७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय चुनाव ‘हेभिवेट’हरू गाउँ–गाउँमा

स्थानीय तहको निर्वाचनमा आफ्नो जनमत बलियो बनाउन हेभिवेट नेताहरू जिल्ला केन्द्रित बनेका छन्। कांग्रेस, माओवादी, एमालेका केन्द्रीय तहका नेताहरू अहिले चुनावी माहोल बनाउन जिल्ला झरिसकेका छन्। उनीहरूले गाउँगाउँमा पुगेर मतदातालाई आफ्नो पक्षमा पार्न कसरत थालिसकेका छन्।

जिल्लामा आफ्नो बिरासत जोगाउन माओवादीका प्रवक्ता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेल चुनावी अभियानमा खटिएका छन्। यी दुवै हेभिवेटको चुनावी जिल्ला दाङ हो। अघिल्लो पटकको प्रदेश तथा प्रतिनिधिसभाबाट तालमेल गरेर प्रतिनिधिसभा र प्रदेश सभामा आफ्नो स्थान सुरक्षित पारेका महरा र पोखरेल अहिले एक अर्काको कट्टर प्रतिस्पर्धीका रूपमा उभिएका छन्।

अघिल्लो पटकको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट महरा प्रतिनिधिसभामा र पोखरेल प्रदेशसभामा पुगेका थिए। अहिले भने एकले अर्काको शक्तिलाई कमजोर पारेर आफ्नो बिरासत जोगाउने चुनौतीमा यी दुई हेभिवेट छन्। यसले स्थानीय तहको निर्वाचनमा आफ्नो जित खोजिरहेका छन्। दाङ क्षेत्र नम्बर २ मा रहेको घोराही उपमहानगरपालिकामा यी दुई नेताको जोडबल बढी छ।

यी दुवै नेताको चुनावी क्षेत्र यही क्षेत्र नम्बर २ नै हो। यस क्षेत्रमा आफ्नो पार्टीलाई जिताउनैपर्ने दबाब उनीहरूमाथि छ। यो उपमहानगरमा गठबन्धनका तर्फबाट माओवादीका हेमराज शर्मा र उपमेयरमा कांग्रेसका तर्फबाट भूपबहादुर डाँगी उम्मेदवार बनेका छन्। मेयरका उम्मेदवार शर्मा उनै महराका अति निकटस्थ नेता हुन्।

यसर्थ पनि महरालाई यो उपमहानगरको जित थप अपरिहार्य बनिदिएको छ। गठबन्धन जिताउनका लागि जिल्ला झरिसकेका महरा अहिले उम्मेदवारसँगै घरदैलामा सक्रिय भइसकेका छन्। तीन दिनअघि जिल्ला झरेका उनी मतदाताको घरदैलोमा पुगेर मतदाता फकाउने कसरत थालेका छन्। ‘उहाँ(महरा) तीन दिनदेखि गठबन्धनका उम्मेदवारसँगै हुनुहुन्छ,’ एक माओवादी नेताले भने, ‘उम्मेदवारसँगै उहाँ मतदाताको घरदैलोमा पुगिरहनुभएको छ।’

आफ्नो चुनावी क्षेत्रमा रहेको घोराही उपमहानगरको नेतृत्व खोजिरहेका महरा आगामी निर्वाचनसम्मै जिल्लामा रहेर चुनावी रणनीति बनाउन लागि पर्ने ती नेताले बताए। महराले शुक्रबार गठबन्धनको साझा चुनावी घोषणापत्र समेत सार्वजनिक गरेका छन्। महरासँगै पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मा पनि अहिले चुनावी अभियानका क्रममा जिल्लामै सक्रिय छिन्।

उता जिल्लाको बहुमत आफ्नो पार्टीलाई दिलाएर पुनः आफ्नो वर्चश्व कायम गर्ने रणनीतिमा रहेका एमाले महासचिव पनि अहिले जिल्लामै सकृय छन्। महरालाई बिस्थापन गर्न सके जिल्लाको एकल हेभिवेट नेता बन्ने सम्भावना देखिरहेका पोख्रेलले यो स्थानीय तहको निर्वाचनलाई त्यसैको अवसरका रूपमा हेरिरहेका छन्। त्यसैले उनले पनि आफ्नो शक्ति अहिले जिल्लामा खर्चिरहेका छन्।

यो उपमहानगरमा एमालेका तर्फबाट नरुलाल चौधरी मेयर र हुमा डिसी उपमेयरको उम्मेदवार बनेका छन्। चौधरी गत स्थानीय तहको निर्वाचनबाट यही उपमहानगरमा निर्वाचित मेयर हुन्। स्थानीय तहको निर्वाचनमा यो उपमहानगरमा पुनः नेतृत्व कायम राख्न सके आफूलाई थप शक्तिशाली नेताका रूपमा उभ्याउन सकिने योजनामा शंकर छन्।

फलतः उनले मतदातालाई रिझाउनका लागि अहिले जिल्लामै मेहनत गरिरहेका छन्। कार्यकर्ता प्रवेश गराउने देखि चुनावी रणनीतिमा सक्रिय पोखरेलको अहिलेको कसरतबारे एमालेका एक नेताले भने, ‘कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनेदेखि मतदाताहरूलाई विश्वस्त पार्नका लागि कसरत गरिरहनुभएको छ।’ पोखरेल घोराही उपमहानगरसहित जिल्लाका १० वटै पालिकामा भएका चुनावी सभामा पुगेका छन्।

यस्तै गत स्थानीय तहको निर्वाचनमा जिल्लाका दुई ठूला स्थानीय तहमा नेतृत्व गुमाएको कांग्रेसका लागि अहिले नेतृत्व प्राप्ति अपरिहार्य देखिएको छ। गठबन्धनका तर्फबाट तुलसीपुर उपमहानगरमा कांग्रेसका गेहेन्द्र गिरी र घोराही उपमहानगरमा कांग्रेसका भूपबहादुर डाँगी उपमेयरमा भिडेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी अहिले स्थानीय तहको निर्वाचनका लागि जिल्ला केन्द्रित भइसकेका छन्। उनलाई आफ्नो चुनावी क्षेत्रमा रहेको तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व पार्टीलाई दिलाउनै पर्ने चुनौती छ। त्यसो त, मेयरमा उम्मेदवार बनेका गेहेन्द्र गिरी हेभिवेट नेता भएका कारण पनि उनलाई जसरी पनि निर्वाचित गराउनै पर्ने दबाबमा दीपक छन्।

मेयरका उम्मेदवार बनेका गेहेन्द्र कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हुन्। यो उपमहानगरसहित कांग्रेस नेता दीपकले जिल्लाका सबै पालिकाहरूमा चुनावी माहोल खडा गर्न कसरत गरेका छन्। यस्तै कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी पनि अहिले जिल्लामा चुनावी माहोल बनाउन काठमाडौंबाट झरिसकेका छन्।

देउखुरीका चार पालिकालाई प्राथमिकतामा राखेर केन्द्रीय सदस्य चौधरीले कांग्रेसको पक्षमा जनमत तयार पार्ने कामलाई तीव्र पारेका छन्। यस्तै केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे तथा कांग्रेसका राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटा पनि अहिले चुनावी घरदैलोमा सक्रिय छन्।

प्रकाशित: १८ वैशाख २०७९ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App