५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

सभापति देउवाले बिहीबार एक अपिल मार्फत देश, लोकतन्त्र र पार्टीको हित, मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आकलन गरी उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु,’ देउवाले भनेका छन्। ‘तर पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न आग्रह गर्दछु,’ देउवाको विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’

पाँच दलीय सत्ता गठबन्धन संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गर्ने गरी बनेको स्मरण देउवाले गरेका छन्।

‘स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भलाई मजबुत बनाउनु आजको सर्वाधिक आवश्यकता हो,’ उनले भनेका छन्, ‘पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात् गर्दै कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी तालमेलका विषयमा गठबन्धनको पटकपटक बसेका बैठकले गरेका निर्णय कार्यान्वयनका लागि सातवटै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति र सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलगायत पार्टीका सबै तह र निकायलाई आग्रहसहित निर्देश गर्दछु। म पार्टीका सबै सदस्यलाई पनि यही अनुरोध र आग्रह गर्दछु।’

प्रकाशित: १६ वैशाख २०७९ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App