४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस र एमालेका उम्मेदवारले गरे मनोनय दर्ता

बैतडीमा नेपाली कांग्रेस  र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलबिच र एमालेले राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेका छन्। बाजागाजा र र्‍यालीका साथ निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवारहरुको मनोनयन दर्ता गरिएका हुन्।

कांग्रेस बैतडीले जिल्लाका १० वटै पालिकामा मनोनयन दर्ता गरेको छ। दशरथचन्द नगरपालिकामा मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकामा मेयरमा गौरीसिंह रावल, पुर्चौडी नगरपालिकामा मेयरमा दिपकबहादुर बम, उपमेयरमा मीना धानुकले मनोनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। 

सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँदले मनोनयन दर्ता गरेको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए। सिगासका धामी र शिवनाथका साउँद यस अघि पनि अध्यक्षमा निर्वाचित भएका थिए।

यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीले मनोनयन दर्ता गराएका छन्। ती दुवै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको कांग्रेस बैतडीले जनाएको छ। डिलासैनी गाउँपालिकामा उपाध्यक्ष पदमा भगीरथ बोहराले मनोनयन दर्ता गरेका छन्।

बैतडीमा सत्ता साझेदारदलहरुले तीन पालिकामा चुनावी  गठबन्धन गरेका छन्। डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर  गाउँपालिकामा  चुनावी  तालमेल गरेका हुन्।

जिल्लाका १० वटै स्थानीय तहमा नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गराएको छ। पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो।

दशरथचन्द नगरपालिकाको मेयरमा पुस्करराज जोशी (लख्खाभाइं) र उपमेयर सरस्वती नेपालीको उम्मेदवारी दर्ता गरेका छन्। डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी आइतबार नै दर्ता भएको छ।

पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उपमेयरमा हरु भट्टको उम्मेदवारी दर्ता भएको छ। मेलौली नगरपालिकाको मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छ। यस्तै पुरचौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुवँर र उपमेयरमा जानकी साउँदले मनोनयन दर्ता गराएका छन्।

सिगास गाउपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन्। शिवनाथ गाउपालिकाको अध्यक्षमा हजारी साउँद र उपाध्यक्षमा शकुन्तला साउँदले एमालेबाट उम्मेदवारी दर्ता गराएका एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए।

सुर्नया गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि अम्मरबहादुर कुवँरले उम्मेदवारी दर्ता गराएका छन्। सुर्नयामा एमालेले राप्रपासँग तालमेल गरेको छ। उसलाई उपाध्यक्ष पद दिइएको छ।

दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदमा चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। दुवै जना अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए। पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द र बीना भट्टले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुले पनि गएको स्थानीय तहको चुनावमा जित हासिल गरेका थिए।

प्रकाशित: १२ वैशाख २०७९ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App