३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरा महानगरः ठूला दल सधैं हाबी, अरुलाई ठाउँ नै छैन

सरकारले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेलगत्तै पोखरामा एउटा समूह सक्रिय बन्यो, जसको नाम थियो ‘अटेरी’। अटेरी समुहको नेतृत्व गरे साहित्यकार तथा लेखक गनेस पौडेलले। मुलधारका राजनीतिक दलहरुले बारम्बार जनतालाई ढाँटेकोले उनीहरुलाइ अटेर गर्ने भन्नै यो समुह सक्रिय बन्यो। समूह सक्रिय बनेलगत्तै यसका अगुवा पौडेलले पोखरा महानगरको मेयरमा उम्मेदवारी  घोषणा गरे।  

स्वतन्त्रबाट उम्मेदवारी दिएको यो समुहले स्थानीय तहको चुनावलाई दलीय नबनाऔं भन्ने अभियान थालेको छ। अटेरी समुहका निर्वाचन संयोजक हरि कार्कीका अनुसार यो समुहमा आवद्ध भएर पोखरा महानगरको मेयर सहित विभिन्न १० वटा वडामा वडाध्यक्ष र अरु सातजना सदस्यले विभिन्न वडाबाट उम्मेदवारी दिएका छन्। समुहको अभियानमा पोखराको मेयर सहित सबैगरि १८ जना उम्मेद्वार रहेको कार्कीले बताए।  

ठुला र मुलधारका राजनीतिक दलको दवदवा रहिरहेको बेला यो अभियानले पोखरामा भिन्दै चर्चा कमाएको छ। साहित्यकार समेत रहेका पौडेलले उम्मेदवारी घोषणा गर्नासाथ यहाँ चर्चा बढेको थियो। संयोजक कार्की भन्छन, ‘हामीले अटेरी अभियान सुरु गरेका हौ। स्थानीय तहको निर्वाचनलाई दलीय नबनाऔं भन्दै आएका छौ। दलीय चुनाव त प्रदेश र संघमा हुन्छ।’ दलहरुले राम्रो काम नगरेकोले उनीहरुलाई अटेर गर्न भन्दै आफुहरुले यो अभियान थालेको उनले बताए।

मेयरका उम्मेदवार पौडेल गठबन्धनबीचका दलको कारणले मतदातामा चुलिएको असन्तुष्टि, एमालेमा पनि टिकट बाँडफाँडमा भएको बेमेलको फाइदा आफुले लिने बताउँछन। ‘पूर्व र वर्तमान एमालेसँग मेरो प्रतिश्पर्धा हुनेछ,’ उनले भने, ‘सोचेको भन्दा बढी मत ल्याएर देखाउनु पर्नेछ।’ यो समुहले यसअघि घोषणापत्र सार्वजनिक गर्दै स्थानीय तहको निर्वाचनलाई दलीय बनाउन नहुने बताएको थियो। अटेरी समुहले कार्ययोजना पेश गर्दै ‘भाग्य निर्माणमा पर्यटन, अर्जुनदृष्टिमा शिक्षा र स्वास्थ्य, पहिचानमा सुशासन’ राखेको छ।’  

अटेरीको यो अभियान तिब्ररुपमा चलिरहँदा अरु दलहरुलाई निर्वाचन परिणाममा यसको प्रभाव कत्तिको पर्न सक्छ त ? विश्लेषक भन्छन, ‘वर्षाैदेखि मुलधारका दलहरु हावी भएको ठाउँमा नयाँ समुहलाई उत्तिसारो विश्वास गर्दैनन।’ पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहालका बुझाईमा राजनीतिक दल हावी भएको ठाउँमा अटेरी समुहको रुपमा आएकोले उत्तिसारो प्रभाव पर्दैन भन्ने छ। ‘पोखरामा यसको (अटेरी) लामो प्रभाव देखिन्न।’ नीति, कार्ययोजना सहित नआएकोले उम्मेदवारकै कारण चुनावको रिजल्टमा फरक पर्ने सम्भावना कम रहने उनले बताए।  

