उम्मेदवारी फिर्ता प्रकृयाले ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको राजनीतिक समीकरण थप रोचक बनेको छ। त्यहाँ अब काँग्रेससहितको सत्ता गठबन्धन पक्ष र एमाले र माओवादी केन्द्रको बागी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीका अनुसार एमालेबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी टीकामाया लिम्बूले उम्मेदवारी फिर्ता लिएकी छन्। अब एमालेले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका मओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दावाछिरिङ शेर्पा(बिशालु)लाई सघाउने देखिएको छ। यद्यपी एमालेले यसबारेमा आधिकारिक धारणा सार्वजनिजक गरेको छैन। अब त्यहाँ गठबन्धन पक्षबाट अध्यक्षको उम्मेदवार बनेका काँग्रेसका डम्बर हाङ्गाम, एमालेका केदारजंग श्रेङ्चोङवाङ, जनता समाजवादी पार्टीका दावा शेर्पा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आसकुमार लिम्बूबीच प्रतिस्पर्धा हुने देखिएको छ।
उपाध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा एसका दुर्गाहाङ श्रेङचोङ्वाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रुपा चोङ्वाङ र एमालेको समर्थन प्राप्त भएको दावी गरिएका गठबन्धनका बागी केन्द्रका बागी उम्मेदवार शेर्पाबीच उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा माओवादी केन्द्रका शेर्पाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। गठबन्धन गर्दा त्यहाँ उपाध्यक्ष नेकपा एसको भागमा लागेको थियो।
फुङ्लिङमा मेयर र उपमेयरका उम्मेदवारले लिए फिर्ता
फुङलिङ नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दिएका राप्रपाका सुरशे लिम्बू र स्वतन्त्र उम्मेदवार उमादेवी गुरुङले आफ्नो उम्मेदवार फिर्ता लिएका छन्। गुरुङ काँग्रेसकी हुन्। यस्तै वडा नं ५ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दिएका टीकाराम विक र वडा नं ३ मा राप्रपाबाट वडाध्यक्षको उम्मेदवारी दिएका माधवप्रसाद भट्टराईले समेत उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले बताए।
वडा नं ५ को वडाध्यक्ष पदका आकाँक्षी रहेका काँग्रेसका टिकेन्द्र नेपाली र गठबन्धनमार्फत काँग्रेसको भागमा परेको वडा नं ४ मा नेकपा एसबाट उम्मेदवारी दिएकी निताकुमारी सिवाको उम्मेदवारी भने कायम रहेको बुझिएको छ। नेपालीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। यस्तै मिक्वाखोला गाउँपालिकाका स्वतन्त्र रुपमा उम्मेदवारी दिएका टेकबहादुर साँवाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। अध्यक्ष पदमा उम्मेदवारी दिन आकाँक्षी उनी काँग्रेस निकट थिए।
प्रकाशित: १६ वैशाख २०७९ १३:११ शुक्रबार