९ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

दलको प्राथमिकतामा नयाँ अनुहार

जिल्लाका प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरुले नगरपालिका/गाउँपालिका प्रमुख/उपप्रमुखका रुपमा नयाँ अनुहारलाई प्राथमिकता दिएर चुनावी मैदानमा उतारेका छन्। अधिकांश उम्मेदवार नयाँ अनुहारका छन्।  

अघिल्लो स्थानीय तह चुनावबाट बाह्रविसे नगरपालिका प्रमुख जितेका निमफुञ्जो शेर्पा र उपप्रमुख जितेकी सुशीला पाख्रिन त्यस्ता भाग्यमानी नेता, उनीहरुले दोस्रो पटक दोहोरिने मौका पाए। यो पटक पनि एमालेबाट बाह्रविसेको नगर प्रमुखमा शेर्पा र उपप्रमुखमा पाख्रिन उम्मेदवार बनेका छन्। त्यस्तै भाग्यमानीमा पर्छन्, पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र उपप्रमुख सुनिता अधिकारी। अघिल्लो चुनाव एमालेबाट जितेका उनीहरुले यो पटक पार्टीबाट सोही पदमा दोहोरिने मौका पाए।  

भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेललाई माओवादीले पुनः सोही पदमा दोहोर्‍याएको छ। सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी र हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामा फेरि सोही पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। कांग्रेसका उनीहरुले दोहोर्‍याएपछि त्यहाँ बिबाद छ। पार्टीभित्रैबाट उनीहरुविरुद्ध युवा नेताले बागी हालेका छन्।  

अघिल्लो चुनाव जितेका आठ प्रमुख/अध्यक्षले फेरि दोहोर्‍याउन पाएनन्। उनीहरुको ठाउँमा पार्टीले नयाँ अनुसार अघि सारेका छन्। १० उपप्रमुख/उपाध्यक्षले पनि दोहोर्‍याउने अवसर पाएनन्। बढुवा पाउनुको सट्टा उनीहरु ‘उपमा चुप’लागेर बाहिरिए। बढुवा दाबी गरे पनि उनीहरुलाई पार्टीले पत्याएन। उनीहरुको स्थानमा नयाँलाई नै मौका दिइएको छ।  

अघिल्लो चुनाव हारे पनि केही पार्टीले पुरानै उम्मेदवारलाई सोही पदमा अघि भने सारेका छन्। बाह्रविसे नगरपालिकामा कांग्रेसबाट बालकृष्ण बस्नेत अध्यक्ष र मञ्जु तामाङ उपाध्यक्षको उम्मेदवार बनेका छन्। बस्नेत अघिल्लो चुनावमा सोही पदमा पराजित भएका थिए। तामाङलाई चुनावी प्रतिस्पर्धा नयाँ अनुभव हो। यहाँ माओवादी केन्द्रबाट अध्यक्ष बनेका बुद्धराज बस्नेत अघिल्लो चुनावमा पराजित भएका थिए। उपप्रमुखको उम्मेदवार पातली थामीले पहिलोपटक अवसर पाउँदैछिन्।  

जिल्लाको मुटु सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा कांग्रेसबाट केशवराज गिरी, र तुलसीमाया श्रेष्ठ प्रमुख/उपप्रमुखको चुनावी मैदानमा उत्रिएका छन्। गिरी अघिल्लो चुनावमा कांग्रेसबाट सोही पदमा पराजित भएका थिए। श्रेष्ठले पहिलो पटक असर पाएकी हुन्। यहाँ एमालेबाट इन्द्रबहादुर नेपाल प्रमुख र बालकुमारी सापकोटा उपप्रमुखको उम्मेदवार बनेका छन्। पूर्वगाविस अध्यक्ष नेपाल स्थानीय तहको चुनावमा नयाँ अनुहार हुन् भने सापकोटा जिल्ला समन्वय समिति उपप्रमुखबाट राजीनामा दिएर नगरमा झरेकी हुन्।

चौतारामा माओवादी–समाजवादी गठबन्धनले कृष्णप्रसाद सापकोटालाई प्रमुख र सीता थापालाई उपप्रमुख बनाएको छ। माओवादी केन्द्रीय सदस्य रहेका सापकोटा पहिलो पटक नगर प्रमुख बन्ने दौडमा छन्। तत्कालीन जनमोर्चाबाट गाविस अध्यक्ष जिते पनि भूमिगत भएपछि शासन सञ्चालनको धेरै अनुभव गर्न पाएनन्। थापा अघिल्लो चुनावमा एमालेबाट उपप्रमुख उठेर पराजित भएकी थिइन्। उनी अहिले समाजवादीमा छिन्। यही नगरमा माओवादीबाट बिद्रोह गरेर अमानसिं तामाङ पुनः प्रमुखको उम्मेदवार बनेका छन्। उनी निवर्तमान नगर प्रमुख हुन्।  

 एमालेले १२ मध्ये १० स्थानीय तहको प्रमुख/उपप्रमुखमा नयाँ उम्मेदवारलाई अघि सारेका छ। उनीहरुमध्ये कोही पनि अघिल्लो निर्वाचनमा उम्मेदवारसम्म बनेका थिएनन्। कांग्रेस र माओवादीले पूराना उम्मेदवार र नयाँ मिश्रित अनुहार अघि सारेका छन्। तर निर्वाचन जितेर गाउँ/नगर हाँकेको अनुभव नभएकाले उनीहरु यो चुनावमा निर्वाचित भएमा नयाँ अनुहार नै हुनेछन्।

प्रकाशित: १३ वैशाख २०७९ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App