२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीयतह निर्वाचनः कतै पावरले, कतै चोरेर टिकट

टिकट चोर उम्मेदवारले दलभित्र खैलाबैला

तस्बिरमा क्रमशः राजन बराइली, रामहरि लम्साल, कृष्ण पन्त र रामकुमार आचार्य।<br>

एउटा पदमा एउटै दलबाट दुई जना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली कांग्रेसलाई तनाव थपिएको छ।

थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ। नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा कांग्रेसका राजन बराइली र रामहरि लम्सालले मनोनयन दर्ता गराएका छन्।

एमालेबाट थाक्रेको अध्यक्षमा मनोनयन दर्ता गराएका पन्त र आचार्य दुबै जनाले पार्टीको आधिकारिक टिकटबाटै मनोनयन दर्ता गराएका हुन्। फरक यत्ति हो, पन्तले जिल्लाको संयन्त्रबाट आधिकारिक टिकट लिए, आचार्यले प्रदेश कमिटीबाट ल्याए।

अझ रोचक त के छ भने, जिल्ला संयन्त्रबाट आधिकारिक टिकट लगेर पन्तले मनोनयन दर्ता गरिसकेको आचार्यले थाहै पाएका रहेनछन्। आफ्नो मनोनयन निर्वाचन आयोगको सफ्टवेयरले नलिएपछि मात्रै थाहा पाएका रहेछन्। एउटै पदमा एउटै दलका दुई जना उम्मेदवारको नाम निर्वाचन आयोगको सफ्टवेयरले सम्मीट गर्दैन। निर्वाचन कार्यालयको सफ्टवेयरमा पहिला मनोनयन दर्ता गराएका पन्तको नाम चढेको छ। आचार्यको नाम रजिस्टरमा मात्रै छ।

अहिले जिल्ला संयन्त्रले पन्त नै एमालेको उम्मेदवार हो भनिरहेका छन् र प्रदेश संयन्त्रले आचार्य आधिकारिक उम्मेदवार भएको दावी गरिरहेका छन्। पन्तका समर्थकहरु पहिला मनोनयन दर्ता भएको पन्तलाई नै पार्टीको आधिकारिकता दिन दवाव दिइरहेका छन्। आचार्यका समर्थकहरुले भने पन्तले टिकट चोरेर सुटुक्क आफ्नो नाम मनोनयन गरेको आरोप लगाएका छन्।

कुनै ठाउँमा निर्णय माइनुट, मुचुल्का नगरी नै चनाचटपटे खाने कागजको रुपमा टिकट बाँडेकोले समस्या उत्पन्न भएको हो।  

एमाले धादिङका उपसचिव राधिका सापकोटाका अनुसार आधिकारिक हस्ताक्षरसहितको खाली टिकट पन्तको जिम्मा लगाएर पठाइयो। सबै उम्मदवारलाई पन्तकै नेतृत्वमा सम्बन्धित व्यक्तिको नाम भरेर मनोनयन दर्ता भयो। थाक्रे गाउँपालिका कमिटीका अध्यक्ष समेत रहेका पन्तले आफूले पनि अध्यक्षमा मनोनयन दर्ता गरे।  सापकोटा भन्छिन्, ‘थाक्रेका उम्मेदवारलाई आवश्यक पर्ने सबै टिकट पन्तकै जिम्मामा पठाइएका हौं, जिल्ला कमिटीले अध्यक्षको उम्मेदवार टुंग्याएको पनि पन्तलाई नै हो। रामकुमार आचार्यले प्रदेश कमिटीबाट सिधै टिकट लिनुभएको रहेछ, हामीले पछि मात्रै थाहा पायौं।’

कांग्रेसमा पनि खैलाबैला

नीलकण्ठ–९ को वडा अध्यक्षका उम्मेदवार बराइलीले भने टिकट चोरेरै मनोनयन दर्ता गरेको आरोप छ। कांग्रेसले लम्सालको नाममा टिकट दिएपनि टिकट चोरेका आरोपी बराइलीले लम्सालले भन्दा पहिला मनोनयन दर्ता गरेपछि कांग्रेसभित्र खैलाबैला नै मच्चिएको छ।

पहिला मनोनयन दर्ता गराएका बराइलीको नाम निर्वाचन आयोगको सफ्टवयरमा इन्ट्रि भइसकेकोले आधिकारिक उम्मेदवार भनिएका लम्सालको नाम रजिस्टरमा मात्र दर्ता छ।

पार्टीको कुनैपनि संयन्त्रबाट बराइलीलाई आधिकारिक टिकट दिएको पत्ता नलागेपछि उनले टिकट चोरी गरेको प्रमाणित हुन्छ। बराइलीले पार्टीको आधिकारीक हस्ताक्षर भएको पत्र कहाँबाट कसरी पाए भन्ने कुरा कांग्रेसले पत्ता लगाउन सकेको छैन। निर्वाचन अधिकृतको कार्यालयसँग बराइलीले बुझाएको पत्र रुजु गरेर आन्तरिक अनुसन्धान गरिरहेको काँंग्रेसले जनाएको छ।  

चोरी आरोप लागेका बराइलीले भने टिकट वितरण गरिरहेकै कोठाबाट अरुले जस्तै गरी टिकट ल्याएर मनोनयन दर्ता गरेको बताएका छन्। उनले टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने भन्दै पार्टीमा घुर्की लगाइरहेका थिए।

कांग्रेसले वडा तहको टिकट बाँड्दा कुनै माइनुट उठाएको पनि छैन, मुचुल्का गरेको पनि छैन। कुनै ठाउँमा निर्णय माइन्यूट, मुचुल्का नगरी नै चनाचटपटे खाने कागजको रुपमा टिकट बाँडेकोले समस्या उत्पन्न भएको नेताहरुले नै प्रतिक्रिया दिएका छन्। टिकट दिने टिमको असावधानीले मनोनयन दर्ता भइसकेपछि समस्या उत्पन्न भएको हो। अहिले कांग्रेस बराइलीलाई फिर्ता गराएर लम्सालको उम्मेदवारी आधिकारिक बनाउन लागिरहेको छ।

प्रकाशित: १३ वैशाख २०७९ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App