२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागी उम्मेदवारी स्वाभाविक विद्रोह कि पदीय महत्त्वाकांक्षा?

राजनीतिशास्त्री भन्छन्: दलहरुको सैद्धान्तिक विचलनको परिणाम

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। यो पटक जनप्रतिनिधि बन्न चाहनेले राजनीतिक दलबाट टिकट पाउन नसकेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन्। बागलुङमा कुल ४४५ पदका लागि १२१० जनाले उम्मेदवारी  दर्ता गरेका छन्। १० वटा पालिकाको नेतृत्वका लागि ५६ जनाले उम्मेदवारी दता गराउँदा आधाभन्दा बढी स्वतन्त्र र विद्रोही उम्मेदवार छन्। बागलुङमा पाँच दलीय गठबन्धन, नेकपा एमालेले १० वटै पालिकामा उम्मेदवारी दिएका छन्।

राप्रपा, विवेकशील साझा, नेपाल दलित पार्टी, मंगोल नेश्नल अर्गनाईजेसनले केही ठाउँमा पालिका प्रमुखमा उम्मेदवारी दर्ता गरे। नेकपा एमाले, नेपाली काँग्रेस वीपी र नेपाल परिवार दलले बागलुङ नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। धेरै जसो भने पार्टीबाट टिकट नपाएपछि पार्टीसंग विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरे। नेपाली काँग्रेसबाट बागलुङ नगरपालिका-३ को वडाध्यक्ष दाबी गर्दै आएका विद्यार्थी नेता दिनेश पन्तले अन्ततः स्वतन्त्र रुपमा नगर प्रमुखमा उम्मेदवारी दर्ता गरे।  

पार्टीले वडाध्यक्षका लागि उम्मेदवार नबनाएपछि उनले विद्रोह गरेर मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्। सबैभन्दा महत्वका साथ त गलकोट, ताराखोला, जैमिनी र ढोरपाटनमा भएको विद्रोहलाई हेरिएको छ। गलकोट नगरपालिकाको मेयर नेपाली काँग्रेस नेतृ मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन्। नेपाली काँग्रेसबाट मेयरको आकांक्षी रहेका काँग्रेस जिल्ला सदस्य चालिसेले मेयरमा पुनः भरत शर्मा गैरेलाई दोहोर्‍याउने निर्णय गरेपछि विद्रोह गरेकी हुन। लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेकी उनले गत स्थानीय निर्वाचनमै आफूलाई मेयरको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै स्वास्थ्यकर्मीको जागिरबाट राजीनामा दिएकी थिईन्। त्यतिबेला पनि उनले टिकट पाउन सकिनन्।

अहिले पनि टिकट नपाएपछि आफुलाई अन्याय भएको उनको गुनासो छ। उनी भन्छिन्,‘एउटै व्यक्तिलाई पटक पटक दोहोर्‍याउँदा पार्टीमा योगदान पुर्‍याउने अरुलाई अन्याय हुन्छ, गलकोटमा भएको त्यही हो। त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएकी हुँ।’ पार्टीमा रहेर पनि स्वतन्त्र भएर पनि आफुले समाजका लागि काम गर्ने भएकाले त्यसमा फरक नपर्ने उनी बताउँछिन्। ‘मैले पार्टीमा हुँदा पनि स्वतन्त्र भएर पनि पार्टीको काम गर्ने हो,’ उनले भनिन्,‘गठबन्धन भएर जाँदा अबको प्रदेश र संघीय निर्वाचनमा पनि यहाँ माओवादीले पाउने भयो। समानुपातिकमा हामी खस आर्य महिलाको ठाउँ छैन।’

गठबन्धनका नाममा जिल्लाका चार वटै नगरपालिकामा महिला शून्य पारिएपछि आफूले विद्रोह गरेको उनको दाबी छ। जिल्लाको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले माओवादी केन्द्रबाट विद्रोह गरेर दिएको उम्मेदवारी सबैभन्दा धेरै चासोको विषय बनेको छ। अघिल्लो पटक उक्त पार्टीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएर पाँच वर्षे कार्यकाल पूरा गरेका घर्तीले दोस्रो कार्यकालका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्। पार्टीले विधि पद्धतिभन्दा बाहिर गएर उम्मेदवार चयन गरेकाले आफूले विद्रोह गरेको उनको भनाई छ।

