संम्भावना बलियो भएकोले यो पटक जिल्लामा महिला उपप्रमुखको संख्या पनि निकै घट्न सक्ने छन्। पहिलो स्थानीय तहको निर्वाचनबाट जिल्लाका १० वटा पालिकाका उपप्रमुख महिला थिए। यो पटक यो संख्या धेरै घट्ने छ।

यो स्थानीय तहमा जिल्लाका आधा दर्जन बढी उपप्रमुखले प्रमुखमा दावी गरेका थिए। उनीहरुले उपप्रमुखको टिकट समेत पाउन सकेनन्। पहिलो स्थानीय तहको चुनावमा पनि बैतडीमा कुनै पनि पार्टीले प्रमुखमा महिला उम्मेदवारलाई बनाएका थिएनन्।

आसन्न स्थानीय तहको चुनावमा बैतडीमा प्रमुख र उपप्रमुखमा महिलाको उम्मेदवारी हेर्दा राजनीतिक दलले धेरै गलत गरेको महसुस भएको महिला अधिकारकर्मी पार्वती भट्टले बताइन्। नेतृत्व तहमा महिलालाई ५० प्रतिशतमा पुर्‍याउँछौं भनेर भन्ने दलहरुले पनि व्यवहारमा उतार्न नसकेको उनको गुनासो रहेको छ।

प्रकाशित: १८ वैशाख २०७९ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App