१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

महानगरमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आउँदो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको अवस्थाले यस्तो देखाएको हो। उम्मेदवारी दर्ताका क्रममा गठबन्धनभन्दा बाहिरबाट पनि कांगे्रस र माओवादी केन्द्रबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएपछि एमालेका लागि अलि सहज हुने अनुमान गरिएको छ। एमालेले गठबन्धनका उम्मेदवार तथा कांग्रेस–माओवादीका छुट्टाछुट्टै उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।  

मुलुकका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन दलमध्येको कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन्। एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनीता डंगोलले उम्मेदवारी दिएका छन्। सिंह र स्थापित दुवै ‘हेभी वेट’ उम्मेदवार हुन्। स्थापित यसअघि काठमाडौं महानगरको मेयर भैसकेका छन् भने सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन्।

विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। विराटनगर नगरपालिकामा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दिएका छन्। कोइराला र थापा दुवै युवा तथा विद्यार्थी राजनीतिबाट उदाएका कारण त्यहाँ पनि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने भएको छ।  

यस्तै वीरगन्ज महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा जसपा नेपालका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन्। वीरगन्ज महानगरमा एमाले र लोसपा नेपालले तालमेल गरेका छन्। जसअनुसार मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपा नेपालका पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन्।  

यस्तै ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दिएका छन्। ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य ‘आस्था’ ले उम्मेदवारी दिएका छन्। व्यञ्जनकार यसअघि चिरिबाबुसँग पराजित भएका थिए।

यसैगरी भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन्। भरतपुरमा एमाले र राप्रपाबीच तालमेल भएको छ। जसअनुसार मेयरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिएका छन्। रेणु माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुनुका साथै बहालवाला मेयर हुन् भने सुवेदी प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको चुनावमा होमिएका छन्। सुवेदी स्थानीयस्तरमा लोकप्रिय नेता भएका कारणले रेणुलाई असहज हुने अवस्था रहेको छ।

पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन्। पोखरामा नेकपा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङले उम्मेदवारी दिएका छन्। थापा प्रदेश सांसदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् भने आचार्य पनि पोखराका लोकप्रिय नेता हुन्। उनीहरू दुवैबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: १३ वैशाख २०७९ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App