‘आफ्नो आकांक्षा राख्ने पाँच जना थियौं र पाँचै जनाको नाम उपल्लो निकायमा पठाईएको थियो,’ उनी भन्छन्,‘माथिल्लो निकायमा पठाउँदा पाँच जनाबीच सहमती भएर एक जना उम्मेदवार तय गरिएको भन्ने झुटो दाबी गरेर माथिबाट उम्मेदवार तोक्ने काम भयो। त्यसको विरुद्धमा मेरो विद्रोह हो।’ आफुले स्वतन्त्र उम्मेदवारी दिएको र फिर्ता नहुने उनी बताउँछन्। ‘गाउँ कमिटिका ८० प्रतिशत साथीहरुको बुझाई अध्यक्षलाई दोहोर्‍याउनुपर्छ भन्ने थियो,’ उनले भने, ‘मैले आफ्नो कार्यकालमा सुरु गरेको धेरै कामहरु पूरा गर्नुपर्ने भएकाले एक पटकका लागि दोहोर्‍याउन चाहे। तर यहाँ त चिटिङ गरेर टिकट दिने काम भयो। मैले माओवादी पार्टी छोडेको छैन, छोड्दिन पनि। कारबाही गरे पनि म यही पार्टीमा रहने हो। जनताको आवश्यकता पूरा गर्नका लागि उम्मेदवारी दिएको हुँ फिर्ता हुन्न।’

जिल्लाको जैमिनी नगरपालिकामा काँग्रेस नेतृ उषा पौडेलले एमालेबाट उपमेयर पदमा उम्मेदवारी दिएकी छिन्। नेपाली काँग्रेसले गठबन्धन गर्दा पाएको उपमेयर पदमा हरिहर शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले एमालेबाट उठ्ने निधो गरेकी हुन्। नेपाल महिला संघ बागलुङ र काँग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी उनले आफु एमाले प्रवेश गरेको नभई गठबन्धन गरेको बताउँछिन्। ‘उपमेयर पदका लागि हामी पाँचजना आकांक्षी थियौं, पार्टीले हामीसंग कुनै कुरा नै नगरी अरुलाई नै मेयरको रुपमा टिकट दियो,’ उनले भनिन्,‘महिलाहरुको सहभागिता शून्य पार्ने काम भएपछि मैले एमालेबाट सूर्य चिन्ह लिएर उम्मेदवार बनेको हुँ। मैले सदस्यता लिएको छैन। एमाले प्रवेश गरेको होईन, मेरो एमालेसंग गठबन्धन हो।’  

महिलालाई कमजोर आँक्ने र काम गर्न र चुनाव जित्न सक्दैनन् भन्ने सोचाईलाई चूनौती दिन आफूले विद्रोह गरेको उनी बताउँछिन्। जिल्लाको ढोरपाटन नगरपालिकामा गठबन्धनबाट टिकट नपाएपछि काँग्रेस महाधिवेसन प्रतिनिधि दिलमाया पौवीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरिन्। सक्षम महिला हुँदाहुँदै गठबन्धन गरेर पुरुष नै पुरुष उम्मेदवार बनाएकोले स्वतन्त्र उम्मेदवारी दिएको उनी बताउँछिन्। बागलुङ नगरपालिका–३ को वडाध्यक्षमा एमाले जिल्ला सचिवालय सदस्य पुनम शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

अघिल्लो दिनसम्म उम्मेदवारीको तयारी गर्न भनेर भोलिपल्ट एकाएक टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। काठेखोला गाउँपालिका ४ मा नेपाली काँग्रेसका गाउँपालिका सभापति यामदत्त कँडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। वडाबाट सर्वसम्मत उम्मेदवार छनोट भए पनि गठबन्धन गर्दा तंग्राम राष्ट्रिय जनमोर्चाको भागमा परेपछि उनलाई काँग्रेसले टिकट दिएन। आफ्नो पार्टीबाट टिकट दाबी गरेर नपाएपछि अर्को पार्टी प्रवेश गरेर उम्मेदवार बन्नेहरु पनि छन्।  