‘बहुमतीय प्रणालिको निर्वाचनमा एक भोटले पनि परिणाम तलमाथि हुनसक्ने भएकोले नयाँ समुहको असर नै नहुने भन्ने त होईन। तर, पोखराको मेयरको निर्वाचनको मत परिणामको आकार फराकिलो हुने भएकोले उत्तिसारो अप्ठेरो पर्दैन भन्ने हो,’ उनले भने, ‘अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा पनि ठुलो मतान्तरमा हारजित भएको थियो। अहिलेको आकार पनि फराकिलो नै हुनेछ। त्यसैले नयाँ समुहबाट दलहरुलाई उत्तिसारो जोखिम हुँदैन।’

यो समुह निर्वाचनको बेला मात्र चिनिएकोले उत्तिसारो प्रभाव नपार्ने उनले बताए। ‘पोखरामा छनक नै छैन। विभिन्न समुहहरु चुनावका बेला आउँछन र लोकप्रियता कमाउँन खोज्छन। तर ठुला राजनीतिक दल हावी भइरहेकोले उनीहरुको स्थान बलियो हुँदैन,’ दाहालले भने, ‘ठुला राजनीतिक दलहरुले राम्रो गर्न सकेनन भनेर विकल्पमा कुरा निस्किएपनि नयाँ समुह पनि विशेष नीति तथा कार्यक्रम सहित आउन सकेनन। त्यसले गर्दा समुहगत रुपमा आउनेलाई अप्ठेरो भएको हो।’ अटेरीबाहेक अरु व्यक्तिगत रुपमा आएका उम्मेदवारले पाएको भोटले पनि पोखरामा असर नपार्ने उनले सुनाए।  

अर्का राजनीतिक विश्लेषक सुरेन्द्र थापामगर पनि पोखराको हकमा जम्मा मतदाताको १५ देखि २० प्रतिशत मतदाता दायाँबायाँ हुँदा चुनावी परिणाम फरक पर्न सक्ने भएकोले नयाँ समुहलाई सहज नभएको बताउँछन। ‘जुन राजनीतिक दलले १५ देखि २० प्रतिशत भोट चुनावी माहोल अनुसार दायाँबायाँ गर्न सक्छ। जित–हार दायाँबायाँ गर्ने भोटले गर्छ, जुन अस्थिर भोट हो,’ उनले भने, ‘नयाँ समुह त्यसमा कमजोर हुन्छ।’ चुनावको सन्दर्भमा एकखालको माहोल सिर्जना गर्न सक्ने दलले त्यो आकारको मत हात पार्ने उनले बताए। ‘१५ देखि २० प्रतिशत अस्थिर मतदाता छन, उनीहरु जतापनि चल्न सक्छन,’ उनले भने, ‘अवसरमा चल्ने ती मतदाताको भर छैन।’  

अटेरी जस्ता नयाँ समुहले राजनीतिक दलप्रतिको वितृष्णालाई समात्न सक्ने अवस्थामा केही बलिया बन्ने भएपनि पोखराको हकमा अहिले नै त्यो प्रभाव कम पर्ने उनले बताए। ‘यस्ता समुहलाई नपत्याउनुमा राजनीतिक दल हावी भएकोले हो। खासमा स्थानीय तहका सक्षम व्यक्ति हेर्नुपर्ने हो तर, यहाँ दल हेरिएको छ,’ उनले भने, ‘सक्षम व्यक्ति कुनै पनि समुह वा बाहिरबाट पनि आउन सक्थ्यो। तर, यहाँ दलबाहिर जानै सक्दैन।’ दल बाहिरबाट जति नै राम्रो व्यक्ति आएपनि त्यसले स्थान नपाउने उनले बताए। ‘राजनीति यत्तिसम्म हावी भयो की उम्मेदवारको योग्यता क्षमताले फरक पारेन, दल र उसको संलग्नताले मात्र प्रभाव पारेको छ,’ उनले भने।  

प्रकाशित: १४ वैशाख २०७९ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App