१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसमा किचलोले अध्यक्षहरू नै बागी

नीलकण्ठ नगरपालिका वडा नं. ८ मा कांग्रेसविरुद्ध बागी उठेका वडा अध्यक्षसहित सदस्यहरु आफ्नो समूहले पाएको चुनाव चिन्ह भुइकटहर लिएर प्रचार गर्दै। तस्बिर: नागरिक

नेतृत्वले टिकट वितरणमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेसभित्रको किचलो चुलिएको छ। आफूले दोहोर्‍याएर टिकट नपाएको झोकमा कांग्रेसबाट विजयी वडा अध्यक्षहरु नै बागी बनेका छन्।  

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ र ४ का वडा अध्यक्षहरु नयाँ उम्मेदवारको विरुद्ध बागी बनेका हुन्। राम्रो काम गर्दागर्दै दोहोरिन नदिएको भन्दै उनीहरुले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्।  

२०७४ सालको स्थानीय तह निर्वाचनमा ज्वालामुखी–२ का वडा अध्यक्ष रणबहादुर शाहीले पार्टीका उम्मेदवार राजु लोप्पाको विरुद्धमा उम्मेदवारी दिएका छन् भने ज्वालामुखी–४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ आफ्नै पार्टीका उम्मेदवार कृष्णलाल श्रेष्ठको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पार्टीकै उम्मेदवारविरुद्ध बागी बनेका वडा अध्यक्षद्वयलाई नेपाली कांग्रेस धादिङले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि दुबै जनाले उम्मेदवारी फिर्ता लिएका छैनन्। बागी उम्मेदवार गुरुङले पनि कांग्रेस भित्रकै तानाशाही प्रवृत्ति सहन नसकेर आफुले स्वतन्त्र बनेर उम्मेदवारी कायम गराएको बताएका छन्। उनले भनेका छन्, ‘नेपाली कांग्रेस अब विधि र नीतिमा चल्ने पार्टी रहेन, कांग्रेसभित्रकै तानाशाही व्यवहार र नजिकका व्यक्तिलाई टिकट वितरण गरेको विरुद्धमा मेरो स्वतन्त्र उम्मेदवारी हो।’  

‘मेरो विगतको कामलाई मतदाताले नजिकबाट हेरेका छन् र फेरि पनि आउनुपर्छ भनेका छन्,’ गुरुङले भने। जनभावनाको कदर गर्नकै लागि पनि उम्मेदवारी दिनु परेको उनले बताए। गुरुङको पक्षमा प्रचार गर्न ज्वालामुखी–४ स्थायी घर भई काठमाडौमा विभिन्न पेशामा रहेकाहरुले कांग्रेसबाट सामुहिक राजिनामा दिएर स्वतन्त्रलाई सहयोग गर्ने घोषणा गरेका छन्। गुरुङले खरायो चुनाव चिन्ह पाएका छन्।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा पनि कांग्रेसका उम्मेदवार हराउन कांग्रेसकै कार्यकर्ता मरिमेटेर लागेका छन्। नगर कार्यपालिका सदस्य समेत रहेका प्रकासकुमार श्रेष्ठले कांग्रेसकै उम्मेदवार रमेश कोइरालाविरद्धमा बागी हालेका छन्। यो वडामा त झन् वडा अध्यक्षसहित सदस्यहरुमा समेत बागी परेको छ।  

यसअघि वडा सदस्य भइसकेका कोइरालाको विरुद्ध साविकमा निर्वाचित वडा अध्यक्ष गुणबहादुर थपलियासहितको समूह नै लागेको छ। यस पटक उम्मेदवार नबनेका वडा अध्यक्ष थपलियासँगै अन्य सदस्यहरुले पनि वडाबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार श्रेष्ठको पक्षमा प्रचार थालेका छन्। श्रेष्ठको स्वतन्त्र समूहले भुइकटहर चुनाव चिन्ह पाएका छन्।

टिकट वितरणका समयमा पार्टीले बेवास्ता गरेको र स्थानीय स्तरमा निर्णय नभई सिधै पार्टीको जिल्ला कार्यसमितिले आफू नजिकका व्यक्तिलाई टिकट दिएकोले विद्रोहमा उत्रिन बाध्य भएको शाहीले बताए। ‘व्यक्ति नै फेर्ने भएपनि पहिलो पुस्ताका पार्टीमा योगदान गरेका र भूगोलमै सक्रिय रहेका व्यक्तिलाई दिनुपर्नेमा एकैचोटी नयाँ अनुहारलाई टिकट दिएको विरुद्ध मेरो विद्रोह हो,’ शाहीले भने। आफू वडा अध्यक्ष हुँदा सुरु भएका राम्रा कामको निरन्तरताका लागि पनि एक पटक दोहोर्‍याउन चाहेको उनको भनाई छ। शाहीले पुतली चुनाव चिन्ह पाएका छन्।

यो निर्वाचनमा सत्तारुढ कांग्रेसभित्र सबैभन्दा धेरै किचलो देखिएको छ। पालिका र वडामा बागी पनि कांग्रेसकै धेरै छ। विगतमा कांग्रेसको गाउँ कार्यसमितिको सभापति समेत भइसकेका पुराना नेताहरु पनि बागी बनेका छन्। कांग्रेसले पालिकादेखि वडासम्म बागी उम्मेदवारी हाल्नेलाई पार्टीबाटै निस्काशन गर्नेसम्मको सूचना जारी गरेपनि बागी र उनका समर्थकहरुले टेरेका छैनन्।

प्रकाशित: १७ वैशाख २०७९ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App