बडिगाड गाउँपालिका—५ मा विष्णु आचार्य र बडिगाड—१० मा पुठासिंह बुढा मगर एमाले प्रवेश गरेकै दिन वडाध्यक्षको उम्मेदवार बनेका छन्। नेकपा एमाले जिल्ला सदस्य खिम थापाले उम्मेदवार छनोटप्रति गुनासो गर्दै एमाले परित्याग गरेको घोषणा गरेका छन्। उम्मेदवार बन्न नपाएको झोकमा पार्टी परित्याग गर्ने र अर्को पार्टीमा जाने, स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेहरुको संख्या निकै बढी देखिएको छ। कतिपय ठाउँमा प्यानल नै स्वतन्त्र उम्मेदवार बनेका छन्। जिल्लाभर कुल २०५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। नेतृत्व नै सिद्धान्तबाट विचलन भएपछि कार्यकर्तामा पनि विचलन देखिनु नौलो नभएको नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ बताउँछन्।

‘नेतृत्व र नै विचार र सिद्धान्तबाट विचलन भएपछि कार्यकर्तामा पनि त्यो विचलन देखियो,’ उनी भन्छन्,‘पार्टी नै छाडेर उम्मेदवार बन्ने कुराले त मौका परस्त र अवसरवादी प्रवृत्ति देखाउँछ।’ एक पार्टीबाट अर्को पार्टीमा गएर उम्मेदवार बन्ने परिपाटीलाई राजनीतिक चरित्र मान्न नसकिने उनी बताउँछन् । ‘पार्टीमा मौकाको खोजीमा गएको र स्वतन्त्र भएर मौका छोप्न सकिन्छ कि भनेर यस्तो परिपाटी मौलाएको छ,’ उनी भन्छन्,‘जनताको पक्षमा काम गर्छन् भन्ने अवस्था देखिएन। आफुले पद पाउनका लागि जे पनि गर्छन् भन्ने देखाउँछ।’

गठबन्धनको नाममा महिला सहभागिता लत्याउनुले विद्रोह जन्माउनु स्वाभाविक हुने महिला अधिकारकर्मी अधिवक्ता लक्ष्मी बास्कोटा बताउँछिन्। ‘राजनीतिमा समान योगदान गरेको महिलाहरु गठबन्धनको नाममा पाखा लगाईनु राम्रो पक्ष होईन,’उनले भनिन्,‘यसले गर्दा पार्टी भित्रै विद्रोहको जरुरी छ भन्ने देखाउँछ। केही साथीहरुले आँट र हिम्मत पनि गर्नुभएको छ। हेरौं त्यसको परिणाम के निस्कन्छ।’ धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा राजनीतिशास्त्र अध्यापन गराउँदै आएका उपप्राध्यापक ईश्वरीप्रसाद कँडेल राजनीतिक दलको सैद्धान्तिक विचल भैसकेको हुँदा यो खालको प्रवृत्ति मौलाउनु स्वभाविक भएको बताउँछन्।

‘राजनीतिक दलहरुको सैद्धान्तिक विचलन भएपछि संस्थागत राजनीति नभईसकेको अवस्थामा संगठनको चरित्रलाई व्यक्तिले मान्दैन,’ उनी भन्छन्,‘व्यक्तिले संगठनको चरित्र नमानेपछि व्यक्तिवाद हाबी हुन्छ। अहिले भएको पनि मुख्य कुरा यही हो।’ स्थानीय तहमा पुग्नु भनेको आर्थिक रुपमा सबल हुनु हो भन्ने खालको धारणाको विकास भएकाले समस्या भएको उनी बताउँछन्। ‘स्थानीय तहमा पुगेपछि जनताको काम गर्ने हो भन्ने धारणा छैन, त्यहाँ पुगेपछि रकम चलाउन पाइन्छ, तलब आउँछ भन्ने धारणा विकास भएको छ,’ उनी भन्छन्। व्यक्तिले आफुलाई केन्द्रमा राख्ने प्रचलनको विकास हुँदा बागी र स्वतन्त्र उम्मेदवारी दिनको संख्या बढेको उनी बताउँछन्।  

प्रकाशित: १५ वैशाख २०७९ ११:२६ बिहीबार

बागलुङ बागी उम्मेदवारी